सम्बन्ध बहुउद्देश्यीय सहकारीको साधारणसभा

मेचीकाली संवाददाता

३ आश्विन २०७९, सोमबार
400 shares

बुटवल। बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सोमबार बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सम्बन्ध सहकारी बुटवल वडा नम्बर ११ को पहिलो बुहउद्देश्यीय सहकारी पनि हो ।

बुटवल–११ मा बहुउद्देश्यीय सहकारीको आवश्यकता महशुस गरी सहकारी स्थापना गरिएको थियो । सहकारीका अध्यक्ष लोकराज शर्माले सहकारी नयाँ भएकोले संस्थालाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने बताए ।
शर्माले सहकारीलाई छिट्टै बुटवलकै नमुना सहकारीको रूपमा विकास गर्ने गरी कार्यक्रमहरू अगाडि सारिएको जानकारी दिए । बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका समाजमा महत्वपूर्ण रहेको बताए । खनालले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।

सहकारीका अहिलेसम्म शेयर सदस्य ६६२ जना रहेका छन् । आउँदो वर्षसम्म शेयर सदस्य वृद्धि गरी झण्डै ८ सय नजिक पु¥याइने लक्ष्य रहेको सहकारीका सचिव कमल नेपालले जानकारी दिए । सहकारीको शेयर पूँजी ६० लाख ७२ हजार रुपैयाँ रहेको छ । त्यस्तै निक्षेप २ करोड ३६ लाख रुपैयाँ रहेको छ । सहकारीले ऋण लगानी २ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । सहकारीले कृषि र व्यवसायमा लगानी गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख नारायण बेल्वासे, शिक्षा विकास तथा समन्वय इकाई समिति कपिलवस्तु प्रमुख थानेश्वर घिमिरे, सुभागमन सहकारीका अध्यक्ष हरि पौडेल, सुभागमन सहकारीका सल्लाहकार शालिकराम पौडेल, समाजसेवी मेघराज न्यौपाने, ग्लोबल आइएमई बैंक बुटवल देवीनगर शाखा प्रमुख पिताम्बर पोखरेल, सहकारीका सल्लाहकार राजेन्द्र ढकाल, पथ प्रदर्शक सहकारीका अध्यक्ष चन्द्रमणि अधिकारी, बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसी, लालटिन सहकारीका अध्यक्ष गंगा सापकोटा, चम्किलो सहकारीका अध्यक्ष राजेन्द्र पाण्डे, सहकारीका ज्येष्ठ शेयर सदस्य खगप्रसाद पुन, लेखा समिति संयोजक रविलाल गौतमलगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णुकुमारी घिमिरेको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न परीक्षामा ३.२५ जीपीए ल्याई उत्तीर्ण हुने शेयर सदस्यका ८ जना छोराछोरी र ज्येष्ठ शेयर सदस्य लिलबहादुर विकलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।