नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी

मेचीकाली संवाददाता

९ आश्विन २०७९, आईतवार
324 shares

बुटवल । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश अध्यक्षमा गोविन्दप्रसाद तिवारी निर्वाचित भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा खेम तिवारी र रमेश खनाल, महासचिवमा सुरेन्द्रप्रसाद यादव, सचिवमा सुरेन्द्र कुमार डफगर, कोषाध्यक्ष पदमा मोतिलाल खनाल र सहकोषाध्यक्ष पदमा सुवेक्षा गौतम सर्वसम्म निर्वाचित भएको निर्वाचन आयुक्त धर्मराज भट्टराईले जानकारी दिए । त्यस्तै सदस्यहरुमा जगन्नाथ पराजुली, लक्ष्मीकुमार गुप्ता र खेमनारायण काफ्ले निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी परिषदका रजिष्टार सञ्जिव पाण्डेले फार्मेसी प्रमाणपत्र प्राप्त गरेका फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन र त्यस्तो पाईएमा कारवाही गर्ने चेतावनी दिए । अहिले पनि धेरै प्रमाणपत्र भाडामा लगाएको पाईएको बताउँदै उनले प्रमाण सहित उजुरी आए तुरुन्तै कारवाही गर्ने चेतावनी दिए । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश समितिको पहिलो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै रजिष्टार पाण्डेले प्रमाणपत्र भाडामा लगाउनु पनि एक प्रकारको अपराध भएको बताए ।

रजिष्टार पाण्डेले हालसम्म ३० जनाको प्रमाणपत्र खारेज गरिसकिएको बताउँदै कतिपयलाई आजिवन दर्ता हुन अयोग्य हुनेगरी कारवाही गरिएको पनि जानकारी गराए । नाम दर्ता परीक्षामा इन्टर्नशिप नगरेका बिद्यार्थीलाई सहभागी नगराउने निर्णय गरिएको र यसले फर्मासिष्टहरुको गुणस्तर वृद्धि हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले नीतिगत समस्याका कारण फर्मासिष्टहरुको मुद्धा सुल्झाउन नसकिएको बताए । फर्मासिष्टहरुले आफ्नो प्रमाणपत्र भाडामा लगाउन नहुने बताउदै औषधि बिक्रिवितरण हुने ठाउँमा अनिवार्य फर्मासिष्टको दरवन्दी राख्नुपर्ने भनाई राखे । उनले फार्मेसीका जनशक्ति प्रयाप्त हुँदाहुँदै ओरिन्टेसनका कुरा नउठाउन आग्रह गरे ।
संघका केन्द्रीय महासचिव युवराज भुसालले गुणस्तरीय स्वास्थ्य शिक्षा, गुणस्तरीय फर्मासिष्ट र गुणस्तरीय सेवामा जोड दिदै बिरामीको सुरक्षा, फर्मासिष्टहरुको पेसागत सुरक्षा र उत्पादनको सुरक्षा हुनु पर्ने भनाई राखे ।

संघका प्रदेश अध्यक्ष ध्रुवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका सचिव डा. सन्तोष पोखरेल, औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, संघका सल्लाहकार भोजराज बस्याल, बाकेका अध्यक्ष सुरेन्द्रकुमार डफ्गर, फर्मासिष्ट सभ्यता खनाल बस्याल, प्रदेश उपाध्यक्ष गोविन्दप्रसाद तिवारी लगायतले आआफ्नो भनाई राखेका थिए ।