लक्ष्मणघाट सामुदायिक वनको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

१४ आश्विन २०७९, शुक्रबार
306 shares

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाट सामुदायिक वन उपभोक्ता समूहको २४ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरउपप्रमुख रीता चौधरीले सरकारले जनतालाई सामुदायिक वनको चौकीदार भएको र वनमा रहेका जडीबुटीको पहिचान गरी सही सदुपयोग गर्नुपर्ने बताइन् । सामुदायिक बनलाई सुन्दरीकरण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।

२६.२८ हेक्टरमा फैलिएको सामुदायिक वनमा ३४७ घरधुरी रहेका छन् । कार्यक्रममा वनका कोषाध्यक्ष रामचन्द्र मरासिनीले अनुमानित २७ लाख ८१ हजारको बजेट प्रस्तुत गरेका थिए । वनको कूल कारोबार ८ लाख ८४ हजार ८९५ रुपैँया बराबरको आयब्याय सार्वजनिक गरेका थिए ।

कार्यक्रममा वनका अध्यक्ष खडगबहादुर थापाको अध्यक्षता, जिल्ला वन महासंघका अध्यक्ष हुमनाथ भट्टराईको प्रमुख आतिथ्यता, वडा नं. ६ का वडा सदस्यहरू यमबहादुर प्युठानी, पशुपतिया थारू, तारा दुतराज, मोतिपुर सव डिभिजनका प्रमुख विष्णु थारू, लक्ष्मणघाट टोल विकास संस्थाका अध्यक्ष झङ्केश्वर खनालको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै, कार्यक्रममा बोल्ने वक्ताहरूले आ–आफ्ना भनाइसहित सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बाणगंगा खानेपानी, टोल विकास समितिका पदाधिकारी, बोलबमधामका पदाधिकारी स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपाध्यक्ष माधव खनालको स्वागत र सचिव अपिला भुसाल (टण्डन) को सञ्चालनमा सम्पन्न भएको थियो ।