भूमिकास्थान नगरपालिकालाई सुशासनमैत्री र विकासमैत्री बनाउँछुः प्रमुख प्रशासकीय अधिकृत पोख्रेल

मेचीकाली संवाददाता

१२ आश्विन २०७९, बुधबार
576 shares

वि.सं २०६९ सालमा निजामति सेबामा प्रबेश गरेर निजामति सेबामा छुट्टै पहिचान बनाउन सफल हुनुभएका नेपाल सरकारका उपसचिब नारायणप्रसाद पोख्रेलअर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा भर्खरै मात्र सरुवा भई आउनुभएको छ । उहाँसँग केन्द्रित रहेर नगरको बिकास सुसासन आदि विषयमा गरिएको कुराकानीको सम्पादकीय अश यहाँ प्रस्तुत गरीएको छ ।

तपाई सरकारी क्षेत्रमा प्रवेश गरेको कति भयो ? सेवा कहाँ कहाँ कसरी गर्नुभयो र कस्तो रह्यो ?
म सरकारी सेवामा २०६९ सालमा प्रवेश गरेको थिए र ऐले करिव १० वर्षमा ११ वटा विभिन्न कार्यालयहरुमा काम गर्ने अवसर प्राप्त गरेको छु । यो भन्दा पहिला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा थिए र जति पनि कार्यालयमा मैले काम गर्ने अवसर पाए सबै क्षेत्रमा मेरो बसाई उत्साहजनक नै रह्यो ।

तपाईं नगरपालिकामा भर्खरै भुमिकास्थान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएको छ, कस्तो महशुस गर्नुभएको छ ?
स्थानीय तह भनेको आफैमा एउटा रङ्गीचङ्गी क्षेत्र पनि हो यसमा शिक्षा, स्वास्थ्य, कृषि, पशु, योजना लगायतका विभिन्न क्षेत्रहरु समाहित छन्। विभिन्न फूलका थुङ्गाहरुलाई जोडेर एउटा सुन्दर माला बनाउने क्षेत्र हो यो । यो क्षेत्रमा काम गर्ने सु अवसर पाउदा एकदमै उत्साहित छु र एकदमै खुशी पनि छु ।

भूमिकास्थान नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि के(के छन् आगामी योजना ?
स्थानीय तहको पहिलो कार्यकालमा थालनी भएका असल अभ्यासको निरन्तरता, बाँकी अधुरा कामहरु र यस आर्थिक वर्षको लागि तय भएका योजना तथा कार्यक्रमहरुको पनि नयाँ ढङ्ग, नयाँ जोस र जाँगरका साथ सम्पन्न गर्नेछौँ । शिक्षा, स्वास्थ्य, योजना, खानेपानीको क्षेत्रलाई सन्तुलित ढङ्गले अँगाडी बढाउनेछौँ । सामाजिक, आर्थिक, संस्थागत सुशासन देखि लिएर भौतिक पूर्वाधार सबै क्षेत्रको समानुपातिक विकासतर्फ उन्मुख भएर लाग्नेछौँ । शिक्षा तर्फ हामीले ‘विद्यालय सँग नगरपालिका’ भन्ने कार्यक्रम राखेका छौँ जसबाट विद्यालयको अहिलेको अवस्था के हो र अव कसरी अगाँडी लैजान सकिन्छ र पुग्नुपर्ने कहाँ होरु भन्ने विषयमा पनि छलफल हुनेछ, शिक्षातर्फका Awarness का कार्यक्रम हरु पनि हामीले संचालन गर्नेछौ ।

