चुलिँदो आर्थिक संकटप्रति सरकार बेखबरः पौडेल

मेचीकाली संवाददाता

९ आश्विन २०७९, आईतवार
310 shares

बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक संकट संघारमै आइपुगेको दावी गरेका छन् । देशको संकटप्रति सरकार बेखबर रहेको बताउँदै पौडेलले मुलुकको अर्थतन्त्र इतिहासकै चिन्तित अवस्थामा पुगेको दावी गरे । शनिबार रुपन्देही व्यापार संघको २१ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले भने, ‘मुलुकमा आर्थिक संकट चुलिँदै संघारमा आइपुगेको छ । जसबारे सरकार बेखबर बन्यो ।’

सरकारले अर्थतन्त्रको व्यवस्थापन गर्न नसकेको बताउँदै नेता पौडेलले नीतिगत रूपमै धेरै परिवर्तन नगरेसम्म निजी क्षेत्रले भोग्दै आएका विद्यमान समस्याहरू समाधान हुन नसक्ने बताए । मुलुकलाई सही दिशामा ल्याउन एमालेको सरकार आवश्यक रहेको चर्चा गर्दै आसन्न मंसिरको चुनावमा निजी क्षेत्रले भोगेको समस्याको समाधान खोज्नुपर्ने पौडेलको भनाइ छ ।
आफूले दुईपटक अर्थ मन्त्रालयको जिम्वेवारी सम्हालेको स्मरण गर्दै पौडेलले भूकम्प, नाकाबन्दी र कोरोना महामारीको समयमा पनि आर्थिक सूचकांकहरू ‘पोजेटिभ’ रहेको दावी गरे । ‘बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीमा संकट देखा परेको छ । तरलता संकटकै कारण बैंकहरूले राम्रोसँग ऋण प्रवाह गर्न पाएका छैनन् । जसले गर्दा प्रत्यक्ष रूपमा उद्यमी व्यवसायीहरूले ऋण पाएका छैनन्’ पौडेलल भने ।
पौडेलले विकासका मुद्दामा राजनीति नगर्न व्यवसायीहरुलाई आग्रह गरे । विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गर्दै रुपन्देहीलाई आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

राजमार्ग चौराहा–गोलपार्क सडकमा गठबन्धन सरकारले नै राजनीति गर्दै आएको पौडेलले बताए । स्थानीय निर्वाचनको समयमा नागरिकहरुमा भ्रम सिर्जना गर्न सरकारले नै विभिन्न बाहाना बनाएर ठेकदारलाई काम रोक्न लगाएको आरोप लगाए । मुख्य सडकका कारण बुटवलवासी जनताले दुःख र सास्ती भोगिरहेको बताउँदै उनले तत्काल सडक निमार्ण सम्पन्न गर्न आग्रह गरे ।
पौडेलले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्यस्तै बुटवलको विकासका लागि अगाडि सारिएका सिद्धबाबा सुरुङमार्ग, तिनाउ खोलामा बन्ने सिग्नेचर ब्रिज, प्रदर्शनी स्थल, तिनाउ–दानब करीडोर, बुटवल–नारायणगढ सडक, बुटवल–चन्दौटा सडक, बुटवल–पाल्पा–पोखरा सडक, बेलहिया–बुटवल सिक्स लेन सडक, निजी क्षेत्रको लगानीमा बन्ने २ वटा केवलकारलगायतका आयोजनाले आर्थिक समृद्धिमा नयाँ मोडेल तयार गरेको उल्लेख गर्दै निजी क्षेत्रको समस्याहरुको सहि सम्बोधनका लागि आफूले ठोस कदम चाल्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिका सधैं उद्योगी, व्यवसायीहरुको हितमा रहेको बताइन् । बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्नेगरी उपमहानगरले योजना बनाएर काम अघि बढाएको बताइन् । राजमार्ग चौराहा–गोलपार्क सडक तत्काल निमार्ण सम्पन्न गर्न ठेकेदारलाई ताकेता गरेपनि ठेकेदार विभिन्न बाहाना बनाएर भागीरहेको उपप्रमुख अर्यालले बताइन् । बुटवलमा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि व्यवसायीहरुसँग छलफल गरी आवश्यक काम अघि बढाउने उनले बताइन् ।
नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय सदस्य महादेव पोखरेलले राज्यले लिएका कतिपय नीतिहरूका कारण अर्थतन्त्र खुम्चन पुगेको भन्दै सरकारका नीतिहरू अर्थतन्त्रकेन्द्रित हुनुभन्दा निश्चित वर्ग र व्यक्तिकेन्द्रित भएको आरोप लगाएका थिए । उनले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न र आर्थिक समृद्धिको मुद्दालाई माथि राख्न अनुरोध गरे । कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले अहिले मुलुकको अर्थतन्त्र निकै सुस्त भएको, व्यापार व्यवसायमा मन्दी छाएको एवं तरलता अभावका कारण लगानी गर्न पैसाको अभाव बढेको अवस्थामा बैंकको चर्को व्याजले व्यवसायीहरु निकै प्रताडित हुनु परेको धारणा राखेका थिए ।

अध्यक्ष घिमिरेले आर्थिक उन्नतिमा निजी क्षेत्रलाई अगाडि बढाउन नसक्दा राष्ट्रले आर्थिक सम्मृद्धि प्राप्त गर्न सम्भव नहुने हँुदा त्यसमा राज्यले उद्योग तथा व्यवसायीमैत्री नीतिहरु निर्माण गरी नीति क्षेत्रसँगको सहकार्यमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत एवं प्रथम उपाध्यक्ष प्रकाश ढकालको धन्यवादज्ञापनमा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाल आलम, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, संघका पूर्व अध्यक्ष शंकर भट्टराई, सल्लाहाकार जोगलाल विश्वकर्मालगायत बोलेका थिए ।

सभाको दोस्रो सत्रमा भएको बन्दसत्रले महासचिव दयानिधी भण्डारीको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नामदेव पाण्डेको आर्थिक प्रतिवेदन छलफलपश्चायत सर्वसम्मत पारित गरिएको थियो ।