सामाजिक सञ्जालमा बच्चा अपहरणको अफवाहः प्रहरी भन्छ–‘अनावश्यक हल्ला फैलाइयो’

मेचीकाली संवाददाता

२७ भाद्र २०७९, सोमबार
507 shares

रमेश पराजुली
बुटवल । पछिल्ला केही दिनयता तराईका विभिन्न जिल्लामा बच्चा चोरको आतंक नै चलेको छ । भारतीय नागरिकहरुले बालबालिकालाई अपहरण गरेर लैजाने गरेको विषय सामाजिक सञ्जालमा आगोसरी फैलीरहेको छ । बिशेषगरी फेसबुक, टिकटक र टुइटर प्रयोगकर्ताले यस्ता स्टाटस, फोटो र भिडियो शेयर गरिरहेका छन् । केही ठाउँमा बच्चा चोरको आरोप लगाउँदै मरणासन्न हुनेगरी कुटपिट गरेका घटना पनि सार्वजनीक भएका छन् ।

भारतबाट आएको बच्चा चोर्ने गिरोह सक्रिय भएको भन्दै शेयर भएका सामग्रीले अभिभावक र बालबालिकालाई झस्काएको छ । आइतबार साँझ बुटवलकी एक बालिकालाई भारतिय महिलाले अपहरण गरेर लैजादै गरेको अबस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मंगलापुरबाट नियन्त्रणमा लिएको भन्दै हल्ला फैलाइयो । चाउमिन खुवाउने भनी फकाई फुलाई भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरीले नियन्त्रमा लिएको भन्दै फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भए । प्रहरीले सोधपुछ गर्दा बालिका ति महिलाको आफ्नै छोरी भएको खुल्यो । तर, वास्तवीकता नबुझी सामाजिक सञ्जालमा भाइरल भएका सामग्री अहिले पनि शेयर भइरहेका छन् ।

गत शुक्रबार बिहान विद्यालय जान हिँडेका बुटवल ११ दुर्गानगरका तीन बालक हराएको खबर प्रहरीलाई आयो । १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय नपुगी बाटोबाटै बेपत्ता भएका थिए । विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारले खोजी गरेका थिए । बालक हराएको खबर पाएपछि रुपन्देही प्रहरीले खोजी सुरु ग¥यो । शनिबार राती भारतको मुम्बईमा बालक फेला परेको जानकारी आयो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार उनीहरूलाई कसैले अपहरण गरेर भारत पु¥याएको पुष्टि भएको छैन । ‘परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ । अब बालकहरू नेपाल आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ’, प्रमुख केसीले भने । सम्पर्कविहीन भएका मध्ये समिरका बुबा भारतमा रहेको खुलेको छ । ती बालक भारत पुग्नुमा अन्य व्यक्तिको संलग्नता भएको नदेखिएको उनले बताए ।

सोमबार रुपन्देही प्रहरीले एक सुचना जारी गर्दै बच्चा चोरको गलत हल्ला फैलिएको र त्यसमा कुनै सत्यता नरहेको जानकारी गराएको छ । ‘बिगत केही दिनदेखि भारतको सिमावर्ती क्षेत्रहरुमा बालबालिका चोरी गर्ने गिरोह प्रवेशगरी बालबालिकाहरुलाई विभिन्न डर तथा प्रलोभन देखाई, ललाई फकाई लठ्ठ बनाई लिएर हिँड्ने गरेको भनी सामाजिक सञ्जालमा बिभिन्न खालका टिका टिप्पणी तथा फोटो भिडियोसमेत राखी अफवाह फैलाउने कार्य भईरहेकोले त्यसमा कुनै सत्यता नरहेको जानकारी गराउछौँ ।’ प्रहरीको सुचनामा भनिएको छ ।

विद्यालय हिँडेका बालकलाई अपहरण गरी भारत पु¥याएको खबर सार्वजनीक भएपछि रूपन्देहीका विद्यालयले बालबालिकाको विशेष ख्याल गर्न आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्कूल र अभिभावक महासंघले सूचना प्रकाशित गर्दै बच्चा चोरेर लैजाने गिरोह भारतबाट आएको भन्दै विद्यालय समयभन्दा छिटो गरी बालबालिकालाई स्कूल नपठाउन समेत निर्देश गरेका छन् । जसले गर्दा यहाँका बालबालिका र अभिभावकहरु त्रसित छन् ।

नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सार्वजनिक भइरहेका घटनाले बालबालिकालाई मनोवैज्ञानिक रुपमा असर गरेको बताएको छ । अध्ययन गर्ने नयाँ कुरा सिक्ने सिर्जनशील सोंच बोकेका बालबालिकाहरुको कलिलो मस्तिष्कमा यस्ता घटनाहरु सार्वजनिक हुनुले गम्भीर असर परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जिल्लामा कुनै पनि बच्चा अपहरण भयो भन्ने उजुरी नपरेको जानकारी दिए । ‘कही नयाँ मानिस देख्यो भन्ने बच्चा चोरी गर्न आयो भन्ने हल्ला फैलाइएको छ’ प्रवक्ता अर्यालले भने, ‘आफ्ना बच्चा ख्याल गर्नु राम्रो हो तर, अनावश्यक हाउगुजी बढी बनाइएको छ ।’ सामाजिक सञ्जालमा भाइरल फोटो, भिडिओलाई गलत ढंगले प्रचार गर्दा अहिले बच्चा चोरको गलत हल्ला फैलिएको उनले बताए ।

बच्चा चोरको आरोपकाहरू मागेर खाने, मानसिक सन्तुलन ठिक नभएका, बोल्न नसक्ने पाइएको प्रहरीले जनाएको छ । शंकाकै भरमा कसैलाई नियन्त्रणमा लिइ फोटो र भिडियो खिचेर अनाबश्यक अफवाह फैलाउँदा यसले समाजलाई झन त्रसीत बनाउने डिएसपी अर्यालले बताए ।

‘मानिसहरू सचेत हुनु जरुरी छ । जो पायो त्यहीलाई शंका लाग्यो भन्दैमा नियन्त्रणमा लिइ अनाबश्यक अफवाह फैलाउनु हुँदैन ।प्रहरीमा बुझाएपछि अनुसन्धान हुन्छ । यदि दोषी देखिए कानूनबमोजिम कारबाही हुन्छ ।’ डिएसपी अर्यालले भने । कहीँकतै यस किसिमका शंकास्पद गतिबिधि भएको देखे वा पाईएमा तुरुन्त नजिकको प्रहरी कार्यालय तथा प्रहरी कन्ट्रोल १०० मा फोन गरी जानकारी गराउनसमेत अनुरोध डिएसपी अर्यालले आग्रह गरे ।

यसैबीच, भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने समूह नेपाल भित्रिएको दाबीसहित फैलाइएको भ्रामक सूचनाबारे नेपाल प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझै देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरूमा त्यस्ताखाले उजुरी र सूचना नआएको जनाएको छ ।

साइबर ब्युरोले सोमबार साँझ जारी गरेको एक अनुरोध पत्रमा त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकहरूमा अनुरोध गरिएको छ । यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्ने चेतावनी पनि दिएको छ । प्रहरीले भनेको छ, ‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरा जानकारी गराउँदछौ।’

हालैका दिनमा सामाजिक सञ्जालमा ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको’ भन्ने व्यहोरा लेखेर भ्रामक खबर फैलाइएको पाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरोको अनुरोध हेर्नुहोस्