आज तीज पर्व मनाइँदै

मेचीकाली संवाददाता

१४ भाद्र २०७९, मंगलवार
63 shares

रमेश पराजुली

बुटवल। हिन्दू नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज मनाइँदै छ । भाद्र शुल्क तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । विगतका दुई वर्ष कोरोना भाइरसको महामारीका कारण महिलाहरु घरमै बसेर तीज पर्व मनाउन बाध्य भएका थिए । अहिले कोरोना संक्रमणको जोखिम कम भएकाले तीजको रमझम बढेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यताअनुसार तीज पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहेपनि पछिल्ला वर्षमा फरक शैलीमा तीज मनाउने क्रम बढ्दै गएको छ । धार्मिक मान्यताअनुसार भगवान शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाऊँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजाआराधना गर्ने प्रचलन रहेको छ ।

तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । भाद्र शुक्ल द्वितीयाको दिन दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ । चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार गरेर पनि तीजको व्रत बस्छन् । तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने होइन ।
महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । विगतमा कोरोना महामारी र निशेधाज्ञाले सहज रुपमा सवारीसाधन चल्न नसक्दा माइत जान नपाएका धेरै छोरी चेलीहरु यसवर्ष भने माइती घर पुगेका छन् । गाउँशहरमा तीज बिशेष मेला, उत्सव चलेका छन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृतिअनुसार मनाइने तीज पर्व पछिल्ला केही वर्षयता पर्व मनाउने नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । तीजको एक महिना अघिदेखि नै भड्किलोरूपमा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, कपडा तथा गहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको देखिन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन् ।

समय परिवर्तन भएको छ । मानिसका सोचाइ पनि फेरिएका छन् । समयअनुकूल परिवर्तन जरुरी पनि छ । समयअनुसार बदलिनुपर्छ तर बदलिनु छ भन्दैमा आफ्नो संस्कृति नै जोगाउन नखोज्नु हाम्रो लागि अत्यन्तै घातक हुन सक्छ । नेपाली पहिचान, रीतिरिवाज अर्थात् चालचलन र संस्कृति मात्र होइन, सम्पदा बनेको पर्व जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । तीज पर्व हुने खानेको मात्र नहोस् । तीज पर्वलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै जुट्नुपर्छ । अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई सधैँका लागि निरुत्साहित गर्न सकिएमा तीज पर्वको महत्व झन् बढ्दै जानेछ ।