स्वास्थतर्फ हामीले शुन्य होमडेलिभरी को सिद्धान्तलाई लिएर हरेक वडामा ग्रामणी अल्ट्रासाउण्ड कार्यक्रम संचालन पनि गरिरहेका छौँ जसबाट गर्भवती महिला चेकजाँचको लागि सदरमुकाम धाइरहनुपर्ने अवस्थालाई यसले निराकरण गरी अव वडाकै स्थास्थ्य संस्थाबाट यो सुविधा उपलब्ध हुने भएको छ । हामीले नगरपालिका भित्रका तालिम प्राप्त उद्यमिहरुले उत्पादन गरेको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नको लागि पालिका उद्यम घर संचालन गर्ने कार्यक्रम पनि छ । योजना तर्फको लागि उपभोक्ता समितिमार्फत हुने योजना कार्यान्वयनको लागि हामीले प्रत्येक वडामा योजना सम्झौता अभियानको कार्यान्वयन चरणमा छौँ।कतिपय योजनाको लागि टेण्डर आह्वान पनि गरिसकेका छौ।

उद्योग तर्फका कामहरु पनि कार्यान्वयन भईरहेको अवस्था छ। स्वास्थ्य तर्फका कार्यक्रम हरु पनि संचालन भईरहेका छन् । भूमिकास्थान नगरपालिकालाई प्रविधिमैत्री बनाउने तर्फ पनि हामी केन्द्रीत छौँ। आर्थिक अनुशासन कायम गर्नको लागि अव EFT तर्फ केन्द्रित भई संभव भएसम्मका भुक्तानी हामी EFT मार्फत नै गर्नेछौँ । भूमिकास्थान नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनको लागि समग्र जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाहरु सबै एकजुट भएर लाग्नेछौँ ।

ज्कस्ता-कस्ता योजनालाई भूमिकास्थान नगरपालिकाले गौरवका योजनाको रुपमा राखेको छ नि ?
भुमिकास्थान नरपालिकाले धारापानी-ढाकावाङ्ग सडक योजना, नुवाकोट-खिल्जी-असुकोट सडक योजना, गच्छे-ढिकुरा-धनचौर सडक योजना, नरपानी-नुवाकोट पहुँचमार्ग, पन्ध्र सैयाको हस्पिटल, सेङ्गलेङ्ग, दुर्वाङ, भूमेकाथान पर्यटन कार्यक्रम, नमुना विद्यालय विकासलाई भूमिकास्थान नगरपालिकाले गौरवको योजनाको रुपमा राखेको छ । यी सबै समग्र क्षेत्रलाई सन्तुलित रुपमा अँगाडी बढाउने हाम्रो योजना रहेको छ ।

कसरी कार्यान्वयनमा लैजानु हुन्छ नि गौरवका योजनालाई ?
समग्र भूमिकास्थान नगरपालिकाका गौरवका योजना एवं अन्य योजना तथा कार्यक्रमहरुलाई सन्तुलित तरिकाले हामी कार्यान्वयनमा लैजाने छौँ । पन्ध्र सैयाको हस्पिटल लगायत अन्य सडक योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन् । ती योजना हरुको निरन्तर अनुगमन र मूल्याङ्कन भईरहेका छन् । शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य र पर्यटन क्षेत्रका कार्यक्रमहरुपनि अगाडी बढीरहेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधिसँग काम गर्दा चुनौती आउछन भन्ने सुनिन्छ कस्तो महशुस गर्नुभएको छ ?
सर्वप्रथम त स्थानीय तहको निर्वाचन पश्चात जनताको सार्वभौम अधिकार मार्फत निर्वाचित भएर आउनुभएका सम्पुर्ण भूमिकास्थान नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई सहित उहाँहरुको पाँच वर्षे कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । हामी सबैलाई थाहा भएकै कुरा हो स्थानीय तह दुई पक्षको उचित समन्वयबाट मात्र संचालन हुने क्षेत्र हो ।

