रुपन्देही २ मा विष्णु पौडेल, ५ मा खिमलाल भट्टराई सर्वसम्मत सिफारिस

मेचीकाली संवाददाता

२१ भाद्र २०७९, मंगलवार
367 shares

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले विष्णु पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

एमाले क्षेत्रीय कमिटीको आईतबार बसेको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका पौडेलको एकल नाम सर्वसम्मत सिफारिस गरेको हो । २०७४ सालमा पनि पौडेल यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । ०७४ मा पौडेलले कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए । पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीले २१ हजार ९४६ मत पाएका थिए । त्यस्तै, पौडेलले २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा डा.बाबुराम भट्टराईलाई पनि सोही क्षेत्रमा पराजित गरेका थिए ।

लुम्बिनी प्रदेशको अस्थायी मुकामसमेत रहेको बुटवल पनि रुपन्देही २ नम्बर क्षेत्रमा पर्छ । रुपन्देहीमा स्थानीय निर्वाचनको अनपेक्षित परिणामसँगै एमाले उपाध्यक्ष पौडेल आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय देखिएका छन् । गठबन्धनले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाएको छैन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राजु गुरुङ उठ्ने चर्चा छ । रुपन्देही २ मा स्वतन्त्रबाट डा. निकोलस भुसाल पनि उम्मेदवार बन्नेगरी सक्रियता बढाएका छन् ।
पौडेलले रुपन्देही २ बाट तीनपटक चुनाव जितेपछि जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर रूपन्देहीमा विकासको लहर ल्याएर लोकप्रिय नेताको छवि बनाएका छन् ।

रुपन्देही ५ मा खिमलाल भट्टराई सर्वसम्मत सिफारिस
रुपन्देही क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमाले क्षेत्रीय कमिटीको आईतबार बसेको बैठकले राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलको नेता एवं पोलिब्युरो सदस्य भट्टराईको एकल नाम सिफारिस गरेको छ ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववीयुका पुर्वअध्यक्ष समेत रहेका भट्टराई अहिले राष्ट्रियसभामा प्रमुख प्रतिपक्षीदलका प्रमुख सचेतक हुन् । निर्वाचनको मिती घोषणा भएसँगै भट्टराई निरन्तर यस क्षेत्रमा सक्रिय देखिएका छन् ।

२०७४ सालमा यहाँ नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका थिए । कांग्रेसले अहिलेपनि शाहलाई नै उम्मेदवार सिफारिस गरिसकेको छ । ०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा एमाले माओवादीको गठबन्धनका डिलराम आचार्यले २० हजार ४३८ मत पाएका थिए ।