घरेलु रुपन्देहीले सुरु गर्यो पटेराबाट हस्तकलाका सामान उत्पादन तालिम

मेचीकाली संवाददाता

७ आश्विन २०७९, शुक्रबार
710 shares


तुलसीराम पौडेल —-
रुपन्देही ,असोज ७

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले पटेराबाट हस्तकलाको तालिम सुरु गरेको छ । भैरहवामा संचालित उक्त तालिममा बनजंगल, खोलाका किनार र झाडीहरुमा त्यसै खेर जाने कच्चा पदार्थ पटेराबाट म्याट, चकटी, गुन्द्री, सुकुल, डोर म्याट, पर्स, स्टुल, कलम दानी उत्पादन सम्बन्धी सीप सिकाउने गरी तालिम संचालन गरिएको कार्यालयले जनाएको छ । तालिमका सहभागीलाई तालिम अबधिभर हस्तकलाका नेपाली मौलिक सामान तयार गर्न सक्षम बनाउने र त्यस्ता सामानको व्यावसायिकरण र बजारीकरण गरी मनग्ये आम्दानी गर्न सक्षम बनाउने तालिमकी प्रशिक्षक गीतादेवी चौधरीले बताइन् !
उद्धमशीलता प्रवर्द्धन गरी मौलिक हस्तकलाका सामानहरुको उत्पादन र बजारीकरण गरी जनताको आय आर्जनमा वृद्धि गर्ने मात्र नभई गुणस्तरीय र प्रतिस्पर्धात्मक बस्तुहरुको निर्यात वृद्धि गरी देशको अर्थतन्त्रमा समेत सुधार आउने कुरामा आफू बिश्वस्त रहेको कार्यक्रमका अध्यक्ष तथा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख उपसचिव राम प्रसाद ज्ञवालीले बताए! ज्ञवालीले तालिमका सहभागीले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरु घरेलु कार्यालयले खरिद गरी कार्यालयमा समेत राख्ने जनाए! तालिम पश्चात् व्यावसायिक रुपमा यी सामाग्री उत्पादन भएमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लुम्बिनी प्रदेशसंग समन्वय गरी प्रदेशका बाह्र वटै जिल्लामा संचालित कोशेली घरहरुमा बिक्री बितरणका लागि पठाइने पनि ज्ञवालीले बताए! उक्त उद्घाटन समारोहमा स्वागत मन्तव्य घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत बाबुराम ज्ञवालीले राखेको उक्त समारोहको संचालन भने उद्यम बिकास सहजकर्ता अनन्त पन्थीले गरेका थिए ।
एक महिनासम्म संचालन हुने उक्त तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागी रहेको छ।