अपाङ्ग विष्णुलाई परिवारबाट हेला, प्रशासनको साथ

मेचीकाली संवाददाता

६ आश्विन २०७९, बिहीबार
333 shares

टोपलाल अर्याल
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले संविधान दिवसको अवसरमा दुई रचनात्मक काम गरेको छ । दिवसहरुमा प्रभातफेरि, सभा र भाषणमा सिमित हुन्छन् । तर, गुल्मी प्रशासनले संविधान दिवसको अवसरमा इस्मा गाउँपालिका–५ की ३५ वर्षीया पूर्ण अपाङ्ग बिष्णु कँुवरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैसहित सुरक्षा निकायको टोली कँुवरको घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । उनले नागरिकता नहुँदा सामाजिक सुरक्षासहितका राज्यबाट प्राप्त हुने सुविधाबाट बञ्चित रहेकी थिइन् । सोमबार इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, उपप्रमुख पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले जानकारी दिइन् ।

बिष्णु कुँवरले ०६१ सालमा स्थानीय अर्जुन कुँवरसँग विवाह गरिन् । छोरा १७ वर्षको भए । उनलाई छोरा जन्मिएको केही वर्षपछि श्रीमान्ले हेला गर्न थाले । ०६८ सालबाट श्रीमान्ले कुनै वास्थानै गरेनन् । उनी त्यसपछि माइतमा बस्न थालिन् । ४ असोज ०७१ सालमा घर पोत्ने क्रममा अकस्मात कँुवर लडिन् । खसेर मेरुदण्ड भाँचिएपछि बुवा लिलबहादुर बस्नेतले उपचारको लागि सबै ठाउँ पुराए । तर, निको हुने उपाय कसैले दिएनन् । उनलाई माइत फर्किएर कष्ट सहनुबाहेक कुनै उपाय भएन् । श्रीमान् र परिवारबाट सग्लो अवस्थामै कुनै सहयोग र सम्बन्ध थिएन ।

आधा शरीर लिएर बाँचेकी कुँवरलाई फर्केर कसले हेर्ने ? जबकि नागरिकतासमेत बनाइदिएनन् । माइतको आगनमा बिष्णुलाई पीडा खेपेर बाँचेको जीवन पनि अनागरिक जस्तो बन्यो । बिबाह गरेर गएकी छोरी पूर्ण अपाङ्ग भएर घरमा बस्नु र हुर्कदै गरेको नाति यमबहादुर कुँवरलेको भविष्य सम्झिएर बिष्णुका बुबा लिलबहादुर बस्नेतलाई अझै धेरै पीडा थियो । बस्नेतले न्याय खोज्न अड्डा र अदालत पनि निकै धाए । अदालतले अर्जुन कँुवर र बिष्णुलाई श्रीमान्–श्रीमतीको नाता कायम गरिदियो ।

तर, पनि अधिकार स्थापित भएन । नागरिकताकै लागि माइती पक्षले निकै दुःख सहे । लामो समयको प्रयासपछि घरमै सिडिओ पुगेर नागरिकता दिए । जसका कारण परिवार निकै खुसी भएका छन् । ‘परिवारले फर्किएर नहेरे पनि । सरकारले भएपनि सम्झिएर नागरिकता दियो,’उनले भने,‘पीडै–पीडाकाबिच पनि छोरीले केही राहत महसुस गर्नेछिन् ।’
बिष्णु कँुवंरका छोरा यमबहादुर कुवर १७ वर्षका भए । छोरा जन्मिएको केही वर्षपछिनै परिवारमा खटपट प¥यो । उनी माइतमा बस्न थालिन् । त्यसैमाथि दैब लाग्यो । जसका कारण पूर्ण अपाङ्ग बनिन् । कुँवर लडेपछि छोरा गएर बस्न थाले । त्यसपछि परिवार अझै टाढिएर । छोरा पनि उतै बस्न थालेपछि कँुवरको पीडा बल्झिन थाल्यो । उनले परिवारले वास्था नगर्ने र नागरिकता नभएका कारण कानुनी उपचारसमेत खोजिन् ।

प्रहरी र प्रशासनले समेत खोजी गरे । तर, नागरिकता बनाइदिन तयार देखिएनन् । केही समय पहिले हजुरबुबा आएर नातिको नागरिकता बनाएर गएको जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले जानकारी दिइन् । ‘सग्लो नाति प्यारो भयो, हजुरबुबा आएर नागरिकता बनाएछन् । जसले स्याहार र उपचार पाउने हो त्यो बुहारी हेला,’उनले भनिन्,‘थुप्रै प्रमाण जुटाएर नागरिकता दिएका छौँ ।’ गणतन्त्र दिवसमा अर्धचेत अवस्थामा रहेकी रेसुङ्गा नगरपालिका–१४ की ४८ वर्षीया पुनिकला आचार्यलाई पनि सिडिओ घरमै पुगेर नागरिकता दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सडक बालबालिकालाई संविधान दिवसको अवसरमा वाटर डिस्पेन्सर र सरसफाइ सामग्री हस्तान्तरण गरेको छ । महेन्द्र माविमा केही समयदेखि जिल्लामा १८ सडक बालबालिकालाई व्यावस्थापन गरिएको छ । पछिल्लो समय बालबालिकाले बजारमा माग्ने, चोर्ने, संरचना तोडफोड गर्ने र फोहोर खाने गर्दै आएका थिए । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र पालिकाहरुको पहलमा मिनि होस्टल सञ्चालन गरेर बालबालिकाको व्यावस्थापन गरिएको छ । उनीहरुलाई होस्टलमा तातोचिसो पानीको सहजीकरण र सरसफाईमा टेवा पुराउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।