बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन तयार

मेचीकाली संवाददाता

२१ भाद्र २०७९, मंगलवार
315 shares

बुटवल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीको घरमा विद्युत् जडान हुने बताएकी छन् । अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको उनले बताइन् ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइनको सोमबार रुपन्देहीको मैनहियामा उद्घाटन गर्दै ऊर्जामन्त्री भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिइन् । ‘यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अब विद्युतीय साधनको प्रयोग गर्नु जरुरी छ, विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने छ, त्यसैले म सवारी किन्न चाहनेहरुलाई विद्युतीय साधन किन्नका लागि अनुरोध गर्दछु,’उनले भनिन् ।
सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालको भनाइ छ । ‘अहिले भारतमा दैनिक ४०० मेगावाट विद्युत् बिक्री भैरहेको छ, बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ,’उनले भनिन् ।

ऊर्जामन्त्री भुसालले विद्युत्को प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने पनि उनले बताइन् । बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अब यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने पनि मन्त्री भुसालले बताइन् । अन्य आयोजनाहरु समयमै पूरा नहुने परिपाटीका बीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै उनले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युत्को आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अव यो क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने बताए । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको बिजुली भारतमा बिक्री गर्न सकिने उनले बताए ।
अहिले मुलुकले विद्युत् व्यापारबाट मासिक दुई अर्व भारतीय रुपियाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत दक्षिण एशियामै सस्तो रहेको दावी गरे । अव प्राधिकरण गुणस्तरीय विद्युत् आपूर्तिका लागि काम गर्ने पनि उनले बताए । कार्यक्रमका अवसरका १३२÷३३÷११ केभीएको मैनहिया सब स्टेशनको पनि ऊर्जामन्त्री भुसालले उद्घाटन गरेकी थिइन् । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहेका छन् ।

आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अव भैरहवा क्षेत्रको विद्युत् समस्या हटेको बताए । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको पाण्डेले बताए । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन बिस्तार थालिएको थियो ।