अनुगमन टोलिले भैरहवाका मासु पसललाई गरायो सचेत

मेचीकाली संवाददाता

१४ आश्विन २०७९, शुक्रबार
363 shares

तुलसीराम पौडेल
रुपन्देही ,असोज १४

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थनगर नगरपालिका तथा अन्य सरोकारवालाको सहभागितामा असोज १४ गते बिहान अनुगमन गरिएको हो!

उक्त अनुगमनमा भैरहवाका गल्लामण्डी, कान्छी बजार, परासी रोड, देवकोटा चोक, बुद्ध चोक, लुम्बिनी रोड, आवा रोड लगायतका बजार क्षेत्रका मासु पसलहरुमा अनुगमन गरिएको थियो! बजारका मासु पसलहरुमा अत्यन्त फोहोरमैला रहेको, दर्ता तथा नविकरण नगरिएको, एउटै साधनले खसी र कुखुरा काट्ने गरिएको, माछा पसल भनी दर्ता गरी कुखुराको मासु समेत बेच्ने गरेको जस्ता समस्याहरू देखिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए!

उपभोक्ता अधिकार हनन हुने गरी गरिएका अब्यसायिक गतिबिधी गर्ने केही उद्योगी व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयमा बयानका लागि बोलाइएको र कानून बमोजिम आवश्यक कारवाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए!

चाडपर्व लक्षित नियमित बजार अनुगमनलाई प्राथमिकता दिंदै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका कार्यालय प्रमुख लक्ष्मी शर्माले उपभोक्ता हित बिपरितका गतिविधि गर्ने जुनसुकै व्यावसायिक संस्थालाई स्थलगत रुपमै कारवाहीको दायरामा ल्याइने बताइन् ! सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रुपन्देहीमा बहाल भएकै दिन देखि बजार अनुगमनमा खटिएका रामचन्द्र अर्यालको सकृयताका कारण नियमित अनुगमन गर्दै आएका घरेलु तथा साना उद्योग कार्यालय तथा बाणिज्य कार्यालयलाई थप उर्जा मिलेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत उपसचिव राम प्रसाद ज्ञवालीले बताएका छन् । उनले भने ” पहिले प्रवर्द्धनात्मक रुपमा गरिदै आएको बजार अनुगमन अब भने दण्डात्मक पनि हुन थालेपछि बजार स्वच्छतामा सुधार आउन थालेको छ । ब्यबसायीहरु थप सचेत भएका छन् भने उपभोक्ता सचेतनामा पनि बढोत्तरी भएको छ ।”

उपभोक्ता बजारका राजा हुन् ! नेपालको बर्तमान संबिधानको धारा ३६ मा नागरिकका मौलिक हकको रुपमा खाद्य सम्बन्धी हक र धारा ४४ मा उपभोक्ताको हक रहेको र कुनै पनि नागरिकले खाद्य असुरक्षाका कारण आफ्नो जीवन जोखिममा पार्न नपर्ने ब्यबस्थाको सुनिश्चितताको लागि बजार अनुगमनलाई नियमित बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए! उनले भने ” घरेलु तथा साना उद्योग कार्यालयले नियमित रुपमा गर्दै आएको अनुगमनलाई हामी दशै पछि पनि निरन्तरता दिनेछौं । बजार अनुगमनको कार्यलाई प्राथमिकतामा राखेकोमा घरेलु तथा साना उद्योग कार्यालय र बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई धन्यवाद दिन चाहन्छु! नागरिकमैत्री जनमुखी कार्यमा निरन्तरता दिने कदमलाई सधै साथ रहनेछ ।”

बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण कार्यालका प्रमुख लक्ष्मी शर्माले रुपन्देहीका ठुला बजार क्षेत्र बुटवल भैरहवा लगायतमा कपडा तथा अन्य फेन्सी आइटमहरुमा चर्को मुल्य लिने गरिएको भन्ने गुनासो बढेकोले दशै पछि त्यस्ता उद्योगको पनि अनुगमन गरिने, पेट्रोलियम पदार्थ, होटल रेस्टुरेन्ट, निर्माण सामाग्री तथा अन्य सेवा उद्योगहरुको पनि अनुगमन गरी बजार स्वच्छतालाई प्रवर्द्धन गरिने बताइन् ।