गुल्मी १ मा ज्ञवाली सर्वसम्मत, २ मा विष्टसहित ३ जना सिफारिस

मेचीकाली संवाददाता

२१ भाद्र २०७९, मंगलवार
435 shares

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीपकुमार ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको बैठमले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो ।

ज्ञवाली २०७४ सालमा पनि गुल्मी क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन् । ज्ञवालीले २०६४ र २०५४ मा पनि गुल्मी २ बाट चुनाव जितेका थिए । २०७० सालमा भने यस क्षेत्रबाट चन्द्र भण्डारी विजयी भएका थिए । २०७४ मा माओवादीसँग चुनावी तालमेल गर्दा ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गरी विजयी हुँदा भण्डारीले ३० हजार २५६ मत पाएका थिए ।
त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा भने गोकर्णराज विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ । एमाले क्षेत्र नम्बर २ को बैठकले विष्टसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई पनि उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

२०७४ सालको चुनावमा कांग्रेसका चन्द्र केसीलाई पराजित गरेर विष्ट गुल्मी २ बाट विजयी भएका थिए । उनले ३४ हजार ६ सय मत पाप्त गरि विजयी हुँदा केसीले २० हजार १ सय मत पाएका थिए । २०६४ सालमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा (सागर)सँग थोरै मतान्तरले पराजित हुनुबाहेक विष्टले २०५६ सालदेखि निरन्तर यो क्षेत्रमा चुवाव जित्दै आएका छन् ।

अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् । लामो समय एमाले गुल्मी–काठमाडौँ सम्पर्क मञ्चमा रहेका अर्याल अध्यक्ष भएर काम गरेका थिए । उनले केन्द्रिय प्रचार विभागमा रहेर पनि काम गरेका थिए । भने, गौतम एमाले गुल्मीका नेता हुन् ।
त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नम्वर २ को (क) मा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सिता भण्डारी, प्रकाश काफ्लेको नाम सिफारिस भएको छ ।

प्रदेश (ख) मा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेको एमाले गुल्मीले जनाएको छ ।