युवाको रोजाइँमा पुष्प व्यवसाय

मेचीकाली संवाददाता

६ कार्तिक २०७९, आईतवार
730 shares

रमेश पराजुली
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगनगरमा क्षितिज नमूना कृषक समूहले व्यावसायिक रुपमा फूलखेती सुरू गरेको ४ वर्ष भयो । उनीहरूको पुष्प बगैचामा अहिले ढकमक्क मखमली र गोदावरी फूल फुलेका छन् । तिहार नजिकिएसँगै सयपत्री फूलको माग पनि बढ्न थालेको छ । समूहमा आबद्ध कृषकलाई नजिकिएको तिहारका लागि फूलेको फूल टिप्न भ्याइनभ्याइ छ ।

समूहले यस वर्ष १४ कठ्ठा जग्गा भाडामा लिएर फूलखेती गरेपनि करिब दुई कठ्ठामा रहेको फूल डुबानले नोक्सान भएको समूहकी अध्यक्ष नविना भण्डारीले बताइन् । बेमौसमी वर्षा र यसवर्ष तिहार अलि छिटो परेकाले धेरैजसो बोटमा भर्खर मात्र फूल फुल्न थालेको उनले बताइन् । ‘बोटमा कोपिला लागेका छन् तर, फूल तयार हुन कम्तीमा दुई हप्ता कुर्नुपर्छ । फूल राम्ररी फक्रिन नपाउँदै फूल र मालाको माग बढेको छ’ उनले भनिन । तर, तिहारसम्म मुस्किलले ५० प्रतिशत मात्र फूल फुल्ने देखिएको छ । अहिले समूहमा ११ जना कृषक आबद्ध छन् ।

अहिले एउटा माला फूलको साइजअनुसार १३० देखि १५० रुपैयाँसम्म बिक्री हुने गरेको छ । मालाको डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ । भारतबाट फूलमाला आयात हुँदा यहाँका किसानले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताइन् । ‘गुणस्तरीय फूल उत्पादन गरेर के गर्नु,’ उनले भनिन्, ‘भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न सकिदैन ।’

बजारमा सस्तोमा फूल र माला दिनुपर्दा लागत समेत नउठ्ने उनले बताइन् । नगरपालिकाले कृषि औजार उपलब्ध गराएपनि समयमा आबश्यक मल, बीउ नपाएको अध्यक्ष भण्डारीको गुनासो छ । रुपन्देहीको बुटवल, तिलोत्तमा, रोहणी, देवदह, सैनामैना, लुम्बिनी, भैरहवा लगायतका क्षेत्रमा तिहार लक्षित सयपत्री र मखमली फूलको खेती गरिँदै आएको छ ।
जिल्लाको देवदह नगरपालिका–५ का पवन तिवारीले गत वर्षबाट व्यावसायिक फूलखेती सुरू गरेका हुन् । २३ वर्षीय युवा तिवारीले आफू देवदहमा पहिलो पुष्प व्यवसायी भएको दावी गर्छन् । अल्फा एग्रो फर्म एण्ड रिसर्च सेन्टर दर्ता गरेर पहिलो वर्ष ५ कठ्ठामा फूलखेती गरेका उनले यसवर्ष करिब ९ कठ्ठामा फूलखेती गरेको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट कृषिमा स्नातक उर्तिण गरेका उनले पढाइसँगै फूलखेती सुरू गरेका हुन् । अहिले उनलाई काममा परिवारका अन्य सदस्यले सघाउँदै आएका छन् । पहिलो वर्ष एक लाख रुपैयाँबाट फूलखेती सुरु गरेका तिवारीले लगानी बढाउँदै गएका छन् । सरकारबाट सहयोगको अपेक्षा गरेको भएपनि कतैबाट केही सहयोग नपाएको उनको गुनासो छ । ‘देशभित्रै केही गर्ने सोँचका साथ कृषीमा लागेका यूवाहरुलाई सरकाले सहयोग र प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने हो तर, सरकारले नै युवालाई निराश बनाउने काम गरेको छ’ उनले भने ।

अहिले एउटा मालाको मूल्य फूलको साइजअनुसार सय रुपैयाँदेखि १६० रुपैयाँ र एक किलो फूलको मूल्य ६ सय रुपैयाँ कायम गरिएको छ । ‘उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन् । स्थानीय बजारमै बिक्री हुन्छ । पहिलो वर्षको उत्पादनबाट सन्तुष्ट भएर नै यो वर्ष फूलखेती बिस्तार गरेको हुँ ।’ तिवारीले भने ।

पाल्पाको रामपुर नगरपालिका–४ का दिलबहादुर थापा मगरले व्यवसायिक फूल खेती सुरु गरेको ४ वर्ष भयो । लामो समय वैदेशिक रोजगारीमा बिताएका मगरले यो वर्ष करिब ४ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । पछिल्लो समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला मगरले सुरू गरेको फूलखेतीले छोटो समयमा धेरै चर्चा बटुलेको छ । उनको फूलखेती देखेर नै गाउँका अरु कृषकले पनि फूलखेती गर्न थालेका छन् ।
तिहार नजिकिएसँगै फूल खरिद, फूलको बगैँचा हेर्न, फोटो/भिडियो खिच्न र टिकटक बनाउन टाढाटाढाबाट आउने युवायुवतीको संख्या दैनिक बढ्दै गएको उनले सुनाए । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएपछि व्यवसायमा धेरै सहज भएको उनले बताए ।

अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यवसायिक फूल खेती हुन थालेको छ’ मगरले भने । अहिले एउटा मालाको मूल्य १५० रुैपैयाँ र एक किलो फूलको मूल्य ५ सय रुपैयाँ कायम गरिएको छ । गत वर्ष बुटवल, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा फूल बिक्री गरेका उनले यो वर्ष भने स्थानीय बजारमै फूल बिक्री गर्ने योजना बनाएका छन् ।
‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल स्थानीय बजारमै खपत गर्ने योजना छ,’ उनले भने । प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने मगरको भनाइ छ ।

उता, दाङको घोराही उपमहानगरपालिका–१४ का लोकेन्द्र रोका फूलखेती गर्ने पुराना किसान हुन् । जलजना पुष्पखेती तथा नर्सरी दर्ता गरेर उनले विगत १० वर्षदेखि व्यावसायीक रुपमा फूल खेती गर्दै आएका छन् । दशैंको समयमा परेको बेमौसमी वर्षाले फूलखेतीमा क्षती गरेको उनले बताए ।
उनले उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल दाङमै खपत हुने गरेको छ । तर, यसवर्ष असोजमा पानि परेका कारण फूल समयमै फुल्न सकेन । फूल बिक्रीबाट ६ लाख आम्दानी गरेका रोकाको यसवर्ष १० लाख आम्दानी गर्ने लक्ष्य छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताए ।

अहिले नेपालभर फूलको खेती र उपयोग बढेको छ । फूलको प्रयोग बढी हुने तिहार आएको छ । तिहार नजिकिएसँगै बजारमा फूलको व्यापार पनि बढ्दै गएको व्यवसायीहरु बताउँछन् । स्वागत सत्कारमा मात्रै नभएर मन्दिर र देवी देवतालाई चढाउन फूल नैं चाहिन्छ । नेपालमा करिब ६ सय किसिमका फूल पाइने भएपनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । दाजुभाइ र दिदीबहिनीका बीचमा भाइटीका पछि समृद्धिको प्रतिक सयपत्री अनि मखमलीको माला अनिवार्य मानिन्छ । मखमली र सयपत्री फूल नेपालीको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । यसमा पनि मखमली फूलले तिहारमा विशेष महत्व राख्छ ।

लुम्बिनी प्रदेशमा फूलखेतिका लागी हावापानी उत्कृष्ट छ । प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ । अहिले युवाहरू पुष्प व्यवसायप्रति आकर्षित छन् । फूलको आयात रोक्न युवाहरु लागेका छन् । भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै माला आउँछ । दसैंपछि तिहार सुरु भएसँगै फूलले बजार पाउन थालेको छ । चाडपर्वसँगै पछिल्लो समय बिभिन्न औपचारिक कार्यक्रममा समेत फूलमालाको माग बढ्दै गएको छ । फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेले लुम्बिनी प्रदेशमा करिब ७० विगाह क्षेत्रफलमा फूलखेती गरिएको जानकारी दिए । फूल खेतीमा लुम्बिनी प्रदेश नेपालमै अगाडि रहेको अध्यक्ष पाण्डेले बताए । यहाँका धेरै किसानले तिहार लक्षित फूलखेती गर्दा अन्य सिजनमा फूल अभाव हुने उनले बताए ।

‘फूलखेतीमा कृषक सक्रिय छन् तर, सरकार मौन बस्दा समस्या भएको छ । कृषकले समयमा मल, बिउ तालीम र आबश्यक औजार नपाउँदा पछिल्लो समय निराश हुनेअबस्था आएको छ ।’ उनले भने ‘यसप्रति सरकार बेलैमा गम्भीर हुन जरुरी छ ।’ सरकार, कृषि ज्ञान केन्द्र, स्थानीय तहले कृषकका समस्या समाधानमा ध्यान दिनुपर्ने फूल खेती गर्ने व्यवसायीको माग छ । उनीहरु आफ्नै ज्ञानले नै खेती गर्दै आएका छन् । प्राविधिक ज्ञानको अभावले पनि सही ढंगले खेती गर्न नसकिएको कृषकहरुको भनाइ छ । पहाडी जिल्लामा पनि व्यवसायिक फूल खेती गरेर स्वरोजगार बनाउन सके फूलमा आत्मनिर्भर हुन सहयोग पुग्नेछ ।

पछिल्लो समय स्वदेशमा आफ्ना खेतबारी बाँझै राखेर विदेशीने युवायुवतीको संख्या ठूलो छ । बाँझो जग्गामा ९० दिनमा तयार हुने फूलखेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिनेछ । यदि त्यसो हुन सकेको खण्डमा विदेशबाट हुने फूल आयात घट्नेछ । अर्कोतर्फ स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुनेछन् र मुलुकको आर्थिक अवस्था बलियो हुनेछ ।