बजार अनुगमन गर्दै उपभोक्ता तथा ब्यबसायीलाई सचेत गराउदै घरेलु कार्यालय

मेचीकाली संवाददाता

२७ आश्विन २०७९, बिहीबार
310 shares


तुलसीराम पौडेल
रुपन्देही ,असोज २७

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले बिहिवार कन्चन गाउपालिकाका विभिन्न बजार क्षेत्रका उद्योग तथा बाणिज्य क्षेत्रको अनुगमन गर्दै ब्यबसायी तथा उपभोक्तालाई लक्षित गरी बस्तु तथा सेवाको गुणस्तर तथा उपभोक्ता अधिकार र कर्तब्य सम्बन्धी कार्यशाला संचालन गरेको छ । कन्चन गाउपालिकाको लौसा, बेलभरिया, शान्तिनगर, गजेडी तथा सैनामैनाका बजार क्षेत्रहरु बाँसगढी, बुद्धनगर, मुर्गिया लगायतका बजारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कन्चन गाउँपालिकाका बजार क्षेत्रमा उद्योग ब्यबसाय दर्ता तथा नवीकरण नगरिएको, मुल्यसुची नराखिएको, खरिद तथा बिक्री बिल बिजक जारी गर्ने नगरिएको, एउटै सटरमा इलेक्ट्रोनिक्स र भेटेरिनरी आइटम बिक्री गर्ने गरिएको जस्ता समस्या भेटिएकाले ब्यबसायीलाई सचेत गराइएको अनुगमन टोलीका एक सदस्य बाबुराम ज्ञवालीले बताए। ब्यबसायीले म्याद गुज्रेका बस्तुहरु बिक्री गर्ने गरेको समेत पाइएकाले सचेत गराइएको छ ।

ब्यबसायिक मुल्यमान्यता, उपभोक्ता सचेतना समेतको कमी रहेको पाइएकाले ब्यबसायी र उपभोक्तालाई सचेतिकरण र सक्षेमिकरण गर्ने उद्देश्यले कन्चन गाउँपालिका वडा नम्बर २ स्थित सुकेतालमा करिब ८० जनाको संख्यामा उद्योगी, ब्यबसायी र उपभोक्ताको उपस्थितिमा गुणस्तरीय बस्तु सेवा तथा उपभोक्ता हकहितका बिषयमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख उपसचिव राम प्रसाद ज्ञवालीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा लेखा अधिकृत बाबुराम ज्ञवालीले गुणस्तरीय बस्तु तथा सेवा सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए! उद्यम बिकास सहजकर्ता अनन्त पन्थीले संचालन गरेको उक्त कार्यक्रममा कार्यालय प्रमुख राम प्रसाद ज्ञवालीले उपभोक्ता हकहित तथा अधिकार र कर्तब्यका बारेमा प्रस्तुतीकरण गरेका थिए! ज्ञवालीले जान अन्जान हुने आर्थिक अपराधहरु जस्तै सिण्डिकेट, कार्टेलिङ, एकाधिकार, कालोबजारी जस्ता उपभोक्ता अधिकार बिरुद्धका कार्यमा उद्योगी ब्यबसायीहरु संलग्न नहुनका लागि ब्यबसायिक चेतनाको आवश्यकता रहेको बताए । उपभोक्ता अधिकार मानव अधिकारकै एक अभिन्न अंग भएकाले त्यस्तो अधिकारको संरक्षण, सम्बर्द्धन गर्नु सबैको कर्तब्य भएको बताउदै आफ्नो प्रस्तुतीकरणमा ब्यबसायी र उपभोक्ताका कर्तब्य समेतको प्रकाश पारेका थिए! बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षणका कार्यमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले विशेष सक्रियता देखाउदै आएको छ ।