नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

७ आश्विन २०७९, शुक्रबार
263 shares

पार्वती आचार्य

कपिलवस्तु । नवप्रभात सामुदायिक वन उपभोक्ता समूह बाणगंगा ८ कपिलवस्तुको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रमका अध्यक्ष रेग्मीले ०७९/०८० को प्रस्तावित अनुमानित निती तथा कार्यक्रम आफ्नो भनाई सहित प्रस्तुत गर्नु भएको थियो । साथै उहाँले वन व्यवस्थापन संरक्षण र सदुपयोग व्यवस्थित तरिकाले गर्न सकियो भने आम उपभोक्ताहरुमा रोजागरको सृजना हुने र बिकास निर्माणमा समेत सहयोग पुग्ने बताउनु भयो ।

बार्षिक प्रगती प्रतिवेदन समूहका सचिव सारदा ढकाल थापाले प्रस्तुत गर्नु भएको थियो । यस्तै आर्थिक वर्ष ०७८/०७९ को आर्थिक प्रगती प्रतिवेदन समूहका कोषाध्यक्ष बाबुराम भण्डारीले प्रस्तुत गर्नु भएको थियो । लेखा संयोजक बिष्णु गिरीले ०७८/०७९ को लेखा प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले समुदायिक वनहरुमा भएका क्रियाकलापहरुमा शुसासन कायम गर्नुपर्ने बताउनु भयो । जुनसुकै कार्यक्रमहरु गर्दा साधारण सभाले पारित गरेको कार्यक्रम भन्दा अन्य कार्यक्रमहरु संचालन गर्न नहुने उहाँले बताउनु भयो ।

प्रमुख अतिथी सुवेदीले आम उपभोक्ताको चासो वन व्यवस्थापन र संरक्षण हुनुपर्नेमा जोड दिनु भएको थियो । वन व्यवस्थापन र संरक्षण गर्न सक्ने हो भने उपभोक्ताहरुलाई रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनु भयो । यस्तै आर्थिक वर्ष ०७८/०७९ मा यस नव प्रभात सामुदायिक वनले तारवार , अतिक्रमण , सिमाना विवाद तथा बृक्षारोपण गर्ने कार्यमा उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय मोतिपुर कार्यालय प्रमुख बिष्णु प्रसाद लामिछानेले संघिय वन ऐन नियमावली , प्रदेश वन नियमावली अनुसार संशोधित कार्ययोजनाहरुको बारेमा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले वन ऐन २०७८, वन नियमावली २०७९ र कार्यविधी २०७९ मन्त्रि परिषदबाट निर्णयभई पारित गरेको बताउनु भयो । यस्तै उपभोक्ताहरुको माग अनुसार संघिय वन तथा वातावरण मन्त्रालयले वन ऐन २०७८ , वन नियमावली २०७९ मन्त्रि परिषदबाट पारित गरिसकेको केन्द्रिय अध्यक्ष सेनले बताउनु भयो ।

सामुदायिक वन नाफा मुलक नरही सेवा मुलक र स्वयुक्त संस्था भएको हुँदा कर सम्बन्धि बिभिन्न किसिमका भर्मात्मक सूचनाहरु व्यापक रुपमा आएको हुँदा सोको पछाडि नलाग्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । यस्तै संस्थामा वार्षिक रुपमा आम्दानी भएको कुल रकमको २५ प्रतिशत नभई बाह्रीय बिक्री बितरण भएको काठको २५ प्रतिशत मात्र सरकारलाई बुझाउनु पर्ने बिषयमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रतिनिधीहरु , सामुदायिक वनका प्रतिनिधीहरु , उपभोक्ता समूहका पदाधिकारीहरु , सल्लाहकार समितीका पदाधिकारीहरु , लेखा समितीका पदाधिकारीहरु , उपभोक्ताहरु , सुरक्षाकर्मी , संघ संस्थाका प्रतिनिधीहरु , संचारकर्मी , समाजसेवी , बुद्धिजिवी लगाएतको उपस्थिती रहेको थियो । भने यस नव प्रभात सामुदायिक वनमा ८ सय ७३ उपभोक्ताहरु रहेका छन् भने कुल उपभोक्ताहरु मध्ये ८५ प्रतिशत उपभोक्ताहरुको १२ औं साधारण सभामा सहभागिता रहेको थियो ।