दाङमा टिप्परमा आगजनी, रुपन्देहीमा बन्दको सामान्य प्रभाव

मेचीकाली संवाददाता

७ भाद्र २०७९, मंगलवार
296 shares

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा दाङमा एउटा टिप्परमा आगजनी भएको छ । जिल्लाको घोराही–लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आज बिहानै आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहान साढे ४ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको उक्त टिप्परमा आगजनी भएको हो । टिप्पर चालक र सहचालकले प्रहरीलाई दिएको जानकारी अनुसार ५–६ जनाको समूहमा आएका व्यक्तीहरुले टिप्परमा आगो लगाएर भागेका थिए ।

आगजनीबाट टिप्परको अगाडिको भाग जलेर क्षती भएको छ । आगजनी भएको खबर पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्लाको तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी चलेका छैनन् ।

रुपन्देहीमा बन्दको सामान्य प्रभाव
रुपन्देहीमा नेपाल बन्दको सामान्य प्रभाव परेको छ । बुटवलको नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी चलेका छैनन् । तर, निजी सवारी साधन र मालवाहक सवारी भने आशिंक रुपमा चलेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिलेसम्म जिल्लामा त्यस्तो कुनै अप्रिय घटना भएका छैनन् । जिल्लाको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, लुम्बिनी, देवदह लगायतका क्षेत्रका सडकमा सार्वजनिक सवारीसाधन नचले पनि बिस्तारै निजी सवारीको चाप बढ्दै गइरहेको छ । पसलहरू भने खुलेका छैनन् । चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । बन्दकर्ताहरू भने सडकमा देखिएका छैनन् ।

नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा चार पार्टीले आज नेपाल बन्दको घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशका अरु जिल्लामा पनि बन्दको सामान्य प्रभाव परेको छ ।