![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2022/10/rrrr.jpg)
बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा जरिबाना गरेको र उक्त जरिबानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो। अदालतले बैंकिङ कसुरमा जरिबाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको आयोगले जानकारी दिएको छ।
गुरुङ आफैँ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै अदालतमा २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो। अदालतले गुरुङसहित एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले वेष्ट प्रोजेक्ट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै उनीहरूमाथि जरिबाना गर्ने फैसला गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालिका अध्यक्ष गुरुङसहित, निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोलसमेतलाई विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही दुई हजार रुपैयाँ जरिबानासहित मागदाबी अनुसारको बिगो तिराउने फैसला गरेको थियो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले गुरुङको उम्मेदवारी खारेज भएको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
गुरुङको उम्मेदवारी खारेज भएसँगै रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन उम्मेदवारबिहीन हुने भएको छ। यहाँ नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन्।
नेता पौडेलले २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देही २ बाट चुवाव जित्दै आएका छन्। निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालो सूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ।