मेचीकालीको १८औं साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२४ भाद्र २०७९, शुक्रबार
446 shares

बुटवल । मोफसलको लोकप्रिय पत्रिका मेचीकाली सन्देश प्रकाशन प्रालिको १८औं साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभामा सहभागी सञ्चालक तथा शेयरधनीहरुले पत्रिकालाई अझ स्तरीय, पठनीय र व्यवसायिक बनाउन नयाँ योजनाका साथ अगाडि बढ्ने साझा प्रतिबद्धता जनाएका छन् ।

प्रालिका अध्यक्ष होमराज बस्यालले संस्थाका नयाँ योजना, लक्ष्य र कार्यक्रमलाई साधारणसभामा पेश गर्दै अझ सुदृढ, सशक्त र गतिशील बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रालिले लिएका लक्ष्य र आगामी योजनालाई कार्यान्वयन गर्न सबैको समन्वय, सहकार्य र सहयोगको अपेक्षा रहेको बताए ।

विसं.२०५७ मंसिरमा सहकारीमार्फत स्थापना भएको मेचीकाली सन्देश २०६१ साउनदेखि प्रालिमा रुपान्तरण भएको हो । प्रालिअन्तर्गत रंगीन कलेभरको मेचीकाली सन्देश राष्ट्रिय दैनिक नियमित प्रकाशन हुँदै आएको छ । संघीय राजधानी काठमाडौं बाहिरबाट निरन्तर र नियमित प्रकाशनका रुपमा मेचीकाली स्थापित छ । संस्थापनाकाल देखि नै पत्रिका क वर्गमा सूचिकृत रहँदै आएको छ ।

मेचीकाली सन्देश प्रकाशन प्रालिको उक्त साधारणसभाको उद्घाटन गर्दै प्रदेश सभाका सांसद तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले व्यवसायिक, जनपक्षीय र स्वतन्त्र पत्रकारितालाई आत्मसात गर्दै मेचीकालीले यस क्षेत्रमा विशिष्ट पहिचान बनाएको उल्लेख गरे । पत्रिकाले समुदायलाई सुसुचित गर्ने र समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले विशिष्टिकृत विषयका सामग्री थप गर्न आग्रह गरे ।

आमसञ्चारका माध्यमहरुलाई अहिलेको अवस्था अनुरुप अपडेट गरी डिजिटल माध्यममा लैजान जरुरी रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले समृद्ध मुलुक, सुखी जनताको राष्ट्रिय संकल्पलाई साकार पार्नेगरी आमसञ्चारका माध्यमले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
सञ्चालक गोपाल राना, तेजकुमार पाठक, रेनुका खरेललगायतले पत्रिकालाई स्तरीय र अनलाइनमा समेत थप अपग्रेट गर्नेलगायतका प्रस्तुत योजना महत्त्वपूर्ण रहेको बताए । साधारणसभाले प्रालिको गत आवको लेखापरीक्षण, आर्थिक प्रतिवेदन, नयाँ रणनीतिक कार्ययोजना सम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा अनलाइनलाई थप व्यवस्थीत र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सञ्चालक समितीले जोड दिएका छन् । कार्यक्रमको सञ्चालन प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गैरेले गरेका थिए ।