स्वस्थ जीवनकालागि आयुर्वेद जीवनशैलीको बढदो महत्व

मेचीकाली संवाददाता

१६ भाद्र २०७९, बिहीबार
56 shares

  

आयुर्वेद ४ वेदमध्येको अथर्ववेदको उपवेदको रुपमा रहेको नेपालको मौलिक र विश्वकै प्राचीनतम चिकित्सा पद्धति हो । हाम्रा पुर्वजहरुले यसैमा आधारित स्थानीय जडिबुटीको प्रयोग गरि स्वास्थ्य लाभ लिएको तथ्यलाई गाउँको जीवनमा हुर्कन पाएको पुस्ता सबैले बुझ्यौं तथापि केहि महामारीजन्य र आकस्मिक उपचार बाहेक अरु सबै उपचार आयुर्वेद चिकित्सा विधीबाट सम्भव भएकै थियो । अहिले पनि दुर दराजमा हाम्रा अग्रजहरुले पुर्वजबाट हस्तानतरीत ज्ञानको आधारमा बिभिन्न रोगमा आयुर्वेद उपचार पद्धति अपनाउदै आएका छन ।
आयुर्वैदले मानिसको आयु अर्थात जीवनलाई स्वस्थ बनाउन तथा रोग लागिहालेमा उपचार गर्न सिकाउने विज्ञान भएकोले यसले स्वभाविक रुपमा जीवनलाई दीर्घायु बनाउनको लागि अबलम्बन गर्नुपर्ने विधी र तरिकाहरु उल्लेख गरेको छ । तसर्थ आयुर्वेदले रोगको उपचारलाई भन्दा बढि स्वास्थ्य पर्वधनलाई दिदै आएको हुँदा यसलाई जीवन जीउने कला सिकाउने विज्ञान पनि भन्न सकिन्छ । आयुर्वेद चिकित्सा विज्ञानका अनुसार रोगको मूल कारणनै अप्राकृतिक खानपानशैली, अस्तव्यस्त दिनचर्या/ दैनिकि, न्युन वा बढि शारिरीक क्रियाकलाप जस्ता कुराहरु हुन । आयुर्वेदका प्राचीनतम ऋषीमुनीहरुको शुक्ष्म द्रष्टाको प्रयोगबाट प्राप्तज्ञानलाई उतिबेलै ग्रन्थ/ संहिताको उल्लेख गरिएको थियो ति अहिलेको सन्दर्भमा आधुनिक चिकित्सा विज्ञानले समेत पुष्टि गरेकोले पनि महत्व बढदै गएको छ । आजकल विज्ञान र प्रविधीमा भएको तिब्र विकासले गर्दा मानिसले शारिरीक सुख त प्राप्त गरे तर निरोगी बन्न सकेनन । हरेक मानिस कुनै न कुनै रोगबाट पीडित बन्ने अवस्था सृजना भयो त्यो पनि आन्तरीक नसर्ने रोगले । यसको कारण खोज्दै जाने हो भने पहिचान गर्न गार्हो छैन, त्यो हो अस्वस्थकर जीवनशैली । बिभिन्न सर्भेषणको रिपोटले देखाएअनुसार ६६ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । तसर्थ यस लेखमा नागरीक आरोग्यताका लागि आयुर्वेदले निर्देशित गरेका जीवनशैलीका केहि महत्वपूर्ण बिषयलाई उठान गरिदै छ जसले निरोगी र तनावरहित जीवन जीउन महत्वपूर्ण हुनेछ ।
बिहानी जागरण र कर्म/ काम
हरेक दिन बिहान ब्रर्हमुर्तमा (सुर्योदय भन्दा ४ घडी अर्थात १ घण्टा ३६ मिनेट पहिले) उठने। यो समयलाई अमृतबेला भनिएको छ किनकि यो समय ज्ञान एवं तप र योगसाधनाका लागि सर्वोत्तम मानिएको छ । आधुनिक वैज्ञानिकहरुले पनि मष्तिष्कको कार्यक्षमताका लागि उत्तमसमय भनि पुष्टि गरेका छन । हरेक दिन साँझ छिटो सुत्ने र बिहान ब्रम्हमुर्तमा उठनु हरेक उमेर समुहका लागि आवश्यक छ । बिहानी जागरणपश्चात केहिबेरको