त्यसमा एउटा राजनीतिक पक्ष हुन्छ र अर्को कर्मचारीतन्त्र । मलाई लाग्छ स्थानीय तहमा मुख्य भूमिका जनप्रतिनिधिको रहन्छ । हामी कर्मचारीहरु प्रशासनीक बाटोमा बसेर काम गर्नुपर्ने हुन्छ । योजना नीति कार्यक्रम जनप्रतिनिधिहरुले निर्माण गर्नुहुन्छ र हामीले त्यसको अक्षरस यथासम्भ नतिजा हासिल गर्नेगरी कार्यान्वयन गर्ने हो । जननिर्वाचित भएका कारण जनताको लागि केही गर्नुपर्ने साधनस्रोत सिमित हुने र इच्छा आकाङ्छा धेरै हुने मागहरु बढी हुने बजेट कम आउने हुँदा अलिकती खटपट हुने स्वभाविक नै हो ।

मलाई लाग्छ यहाँ काम गर्न सहज छ कुनै समस्या छैन,हाम्रोमा त्यस्तो कुनै वैचारिक मतभेद छ र हुन्छ जस्तो मलाई लाग्दैन । वास्तवमा स्थानीय तहमा काम गर्ने एउटा चुनौतीपूर्ण विषय पनि हो र धेरै कुरामा ध्यान दिनुपर्ने अवस्था पनि हुन्छ । यसलाई केही गर्छु भन्नेको लागि एउटा अवसर पनि हो । यो Frontline Office र जनताको सबैभन्दा नजिकको सरकार भएको हुँदा यहाँ Public हरु सँग Direct Contact हुने गर्दछ । भनिन्छ नि “Where There Are Difficulties There Is Also Opportunities” यसलाई मैले एउटा अवसरको रुपमा लिएको छु । यसले नै सरकारको प्रभावकारीता समेत मापन गर्ने हुँदा काम गर्न रमाइलो हुन्छ भन्ने बुझाई हो ।

कर्मचारी कर्तव्यमुखी भन्दा बढी अधिकारमुखी भए भन्ने आरोप छ नि तपाइले कसरी लिनुभएको छ ?
हामी कर्मचारीहरु राष्ट्रका सेवक हौँ हामी जतिपनि काम गर्छौँ कार्यपालिका हुँदै नगरसभाबाट नीति निर्माताहरुमार्फत तर्जुमा भएका निति कार्यक्रमहरु सफल र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो हामी सिभिल सर्भेन्टले कुनै पनि कार्यक्रम स्वविवेकले निर्णय गर्न सक्दैनौ । यस सम्बन्धमा हामी कर्मचारीहरुका निश्चित सिमारेखाहरु छन् ती सिमाभित्र रहेर हामीले काम गर्नुपर्ने हुन्छ। आफूले कर्तव्य निर्वाह गर्दै अधिकार खोज्नु पक्कै स्वभाविक कुरा हो तर आफ्नो कर्तव्य पुरा नगरी कुनै पनि कर्मचारीले अधिकार खोज्छ जस्तो मलाई लाग्दैन किनकी निश्चित नियम कानुन मर्यादानगरको परिधिभित्र रहेर काम गर्नुपर्ने हुन्छ कानुनले तोके भन्दा माथि गएर कसैले खोजे पनि अधिकार पाउँदैन र कानुनले दिएको कुरा कसैले रोक्न र खोस्न पनि सक्दैन ।

नगरपालिका आफैमा स्थायी सरकार हुँदाहुँदै पनि विकास वजेटको लागि केन्द्र र प्रदेश सरकारमा आफैपनि निर्भर रहुनपर्ने कारण के होला ?
नगरपालिकामा बजेटको दुई वटा श्रोतहरु हुन्छन एउटा स्थानीय तहको आन्तरिक श्रोत अर्को सङ्घीय सरकार र प्रदेश सरकारबाट आउने राजश्व बाँडफाँट र अनुदानको रकम। नेपालको संघीयता र संविधानको मर्म अनुरुप शासनका तहहरुले आ-आफ्नो अधिकारको प्रयोग गर्दा सहकारीता, समन्वय र सहअस्तित्वको मान्यताअनुरुप पारस्परिक सहयोग, सझेदारी र सहकार्यलाई केन्द्रबिन्दुमा राखिनुपर्दछ । जुन स्थानीय तहको आन्तरिक श्रोत कम रहेको छ त्यो स्थानीय तह विकास बजेटको लागि केन्द्र र प्रदेश सरकारमा निर्भर रहुनपर्ने संघियताको मक्सत पनि हो र कतिपय हदसम्म बाध्यात्मक अवस्था पनि हो ।

