एमालेसँग एक्लै चुनाव लड्ने कसैसँग आँट छैनः विष्णु पौडेल

मेचीकाली संवाददाता

१८ भाद्र २०७९, शनिबार
297 shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिडन कुनै पनि शक्तिको आँट नभएको दावी गरेका छन् । आफ्नो खुट्टामा मात्र टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको दावी गर्दै पौडेलले गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिस्पर्धा त्यो पनि असफल हुने बताए ।

प्रेस चौतारी नेपाल, रूपन्देहीको शनिबार बुटवलमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले गठबन्धनको वैशाखी पनि संकटतर्फ धकेलिएको बताए । ‘हामीसँग चुनावी प्रतिस्पर्धा गर्न कसैको पनि आँट छैन,’ पौडेलले भने, ‘गठबन्धनको ‘सिनारियो’ हेर्दा समस्यामा छ । एमाले एक्लै चुनाव लड्छ । निर्वाचनपछि एमाले एक्लै सरकार बनाउने पुग्नेछ । त्यसको लागि सबै लाग्नुपर्ने अवस्था आएको छ ।’ स्थानीय तह निर्वाचनको सन्देश एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको बताए ।

उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृसंगठनहरूलाई आग्रहसमेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै उनले एमालेका लागि अनुकूल नतिजा आउने गरी काममा खटिन निर्देशसमेत गरे ।
बुटवलमा निर्माणाधीन तिनाउ–दानव करिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न आग्रहसमेत गरे । करिडोरमा पर्ने घरपरिवारलाई उनीहरुको इच्छाअनुसार चित्तबुझदो स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे । एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाइ छ ।

उनले भने, ‘देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रूपन्देही–२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ । तर, हामीप्रति ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिएको छैन । हामी अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्थामा आएका छौं ।’ एमालेले गरेका कामको जनतालाई सरल तरिकाले बुझाउन जरूरी रहेको नेता पौडेलले बताए ।

एसपीपी एमालेको विरोधकै कारण सरकारपछि हटन बाध्य भएको पौडेलले बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरे । ‘नागरिकता विधयेकमा एमालेले विरोधकाबीच संसद्बाट पास भयो,’ उपाध्यक्ष पौडेलले भने, ‘तर यसको जस एमालेले होइन गठबन्धनले लिइहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौं ।’ उनले प्रचार प्रसारको कामलाई चुस्त बनाउनुपर्ने उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता तथा सचिव केशव भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार अर्जुन ज्ञवाली, एमाले लुम्बिनी प्रदेश प्रेस चौतारी विभाग इन्चार्ज मोहन चापागार्इं र लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले प्रशिक्षण दिएका थिए ।