होस्टेलमा आकर्षिक हुँदै सडक बालबालिका

मेचीकाली संवाददाता

३ आश्विन २०७९, सोमबार
298 shares

टोपलाल अर्याल
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा संरक्षण बाहिर रहेका बालबालिकाको अस्थायी व्यवस्थापन प्रभावकारी बन्दै गएको छ । दैनिक बालबालिका होस्टेल जान थालेका छन् । केही आनीबानीमा पनि परिवर्तन भएको छ । परिवारले वास्था नगर्ने गरेका कारण १५/१७ जना बालबालिका एक साथ बजार डुल्ने, नयाँ मान्छेसँग पैसा र खाने कुरा माग्ने, सार्वजनिक संरचना तोडफोड गर्ने तथा गाडीहरुमा झुण्डिएर हैरान पुराउँदै आएका थिए ।

बालिबालिकाको उशृङ्खल क्रियाकलाप बढ्दै गएपछि व्यावस्थापनको दवाब बढेको थियो । उनीहरुलाई अहिले महेन्द्र माविको स्काउट भवनमा मिनि होस्टेल सञ्चालन गरेर व्यावस्थापन थालिएको छ । होस्टेल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुन्छ । बालकालिका भनेकै समयमा होस्टल आइपुग्छन् । जहाँ बिहानको खाजा र खाना तथा दिउँसोमा खाजाको व्यावस्था होस्टेलमा गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । दिनभर होस्टेलमा बालबालिकालाई टिभीमार्फत मनोरञ्जन र सकरात्मक खेल तथा सन्देशमूलक सामग्री हेर्ने व्यावस्था मिलाइएको छ । त्योबाहेक व्यक्तिगत सरसफाइ गरेर मनोसामाजिक सहजीकरण गर्ने काम भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मरासिनीले बताए ।

सबै बालबालिका विपन्न दलित तथा जनजाति परिवारका छन् । बिहानै अभिभाव काममा हिडेपछि बालबालिका पनि बजार डुल्थे । अहिले मन लागेको खानेकुरा होस्टलमै खान पाएका छन् । सरसफाइ, खानपिन र हेर्ने तथा पढ्ने कुरामा परिवर्तन भएका छन् । सोमबार बालबालिकाको अवस्था हेर्न पुगेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बालबालिकामा आएको सकरात्मक परिवर्तनबाट खुसी भए । उनले स्वतन्त्र अवस्थामा लामो समय बिताएका बालबालिकाहरु एकैचोटी नभएर बिस्तारै अरु बालबालिकाको लयमै फर्कने आशा व्यक्त गर्दै सबै चुनौतिको सामना गर्न सर्वपक्षीय सहयोग आवश्यक रहेको बताए । ‘बालबालिका समूहमा बसेर लेखेको, बोलेका र सफा भएको देखेर म पनि प्रभावित भएँ । कसैले निकै राम्रो लेखेका पनि छन्,’उनले भने,‘यो परिवर्तनलाई स्थायीत्व दिन जरुरी छ ।’ होस्टलप्रति आकर्षित हुँदै केहि बालबालिकाले आफूहरु घर नजानेसमेत माग गर्न थालेका छन् ।

सबै बच्चाहरुका लागि पोशाक, झोला, खेलकुद तथा स्टेसनरी सामग्रीहरु पनि वितरण गरिएको छ । रेसुंगा नगरपालिकाबाट सहजीकरणका लागि दुई जना शिक्षिका र एक जना आयाको व्यवस्था गरिएको छ । ६ महिनासम्म कार्यक्रम सञ्चालन गर्दा पढाइमा भन्दा चरित्र निर्माणमा जोड दिने लक्ष्य रहेको छ । सडकमा माग्दै हिँड्नु हुँदैन । नचिनेको मान्छेले दिएको कुरा खानु हुँदैन । अनुसासित बनाएर बिस्तारै नजिकको विद्यालयको उपयुक्त कक्षामा भर्ना गरेर पठाउने मुख्य लक्ष्य रहेको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले बताए । करिब सात दिनको व्यवस्थापन पछि चार जना बालबालिकाहरु महेन्द्र माविमा नियमित विद्यालय जान थालेको पाइएको छ । उनीहरु भर्ना भएतापनि विद्यालयमा अनियमित थिए ।

कार्यक्रममा प्रत्यक्षरुपमा रेसुंगा नगरपालिका, धुर्कोट गाउपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका, इश्मा गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीको करिब ११ लाख ७६ हजार रकम लगानी गर्ने निर्णय भएको छ । बालबालिकाहरुको स्थायी ठेगानाका आधारमा एक बच्चा बराबर ५० हजारका दरले रकम जम्मा गर्ने निर्णय भएको खत्रीले बताए । यसैगरी आफ्नो कार्यालयसँग सम्बन्धित सेवा दिएर जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, जिल्ला खेलकुद विकासलगायतको सहयोग रहेको छ । उक्त कार्यम्रममा जिल्ला अस्पताल गुल्मीले नियमित स्वास्थ्य परीक्षण गर्ने सहमति भएको छ । यसरी नै जिल्ला प्रहरी कार्यालयबाट आवश्यक सुरक्षा व्यवस्था गर्ने निर्णय भएको छ । साथै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास समन्वय इकाइबाट आवश्यक अनुगमन र समन्वय गर्ने निर्णय भएको महेन्द्र माविका प्रध्यानाध्यापक कृष्ण मरासिनीले जानकारी दिए ।

कार्यक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीको संयोजकत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनेको थियो । कार्यदलले दिएको सुझाव उपर स्थानीय पालिकाका जनप्रतिनिधि, जिल्लाका उच्च पदस्थ पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिसमेत रहेको बैठकमा छलफल पछि यो कार्यक्रम लागू गर्ने निर्णय रेसुंगा नगरपालिकामा मेयर खिलध्वज पन्थीले बताए । उनले जिल्लाको महत्वपूर्ण अभियान र कार्यक्रममा सबैको सहयोग र समन्वय आवश्य रहेको बताए । जिल्लाको सिद्धबाबा माविबाट आवश्यक स्टेशनरी, भलिबल, फुटबल वितरण गरिएको छ । यसैगरी शिक्षा विकास समन्वय इकाइ गुल्मीका कर्मचारीद्वय शाखा अधिकृत पिताम्बर पन्थी र इन्जिनियर लक्ष्मण राउतबाट सरसफाइ सामग्री र मिठाइ फलफूल वितरण गरिएको पाइएको छ ।