जनप्रतिनिधिहरुमा विकास प्रतिको आकर्षण चाहाना कस्तो पाउनु भयो ?
जननिर्वाचित प्रतिनिधिहरु भएपछि आफ्नो स्थानीय विकास प्रतिको चासो हुनुनै पर्दछ र यहाँबाट सम्पादित हुने शिक्षा, स्वास्थ्य, कृषि, योजना, पर्यटन लगायत हरेको क्षेत्रमा यहाँका जनप्रतिनिधिहरुले एकदमै उत्साहजन तरिकाले भूमिकास्थान नगरपालिकालाई एउटा नमुना नगरपालिका बनाउने हो भन्ने तर्फ ध्यान दिनुभएको छ । केवल जनप्रतिनिधिमात्र त्यसको लागि नभएर सबै सरोकारवालाहरु आफ्नो-आफ्नो स्थानबाट जिम्मेवार र प्रतिवद्ध हुनुपर्दछ जस्तै उपभोक्ता समिति, स्थानीय जनताहरु, मिडियाकर्मी, राष्ट्रसेवक कर्मचारीहरु सबै प्रतिबद्ध भयौँ भने अवश्य सफल भईन्छ ।

निर्माणलाई बढी प्राथमिकता दिईएको गुनासाहरु आइरहेका छन् किन ?
यो जायज र राम्रो प्रश्न हो । निर्माण भन्नाले पक्कै पनि पुर्वाधार सडक निर्माणको कुरा गर्नुभएको होला । एकदमै, कुनै पनि विकासको सुरुवात गर्नको लागि निर्माणनै पहिलो आवश्यकता हो । हामी कृषिलाई प्राथमिकता दिने त भन्छौँ तर कृषिबाट उत्पादित वस्तु बजारीकरण गर्नको लागि त्यसलाई बजार सम्म लैजानको लागि पनि सडक नभई हुँदैन ।

बिरामी मानीसलाई अस्पतालसम्म लैजानको लागि पनि सडक अत्यावश्यक कुरा हो। अरु क्षेत्रलाई विकासतर्फ डोर्याउनका लागि सडक आधारस्तम्भ हो । त्यसमा पनि भूमिकास्थान नगरपालिका पुर्वाधारको हिसाबले कमजोर रहेको अवस्था पनि हो । तुलनात्मक हिसाबले निर्माणमा बजेट बढी देखिएतापनि हामी कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायत सबै क्षेत्रलाई सन्तुलित ढङ्गले अँगाडि बढाउन पहल गरिरहेका छौँ ।

अन्त्यमा अहिलेको भुमिकास्थान नगरपालिका र तपाई यहाँबाट जाँदा सम्मको भुमिकास्थान कस्तो हुन्छ ?
पक्कैपनि एउटा स्थानीय तहलाई कतातर्फ मोड्ने भन्ने कुरा एउटै व्यक्तिले मात्र गर्न सक्छ जस्तो मलाई लाग्दैन । त्यसमा हामी सबै सरोकारवालाहरुको आ-आफ्नो स्थानमा महत्वपूर्ण भूमिका हुन्छ। तर जतिपनि समय मलाई यहाँ काम गर्ने अवसर मिल्छ त्यो समय पूर्ण रुपमा यस स्थानीय तहलाई समृद्ध बनाउनको लागि नै हुनेछ । Bench Mark Development, Bench Mark Education, Bench Mark Health, Bench Mark Agricultural, Bench Mark Employment, Bench Mark Tourism, र अब्बल भूमिकास्थान अबको मेरो सपना हो ।