बुटवलमा एमालेको बृहत् जनप्रदर्शन (फोटो फिचर)

मेचीकाली संवाददाता

३० कार्तिक २०८२, शनिबार
31 shares

बुटवल, कार्तिक २९ । देशभरका जिल्लामा जस्तै नेकपा एमाले रूपन्देहीले पनि शनिबार बुटवलमा बृहत् जनप्रदर्शन सहित जनसभा गरेको छ । लोकतन्त्र र संविधानको रक्षा, संसद पुनस्र्थापना, सर्वपक्षीय सरकार गठन तथा जेन जी पुस्ताको माग सम्बोधनका एजेन्डा राखेर शनिबार बुटवलमा एमालेले प्रदर्शन सहित जनसभा गरेको हो ।

बुटवल राजमार्ग चौराहाबाट सुरू गरिएको प्रदर्शन ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । जनसभामा बोल्ने एमालेका नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको भन्दै एमालेले त्यसलाई स्वीकार गर्न नसक्ने बताए । कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले नेकपा एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको बताए । उनले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अवहेलनासहित शासन गरिरहेको आरोप लगाए । उनले भने, “आजको सरकार संविधानको अक्षर र भावना दुवै विपरीत चलेको छ । यस्तो असंवैधानिक सरकारको अन्त्य एमालेले नै गर्छ ।”

एमाले पोलिटब्युरो सदस्य लिला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए । उनले प्रतिनिधिसभा पुनस्र्थापनाको माग समयको आवश्यकता भएको उल्लेख गर्दै स्थिरता र सुशासनका लागि एमालेकै नेतृत्व अपरिहार्य भएको धारणा व्यक्त गरे । उनका अनुसार, जारी राजनीतिक अस्थिरता लगायतका समस्या समाधान गर्न सक्षम नेतृत्व एमालेसँग मात्रै छ ।

युवा संघका पूर्व उपाध्यक्ष राजु गुरुङले जेन जी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्ति लगायतमा छानी छानी आगजनी र तोडफोड गरिएको भन्दै अबका दिनमा एमाले र एमालेका नेता कार्यकर्तामाथि कसैले गिद्धे दृष्टि लगाएमा आफूहरू चुप लागेर नबस्ने र प्रतिकारमा उत्रिने चेतावनी दिए ।

युवा संघका निवर्तमान महासचिव सुमन पुरीले एमालेले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताए । एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेले युवाहरूका रोजगार, अवसर र क्षमता विकासका मागबारे जोड दिँदै जेनजी पुस्ताले अपेक्षा गरेको परिवर्तन एमालेले मात्र पूरा गर्न सक्ने दाबी गरे । उपाध्यक्ष हितराज पन्थी लगायतले बोल्दै भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे । ¥याली र सभामा केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा रुपन्देहीका १६ वटै पालिकाबाट उल्लेख्य संख्यामा कार्यकर्ता, समर्थक र युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

फोटो फिचर