बुटवलमा दशैँ सस्तो बजार सुरू

मेचीकाली संवाददाता

११ आश्विन २०७९, मंगलवार
197 shares

बुटवल । चाडपर्वमा उपभोक्तालाई सस्तो मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन बुटवलमा दशैँ सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको पाँच दिनसम्म सञ्चालन गरिने दशैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सोमबार उद्घाटन गरे ।

सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरीलगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पललगायतका दैनिक उपभोग्य सामानसहित अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका सामग्रीहरुको विक्री वितरण गरिने छ ।

त्यस्तै दशैँ सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ । लायन्स क्लब अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको दशैँ सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण) ले जानकारी गराए । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैँ सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको विक्रीवितरण गरिने जानकारी गराए ।