अन्तर्मनको शुद्धिकरणका लागि मन्त्रोचार पश्चात उषापान गर्ने । त्यसपछि शौचादि कर्मगरि प्राणायाम सहित कम्तिमा ३० मिनेट योगासनहरुको अभ्यास गर्न अति उत्तम हुन्छ। आजकल केहि मानिसहरु बिहान सबेरै मर्निङ् वाक जाने गर्दछन,तर यस्तो हिडाई सामान्यभन्दा ३०% बढि र कम्तिमा ३० मिनेट हुनु राम्रो हुन्छ । त्यसपछि क्रमश दन्तधावन, मुखकुल्ला, नेत्रप्रक्षालन गर्दै पसिना सुकिसकेपछि स्नान गर्नु पर्छ ।
खाना खाएपछिको स्नान अप्राकृतिक मानिएको छ । स्नान पछिको शीर र पाउमा हल्का तेललगाउनु स्वस्थवर्धक हुन्छ यसका साथै हप्तामा १ पटक पुरै शरीरमा स्नानपछि अभ्यङ् अर्थात तेल मालिसले अनिद्रा, चाउरीपन,वातरोगमा बिशेष लाभकारी हुन्छ ।
आहार/भोजन सेवन गर्ने क्रममा अपनाउनु केही महत्वपुर्ण तरीकाहरु
हामी नेपालीहरुले परम्परागत रुपमा मुख्य भोजन बिहान र सांझ गरि २ पटक गर्दै आएका छौं ।आयुर्वेदले दिन र रात ४/४ प्रहर गरि ८ प्रहरको १ दिन मानेको छ।यसरी ३ घण्टाको १ प्रहर हुन्छ।बिहानको खाना दिनको पहिलो प्रहर बितेपछि दोश्रो प्रहरको शुरुमा खानु उचित हुन्छ तर पहिला खाएको खाना पचेको र भोक लागेको हुनुपर्दछ ।सांझको खाना रातको प्रथम प्रहरभित्रै खानु उचित हुन्छ।खाना खाएको पच्न राम्रो पाचन हुने मानिसलाई कम्तीमा ३ घण्टा लाग्नेहुदा एक पटक खाएको ३ घण्टा नभई खाजा खानु हुदैन । खाएको १ घण्टा पछिमात्र पानी पिउन सकिन्छ । खाना खादा धेरै पानी पिउनु पनि राम्रो मानिदैन । आधुनिक चिकित्सा विज्ञानले पनि दिनमा ८ घण्टाको समयावधीमा खाने बाकि १६ घण्टा ठोस खानेकुरा नखाने बिधी Intermittent Fasting को अवधारणा ल्याएको पाईन्छ यसबाट मुटुरोग र मोटोपनबाट बच्न सकिन्छ ।
आहारको शुद्धिले चित्त शुद्ध र चित्तको शुद्धिले बुद्धि निर्मल र निर्मल र नित्श्चयी हुन्छ सामान्यतया पेटको २ भाग अन्नले,१ भाग पानी र तरल आहारले तथा बाकी १ भाग वायुको संचालनको लागि खाली छोडनु पर्दछ । खानाको मात्रा व्यक्तिको खाना पचाउनसक्ने क्षमता र आवश्यकतामा भर पर्दछ ।
खाना खानु अघि सिधेनुनमा चोपेर अदुवा खानु पथ्यकर मानिन्छ ।
खाना खादा सबभन्दा पहिला गुलिया खानेकुरा, बीचमा नुनिला र अमिला खानेकुरा, र अन्त्यमा पिरा, तिता र टर्रा खानेकुरा खानुपर्दछ ।
अनार खाना अगाडि, केरा तथा काक्रो खानापछि खानुपर्दछ ।
खाना खाईसकेपछि लड्डु, पुरी कचौडी जस्ता पिठोले बनाईएका भारी परीकारहरु खानुहुदैन ।कहिले धेरै, कहिले थोरै तथा असमयमा खानु वीषसमान हुन्छ ।प्यास लागेको अवस्थामा खाना खानु र भोक लागेको अवस्थामा पानी पिउनुहुदैन ।
फ्रीजमा सुरक्षित भनिऐका खानेकुराहरु आयुष्कारक हुदैनन,सेलाएको खाना तताएर खानु स्वस्थकर होइन ।
