भारतीय केरा आउँदा मारमा नेपाली किसान

मेचीकाली संवाददाता

३ आश्विन २०७९, सोमबार
341 shares

हरि शर्मा
परासी । भारतबाट आएका केराले नवलपरासीका किसानलाई मर्कामा पारेको छ । भारतबाट धमाधम केरा आउन थालेपछि खेतमा तयार भएका केरा बिक्री हुन नसक्दा आर्थिक भारसमेत परेको किसानहरुको गुनासो छ ।

भारतीय केरा रोक्नका लागि स्थानीयदेखि केन्द्र सरकारसँग माग गर्दासमेत वास्ता नगरेको भन्दै किसानहरुले असोज २ गतेदेखि आन्दोलनको घोषणासमेत गरेका छन् । नवलपरासी केरा उत्पादक संघले घोषणा गरेको कार्यक्रममा राजमार्ग अबरुद्धदेखि भारतीय केरा बोकेर आउने सवारी साधनलाई रोकेर केरा जफत गर्नेलगायतका छन् । भारतीय केराको आयातलाई बन्द गर्नुपर्ने किसानहरुको प्रमुख माग छ । त्यस्तै भारतीय केराका कारण उत्पन्न समस्यालाई समाधान गर्न सरकारले केराको बजारीकरण गर्नुपर्ने पनि किसानको अर्को माग छ ।

भारतबाट निर्वाध आएका कारण केही दिनअघि ५० रुपैयाँ प्रति दर्जनमा बिक्री भइरहेको केरा अहिले मुश्किलले ३० देखि ४० रुपैयाँमा पनि बिक्री हुन छाडेको केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए । नवलपरासीको प्रतापपुर, सुस्ता, सरावल र विनयी त्रिवेणी गाउँपालिका केराको पकेट क्षेत्रको रुपमा रहेको छ । यस क्षेत्रका करिब १२ सय किसानले १८ सय बढी बिघामा व्यवसायीक केरा खेती गर्दै आएका छन् । १२ देखि १५ महिनामा तयार हुने केराको मुख्य बिक्री हुने समय वैशाखदेखि कात्तिक (छठ) सम्म रहेको छ ।

अहिले केराको माग बजारमा बढेपनि भारतीय केराका कारण नेपाली किसानका केरा खेतमै कुहिन थालेको अध्यक्ष यादवले बताए । ‘अहिले दैनिक ७० देखि ८० पिकअप बिक्रीका लागि बाहिर जान्छ । त्यतिकै मात्रामा तयार भएका केरा छन् । तर भारतीय केराका कारण दैनिक ७० देखि ८० पिकअप केरा खेर गएको छ ।’ अध्यक्ष यादवले भने । १ बिगा क्षेत्रफलमा ५ देखि ६ लाखसम्मको उत्पादन गर्न सकिने केरा जिल्लाबाट वार्षिक रुपमा १ अर्ब बढीको उत्पादन हुने गरेको अध्यक्ष यादवको भनाई छ । केरा नबिकेपछि अहिले किसानहरुले टेक्टरमा लिएर टोल टोलमा डुल्ने गरेका छन् । ‘भारतीय केराले व्यापारी खरिद गर्न आउन छाडे । टोल टोलमा पुगेर सस्तोमा केरा बिक्री गर्नुको विकल्प छैन ।’ टेक्टरमा राखेर केरा बिक्री गर्न परासी पुगेका सुस्ता गाउँपालिका श्रीरामपुर गाउँका किसान श्रीकान्त कोइरीले भने ।

नेपाली किसानले उत्पादन गरेको केरालाई मात्र बजारीकरण गर्न सके भारतबाट केरा आयात गर्न नपर्ने किसानहरुको भनाइ छ । त्यसकारण पनि सरकारले भारतीय केराको आयातलाई रोकेर नेपाली किसानको व्यवसायीक खेतीलाई प्रोत्साहन गर्नुपर्ने किसानको माग छ । केरा फलका लागि मात्र होइन यसबाट धेरै फाइदा लिन सकिने किसानहरु बताउँछज् । यसको जरादेखि बोटसम्म पाइने सबै वस्तु उपयोगी छन् । किसानहरुका अनुसार केराको बोटबाट प्लाष्टिकको जस्ता थाल, कचौरा बनाउन सकिन्छ ।

गुन्द्री, चकटी बनाउन सकिन्छ । केही स्थानमा यसको बोटबाट चप्पलसमेत बनाउने गरिएको छ । त्यस्तै यसबाट आउने रेसाले खागी कपडा बनाउन सकिने र यसको पानी आयुर्वेदिक औषधीमा उपयोग गर्न सकिने किसानहरु बताउँछन् । त्यसैले केरा खेतीलाई प्रोत्साहन गर्दै आवश्यक पर्ने उद्योग सञ्चालनको वातावरण मिलाउन पनि किसानहरुले सरकारसँग माग गरेका छन् ।