बगनासकाली गाउँपालिका स्थानीय सरकारको एक सय दिन

मेचीकाली संवाददाता

१७ भाद्र २०७९, शुक्रबार
234 shares


नेत्र गैरे

पाल्पा । स्थानीय सरकारको एक सय दिनको कार्य प्रगति विवरण बगनासकाली गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले सय दिनको अवधिमा गाउँपालिका मार्फत भएका महत्वपुर्ण निर्णय र कार्यक्रमहरुबारे जानकारी गराइन ।


यो सय दिनको अवधिमा एउटा गाउँसभा र सात वटा गाउँकार्यपालिकाको बैठक सम्पन्न भएको र सबै जसो विषयगत समिति गठन गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालन लगायतका क्षेत्रमा प्रसस्त बजेट बिनियोजन गरेको र प्रभावकारी रुपमा योजना संचालन गरिने जनाएको छ ।


गाउँपालिका अध्यक्ष चिदीले पालिकाले अभिभावक बिहीन बालबालिकाको स्याहार सम्भार र शिक्षाको लागि मासिक रु १ हजार भत्ता पालिकाले ब्यवस्था गरेको, ग र घ समूहका अपांगता भएका ब्यक्तिहरुका लागि मासिक ५ सय र ३ सयका दरले निर्वाह भत्ता साउनबाटै लागू हुने गरि प्रदान गरिने,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन सुविधा मासिक १ हजार उपलब्ध गराउने बताइन । बिगतका अधुरा योजनालाई पुरागर्न रकम विनियोजन गरि निरन्तरता दिइएको, गाउँपालिकाले स्थापनादेखि हालसम्म पारित भएका ४८ कानुनलाई एकीकृत गरि कानुन संग्रह–२०७९ बनाइएको समेत उनले बताईन ।


पालिकाले भाषा, साहित्य तथा संस्कृति शिक्षा, स्वास्थ्य, पर्यटन युवा तथा खेलकुद, गरिबी निवारण, सहकारी, सामाजिक परिचालन, सूचना तथा संचार, बालबालिका, महिला, जेष्ठ नागरिक, आदिवासी जनजाति, अपांग, सिमान्तकृत बोटे र कुमाल, जातिलाई मध्यनजर राखि प्राप्त साधन स्रोतको दायरामा रहि सम्बोधन गरिएको अध्यक्ष चिदीले बताइन ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले लिफ्टिङ खानेपानीको बिद्युत महसुल अनुदान बृद्धि गरि ६० प्रतिशत पुर्याइएको, वर्षातको समयमा स्थानीय बाटोहरु मर्मत सम्भार गर्ने व्यवस्था मिलाइएको, साविकका सबै वडाहरुमा टोल विकास समिति गठन गरिएको बताए ।

गाउँ पालिकामा जिल्ला र प्रदेश कार्यालयमा मार्फत हुने विकास योजनाहरुमा समेत चासो दिई निरन्तर रुपमा सम्बन्धित कार्यालयहरुमा पुगि ध्यानाकर्षण गराएको र सोही बमोजिम योजनाहरु पनि संचालन भएको उनले बताए । यही आर्थिक बर्षको सुरुवाटै सामाजिक सुरक्षा भत्ता वडामै बैंकका प्रतिनिधि पुगेर वडासँगको सहकार्यमा वडाबाटै बितरण गरिने जसका कारण सामाजिक सुरक्षा भत्ता लिनकै लागि टाढा बैंकमा जानुपर्ने समस्या नरहने उनले बताए । पालिकाले नियमित रुपमा अति बिपन्न असहाय र औषधी उपचार गर्न पर्नेहरुलाई सहयोग गर्दै आएको, विपद्का समयमा तारजाली तथा त्रिपाल तथा राहत बितरण गरेको उहाँले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले गाउँपालिकाको सेवाप्रवाहलाई थप सेवाग्राही मैत्री बनाउँदै लगिएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापाले स्थानीय सरकारको प्रतिनिधिको रुपमा जनप्रतिनिधिहरु जनताको दुख सुखको सारथी बनेको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सिना, मिलन बिश्वकर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पत्रकार कृष्ण पोखरेल, नेत्र गैरे लगायतले थप सुझाव सल्लाह दिएका थिए ।