खाना खाईसकेपछी १०० पाईला हिडेर देब्रे कोल्टे फर्किएर सुत्नुपर्दछ । निदाउनुहुदैन ।
खाना खाएपछि तत्कालै पानी पिउनु, आगो ताप्नु, घाम ताप्नु, पौडी खेल्नु, साईकल चलाउनु, व्यायाम गर्नु जस्ता परीश्रम पर्ने काम गर्नुहुदैन ।खानापछि योगको वज्रासनमा बस्नु राम्रो मानिन्छ ।
खानाखांदा कांसको थालमा खाएमा बुद्धिवर्धक र रुचीकारक,पित्तलको थाल वातकारक,क्रिमी कफनाशक हुन्छ।पातको टपरी रुचीकारक,अग्नीदीपक र वीषनाशक मानिन्छ ।
पानी राख्ने वर्तन तामाको उत्तम मानिन्छ ।सो नभएमा माटोको भांडोलाई उत्तम मानिन्छ ।पानी पिउन कांचको गिलास उत्तम मानिन्छ ।
रातमा दही खानुहुदैन ।दहीमा नुन, मुगको दाल,मह र सख्खरमध्ये कुनै एक नमिलाई खानुहुदैन ।
दुर्वल अग्नीलाई उदीप्त गरेर तेजिलो बनाउनेवस्तुमा घीउनै सर्वश्रेष्ठ हुन्छ । दहि मोथेर तयार पारिएको घीउ १ चम्चा तातो भातमा राखेर खानु फाईदाजनक हुनेकुरामा Cardiologist ले पनि बताएका छन । आयुर्वेदमा भनिएको छ घृतमग्निकरम् । खारिएको तेलमा पाकेका खानाहरुमा ट्रान्सफ्याट बढि हुने भएकोले त्यस्ता खानेकुरा स्वस्थकर हुदैनन।
शुद्ध आचार/सुखाचार
बिहानको खाना खाईसकेपछि अनुशासनपुर्वक आफ्नो दैनिकगरिने कर्ममा लाग्नुपर्दछ । केही सुखाचारका नमुनाहरु
हिडदा बिस्तारै हिडने किनकि अनावश्यक बल र बर्णको नाश हुन्छ। जुता वा चप्पल लगाएर हिडने किनकि इन्द्रियहरु कमजोर हुन्छन ।
बर्षामा नभिजि हिडने, भिजेमा आलस्य तथा निद्रा एवं ज्वर उत्पन्न हुन्छ ।
धुवामा बस्नाले आंखा र शीरमा हानी तथा श्वासप्रश्वासमा कठीनाई हुन्छ ।
सज्जन र दुर्जन गरी २ किसिमका मित्र हुन्छन ।सज्जनको संगत तथा दुर्जनको संगतबाट टाढा रहनुपर्दछ ।
गुरु र गुरुजनका अगाडि नम्रतापुर्वक बस्नुपर्दछ ।उपकार गर्नेप्रति उपकार गर्नुपर्दछ ।
पानीमा अनुहार हेर्ने र गहिराई थाहा नभएको जलाशयमा पस्नुहुदैन ।
उचित,आवश्यकमात्र ,मधुर र सत्यवचन बोल्नुपर्दछ ।
सुखको उपभोग एक्लै गर्नुहुदैन ।
सबैको विश्वास पनि गर्नुहुदैन र सवैमाथि शंका पनि गर्नुहुदैन ।
उद्यमबाट कहिल्यै निराशभई कर्मगर्न छोडनुहुदैन ।
मल, मुत्र आदिका वेग रोक्नुहुदैन तर क्रोध तथा ईर्ष्याका वेग रोक्नुपर्दछ ।
ईन्द्रियको वेगलाई बलपुर्वक दमन तथा ज्यादा लालन पनि गर्नुहुदैन।
सभामा मुख नछोपि खोक्नु हास्नु, डकार्नु र आछिउँ गर्नुहुदैन ।
बिग्रेको खाट, गुफा, मन्दिर र रुखमुनि एक्लै सुत्नुहुदैन ।
आहार, यौनकर्म, निद्रा, अध्ययन र पैदलयात्रा यि ५ कार्य सन्ध्याकालमा गर्नुहुदैन
अन्त्यमा माथि उल्लेखित दिनचर्या , भोजनविधी र सदाचार अपनाउने हो भने बिभिन्न शारिरीक तथा मानसीक रोगहरुबाट मुक्त भई स्वस्थ र दीर्घजीवन जीउन सकिन्छ ।
​ध्रुवराज भण्डारी
वरिष्ठ कविराज अधिकृत सातौं
मायादेवी गाउँपालिका, रुपन्देही