प्रगतिशील प्राध्यापक संगठन लुम्बिनीको अध्यक्षमा बसन्तराज खनाल

मेचीकाली संवाददाता

२५ भाद्र २०७९, शनिबार
537 shares

बुटवल । नेपाल प्रगतिशील प्राध्यापक संगठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले ४ वर्षे कार्यकालका लागि बसन्तराज खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा नवराज सुवेदी, सचिवमा डा.लक्ष्मण पोखरेल, सहसचिवमा दीपक खनाल र कोषाध्यक्षमा गोविन्द खनाललाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा क्रमशः महेन्द्र भण्डारी, विनोद आचार्य, मनोज मरासिनी, विवेश्वर पौडेल, लक्ष्मण गौतम, शोभाखर पन्त, विष्णुप्रसाद भण्डारी, विष्णु अर्याल, हरिबहादुर खत्री, प्रकाश घिमिरे, गोपालसिंह घले, सुरज गुरुङ, जीतबहादुर रास्कोटी, कृष्णप्रसाद बस्याल, अञ्जु खनाल, मोहनलाल भण्डारी, प्रमोद सुवेदी, यमलाल थारु, प्रकाश आचार्य, माधव नेपाल, सन्दीप पौडेल, भिमलाल घिमिरे, सीमा घिमिरे, दयाराम भट्टराई, प्रकाश रेग्मी र हरिबहादुर क्षेत्री चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्राध्यापकको हकहित र समस्या समाधानका लागि आफू सधैं तयार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नेता पौडेलले गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए । ‘गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदर जस्तै देखिएका छन्,’पौडेलले भने, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरु एउटाले अर्कोलाई झुक्काएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ ।’

आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससँग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको पौडेलले टिप्पणी गरे । ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्,’ पौडेलले भने, ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ,उनीहरुले सगौरव लात खानुपर्छ ।’
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टी भएको बताए ।

वैवाहिक अंगिकृत नागरिकताको हकमा सात वर्षको अवधि राख्नुपर्छ भन्ने एमालेको मागलाई अस्वीकृत गरेर गठबन्धन सरकार राष्ट्रियताप्रति गैरजिम्मेवार बनेको पौडेलले बताए । समय सीमा नराख्ने सरकारको प्रावधानले कालान्तरमा नेपालीहरु आफ्नै देशमा अल्पमतमा पर्ने खरता रहेको उनले औंल्याए ।

कायक्रममा अर्थविज्ञ डा.प्रकाश श्रेष्ठ र संस्कृति विज्ञ प्रा.डा. गितु गिरीले आर्थिक स्रोत केन्द्र बुटवल र लुम्बिनीको पर्यटन सम्भाव्यतासम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरेका थिए भने प्रदेशसभा लेखा समिति सदस्य प्रमुख विष्णु पन्थी, संगठनका अध्यक्ष प्रा.डा. वेदराज केसीसहित पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रतिनिधिहरुको उपस्थित रहको थियो ।

अधिवेशनमा १२ जिल्लाका १२० जना प्रतिनिधि सहभागी भएका थिए । नेपाल प्रगतिशील प्राध्यापक संगठन पेशागत र वैचारिक संगठन हो । यसअघि नै प्रदेश १, मधेश प्रदेश, बाग्मती र गण्डकीको अधिवेशन सम्पन्न भइसकेका छन् । असोजको पहिलो हप्ता कर्णाली र सुदूरपश्चिमको पनि अधिवेशन गरिने केन्द्रीय सचिव दिनेश पन्थीको भनाइ छ ।

लुम्बिनी प्रदेशमा संगठनका सदस्य ५ सय भन्दा बढी छन् । संगठनका केन्द्रीय उपाध्यक्ष डा.खगराज शर्माले संगठनात्मक रूपमा कुनै विचारसँग आस्थावान रहे पनि पेशाप्रति कुनै पक्षधरता नभएको बताए । लुम्बिनी प्रदेशमा विभिन्न ७ वटा विश्वविद्यालय मातहतको पढाइ हुँदै आएको छ ।