कृषि क्षेत्रको आधुनिकीकरणका लागि विविध कार्यक्रम सञ्चालन

मेचीकाली संवाददाता

१५ भाद्र २०७९, बुधबार
460 shares

पार्वती अचार्य
कपिलवस्तु । कृषि यान्त्रिकीकरण परियोजनाले कृषि क्षेत्रमा यान्त्रिकीकरण, आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा कार्यहरु गर्दै आइरहेको छ । परियोजनाले आर्थिक वर्ष ०७८/०७९ मा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमबाट कार्यक्षेत्रभित्रका ९४ जना समूह, सहकारी, फर्म, कम्पनीहरु लाभान्वित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कपिलवस्तुले जानकारी दिएको छ ।

धानजोन कपिलवस्तुले विगत ०७३/०७४ सालदेखि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको सम्पूर्ण वडाहरु, बुद्धभूमि नगरपालिकाको वडा नं. १, २, ३ र ४, कपिलवस्तु नगरपालिकामा वडा नं. ७ देखि वडा नं. १२ सम्म, मायादेवी गाउँपालिकाको १ देखि ८ वडासम्म र शुद्धोधन गाउँपालिकामा १ देखि ६ नम्बर वडामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

धानजोनको ०७५/०७६ मा स्तरउन्नति भई धान सुपरजोन हुन गएको हो । यस आर्थिक वर्षमा कपिलवस्तु जिल्लामा २ वटा जोन थप भएका हुन्, जसमा माछाजोन र तरकारी जोन सञ्चालन भएको थियो भने हाल आएर धान सुपरजोन, तरकारीजोन र माछाजोन एकै कार्यालयदेखि सञ्चालन भैरहेको छ । अहिले यसको नाम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कपिलवस्तु हुन गएको हो ।

यसैगरी आर्थिक वर्ष ०७८/०७९ मा सिंचाइ पूर्वाधार तथा मर्मतसम्भार कार्यक्रमबाट कार्यक्षेत्र भित्रका ४२ जना समूह, सहकारी, फर्म, कम्पनीहरु लाभान्वीत भई थप ८० हेक्टरमा सिंचाइ पुग्ने अनुमान गरिएको छ । यस्तै धान सुपरजोन कार्यक्षेत्रभित्र पर्ने मायादेवी गाउँपालिका–६ मा आधुनिक कृषि यन्त्रउपकरणसहितको एउटा कष्टम हायरिङ सेन्टर स्थापना गरी सञ्चालनमा रहेको परियोजना प्रमुख सहसराम चौधरी (कुर्मी) ले बताए ।
यस्तै यसै आर्थिक बर्षमा तरकारीको कार्यक्षेत्र पर्ने कपिलवस्तु नगरपालिका–६ मा तरकारी खेतीलाई आवश्यकपर्ने आधुनिक कृषियन्त्र उपकरणसहितको कष्टम हायरिङ सेन्टर स्थापना गरि सञ्चालनमा ल्याइएको छ भने यस जिल्लामा धानको बिउमा आत्मनिर्भर बनाउनका लागि मायादेवी गाउँपालिका १ मा भण्डारण , प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना कार्यक्रमअन्तर्गत १०० मेट्रिक टन क्षमता भएको भण्डार गृह सञ्चालन गरिएको छ ।

परियोजनाले तरकारी जोनको कार्यक्षेत्रमा ४७.५ हेक्टर जग्गामा थप तरकारी खेतीको क्षेत्रफल बिस्तार गरेको छ भने माछा जोन कार्यक्षत्रको विभिन्न ठाउँमा १० हेक्टर जलाशय हुनेगरी नयाँ मतस्य पोखरी निर्माण गराइएको परियोजनाले जानकारी दिएको छ । यस परियोजनाले आ.व. ०७८/०७९ मा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दा परियोजना क्षेत्रभित्रका करिब ३ हजार ६ सय ९० जना कृषकहरु लाभान्वित भएका छन् ।
यस आ.व.०७९/०८० मा परियोजनाअन्तर्गत सञ्चालन गर्ने विभिन्न कार्यक्रमका लागि यही ०७९ भदौ ५ गते प्रस्ताव आह्वानसम्बन्धीको सूचना प्रकाशन गरिएको परियोजना प्रमुख चौधरी कुर्मीले जानकारी दिए । यस्तै परियोजनाले कृषकहरुकोलागि क्षमता अभिबवद्धि तालिम, आकस्मिक बालिसंरक्षण सेवा, प्राविधिक सेवा प्रदर्शनका कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ ।