बुटवलमा २७ सय क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार

मेचीकाली संवाददाता

११ भाद्र २०७९, शनिबार
584 shares

बुटवल । बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । यस क्षेत्रको ‘ड्रिम प्रोजेन्ट’ २ हजार ७०० क्षमताको मोफसलकै ठूलो र सुविधा सम्पन्न सभा हल ८ वर्षमा तयार भएको हो । सम्मेलन केन्द्र आकाशबाट हेर्दा चन्द्रसूर्य अंकित नेपालको झण्डा आकारको देखिन्छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख धमेन्द्र पन्थीले जानकारी दिए । साढे ९ बिगाहा क्षेत्रफलमा ११ हजार क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल सम्मेलन केन्द्रमा छन् ।
‘एउटा ठूलो हल १ हजार १०० क्षमताको छ,’ पन्थीले भने, ‘अन्य ५० देखि ५५० सिट क्षमताका १२ वटा साना÷ठूला हलहरू छन् । सबै गरेर सम्मेलन केन्द्रको ‘क्यापासिटी’ २ हजार ७०० क्षमताको हो ।’ सबै हल वातावरणकूलित हुन् । ठूलो हलको मात्र इन्टेरियर गरिएको छ ।
संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोड रूपैयाँको लागतमा बनेको हो । विक्रम् संवत् २०७१ साल माघ १५ गते सम्झौता भएको निर्माण सुरू भएको सम्मेलन केन्द्रले महाभूकम्प र नाकाबन्दीसँगै नदीजन्य पद्धार्थको अभाव खेप्नुप¥यो । दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयअवधि तोकेर काम भएको हो । तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै निर्माण सम्पन्न गरिएको पन्थीले बताए ।

सभाहलको योजनाकार यस क्षेत्रका सांसद एमाले उपाध्यक्ष विष्णु पौडेल हुन् । पौडेलले पार्टीको आठौं महाधिवेशनका बेला बुटवलमा स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि यसको परिकल्पना गरेर योजना अघि बढाएको बताए । ‘सम्मेलन केन्द्रले अब बाहिर कार्यक्रम गर्ने झन्झटबाट मुक्त बनाएको छ’ उपाध्यक्ष पौडेलले भने, ‘यसले बुटवल अब जस्तोसुकै अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न तयार भएको सन्देश दिएको छ ।’
भौतिक रुपमा सम्मेलन केन्द्र तयार भए पनि सञ्चालनको मोडालिटीबारे अझै टुंगो लागिसकेको छैन । सञ्चालन कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएर आउनुपर्ने आयोजना प्रमुख पन्थीले बताए ।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भइरहेको छ । बुटवल उपमहानगरले आफैँ सञ्चालन गर्ने गरी यसअघि नै सहमति भए पनि यसको सञ्चालन खर्च ठूलो हुने भएकाले जोखिम रहेको सरकारकै अधिकारीहरुको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बुटवलमा बढ्दो सहरीकरणका कारण सम्मेलन केन्द्र सञ्चालन गर्न सकिने जनप्रतिनिधिहरुको भनाइ छ ।
आयोजनाका अनुसार सम्मेलन केन्द्रको वार्षिक ३ करोड रुपैयाँ आउने पन्थीको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्ने मोडालिटीबारे तीन तहकै सरकारबीच गहन छलफल गरी स्पष्ट योजना बनाउन आवश्यक पन्थीले बताए ।
सम्मेलन केन्द्र र सभाहलको पश्चिमपट्टी ६.५ विगाहमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणधीन छ । सम्मेलन केन्द्र तयार भए पनि अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम भने सुस्त भएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको भवन करिब तयार हुने चरणमा छ । ६१ प्रतिशत भौतिक प्रगति भएको बताए । उनका अनुसार ट्रष्टको काम भए पनि केही सामानहरु बाहिरबाट ल्याउनुपरेकाले ढिलाई भइरहेको छ ।

बुटवल मण्डपमा रुपन्देहीका संघसंस्थाहरुले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै आएका थिए । तर, यो प्रदर्शनी केन्द्र निर्माण सम्पन्न हुँदा यहाँका उद्योगी व्यवसायीले जाडो, गर्मी, हिउँद, वर्षा जुनसुकै बेलामा मेला महोत्सव गर्न सक्नेछन् । प्रर्दशनी केन्द्र एक अर्ब २ करोड लागतमा निर्माण भइरहेको छ । म्याद सकिएकाले आयोजनाले पुनः म्याद थप्ने तयारी गरेको छ ।
निर्माण र परीक्षणसमेत भइसकेको सम्मेलन केन्द्र छिटो सञ्चालनमा ल्याउन निजी क्षेत्रले माग गर्दै आएका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले सम्मेलन केन्द्र बुटवलका लागि अति आवश्यक भएको बताए ।