प्रगतिशील प्राध्यापक संगठन लुम्बिनी प्रदेशको अधिवेशन शनिबार

मेचीकाली संवाददाता

२४ भाद्र २०७९, शुक्रबार
453 shares

बुटवल । नेपाल प्रगतिशील प्राध्यापक संगठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन शनिबार बुटवलमा हुने भएको छ । तिलोत्तमा योगीकुटीस्थित होटल पौवामा हुने अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संगठनले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कार्यक्रम संयोजक बसन्तराज खनालले अधिवेशनमा सहभागी हुन १२ वटै जिल्लाबाट प्रतिनिधिहरू बुटवल आउने क्रम जारी रहेको बताए । अधिवेशनमा १२० जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले ४ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

कार्यक्रम दुई चरणमा हुने हुनेछ । पहिलो चरणमा लुम्बिनीमा पर्यटन विकास र प्रर्वधन विषयमा प्राध्यापक डा. गितु गिरीको र आर्थिक केन्द्रको रुपमा लुम्बिनीको अवस्था विषयमा र लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको खनालले बताए । नेपाल प्रगतिशील प्राध्यापक संगठन पेशागत र वैचारिक संगठन हो ।

दशौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेपछि आफूहरू प्रदेशका अधिवेशनमा जुटेको केन्द्रीय सचिव दिनेश पन्थीले जानकारी दिए । प्रदेश १, मधेश प्रदेश, बाग्मती र गण्डकीको सम्पन्न भइसकेका छन । लुम्बिनी सम्पन्न लगतै असोजको पहिलो हप्ता कर्णाली र सुदुरपश्चिमको पनि अधिवेशन गरिने उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा संगठनका सदस्य ५०० भन्दा बढी छन् । संगठनका केन्द्रीय उपाध्यक्ष डा. खगराज शर्माले संगठनात्मक रूपमा कुनै विचारसँग आस्थावान रहे पनि पेशाप्रति कुनै पक्षधरता नभएको बताए । लुम्बिनी प्रदेशका विभिन्नका जिल्ला ७ वटा विश्वविद्यालय मातहतको पढाई हुँदै आएको छ ।