लुम्बिनीः औपचारिकताबाट अनुभवतर्फको यात्रा

मेचीकाली संवाददाता

१८ बैशाख २०८३, शुक्रबार
67 shares

प्रकृति पोख्रेल

आज बुद्ध जयन्ती शान्ति, करुणा र जागरणको सन्देश बोकेको एक महत्वपूर्ण दिन। यस अवसरमा हाम्रो लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि के–कस्ता सुविधाहरू उपलब्ध छन् भन्ने जिज्ञासा स्वाभाविक रूपमा उठ्छ। के बुद्ध पूर्णिमाको दिन रामग्राम, देवदह लगायतका स्थानहरूबाट लुम्बिनीसम्म निःशुल्क सटल बसको व्यवस्था गरिएको छरु के तिलौराकोटदेखि लुम्बिनीसम्म यात्रुहरूलाई सहज पहुँच दिन विशेष सेवा सञ्चालनमा ल्याइएको छरु साथै, त्यहाँ आउने प्रत्येक पर्यटकका लागि केही नयाँ, अर्थपूर्ण र अनुभवात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका छन् कि छैनन् ?

प्रकृति पोख्रेल

हरेक वर्षझैँ यसपालि पनि बुद्ध जयन्ती मनाइँदैछ। तर के कार्यक्रमहरू फेरि पनि केवल मेडिटेसन हलभित्र सीमित हुने हुन्, वा यसपटक समुदायसँग जोडिने, बौद्ध शिक्षालाई व्यवहारमा उतार्ने खालका सिर्जनात्मक कार्यक्रमहरू देख्न पाइने छन् ?

लुम्बिनी प्रदेश, नाममै लुम्बिनी बोकेको यो प्रदेशमा १२ वटा जिल्लाहरू छन्। तर प्रश्न उठ्छ, के हामी अझै पनि नाममै मात्र सीमित छौँरु के हामी अझै पनि बुटवल र भैरहवा जस्ता सहरहरूमा समेत बुद्ध जयन्तीको नाममा कुनै भव्य, अर्थपूर्ण र सांस्कृतिक कार्यक्रमहरू गर्न नसक्ने अवस्थामा छौँ ? यदि यी दुई प्रमुख सहरमै हामीले बुद्धको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेका छैनौँ भने, १२ वटै जिल्लासम्म पुग्ने कुरा त झन् टाढाको सपना जस्तो लाग्छ। यो वास्तवमै दुःखद र सोचनीय कुरा हो।

यदि कसैले हामीलाई बुद्धले दिएको शिक्षा, विशेषतः पञ्चशीलबारे सोध्यो भने, के हामी स्पष्ट र आत्मविश्वासका साथ उत्तर दिन सक्छौँरु लुम्बिनी केवल नेपालका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि शान्ति र चेतनाको केन्द्र हो। यहाँ बस्ने हरेक व्यक्तिले कम्तीमा पनि बुद्धका शिक्षाहरू बुझ्ने, आत्मसात गर्ने र अरूलाई सुनाउन सक्ने जिम्मेवारी लिनुपर्ने देखिन्छ।
अझ नेपालको परराष्ट्र नीतिमा समेत बौद्ध दर्शनका आधारभूत सिद्धान्तहरू, विशेषतः पञ्चशील, लाई स्थान दिइएको पाइन्छ। त्यसैले बुद्ध जयन्ती केवल एक औपचारिक उत्सव नभई, आत्मचिन्तन, अभ्यास र चेतनाको अवसर बन्नुपर्छ।

यही सन्दर्भमा, केही व्यवहारिक समाधानतर्फ पनि हामीले सोच्न जरुरी छ। मैले भारतको कोलकातामा एक ऐतिहासिक स्थलमा साँझको समयमा “sound and light show” हेर्ने अवसर पाएको थिएँ। त्यहाँ इतिहासलाई 3D दृश्य, ध्वनि र कथाको माध्यमबाट प्रस्तुत गरिएको थियो। मानिसहरूले टिकट किनेर उत्साहका साथ हेर्थे, र साँझको समयमा पनि राम्रै भीड हुन्थ्यो। यसले एउटा कुरा स्पष्ट देखाउँछ, यदि प्रस्तुति आकर्षक र अर्थपूर्ण भयो भने, मानिसहरू समय निकालेर हेर्न आउँछन्।

यस्तै खालको कार्यक्रम लुम्बिनीमा, विशेषगरी मायादेवी मन्दिर वरपर वा पोखरी क्षेत्र नजिक सञ्चालन गर्न सकियो भने, यसले ठूलो प्रभाव पार्न सक्छ। बुद्धको जीवन, उनको ज्ञान प्राप्तिको यात्रा, र उनका शिक्षाहरूलाई ध्वनि, प्रकाश र दृश्यको माध्यमबाट प्रस्तुत गर्दा, त्यो केवल हेर्ने कार्यक्रम मात्र नभई अनुभव बन्न सक्छ।

यससँगै, हप्तामा एकपटक साँझको समयमा छोटो ध्यान तथा साधना कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ। लामो विपश्यना कार्यक्रम सबैका लागि सम्भव नहुन सक्छ, तर अनापान जस्तो सासमा केन्द्रित ध्यान अभ्यास सिकाउने सत्रहरू धेरै उपयोगी हुन सक्छन्। आजको समयमा मानिसहरू मानसिक तनाव र दबाबसँग जुधिरहेका छन्, र यस्तो अभ्यासले उनीहरूलाई केही हदसम्म शान्ति र सन्तुलन दिन सक्छ।

यसमा पञ्चशीललाई पनि सरल र व्यवहारिक तरिकाले जोड्न सकिन्छ, किताबमा मात्र होइन, दैनिक जीवनमा कसरी लागू गर्ने भन्ने हिसाबले। यसले मानिसहरूलाई बौद्ध दर्शनसँग नजिक ल्याउन मद्दत गर्छ।
अर्कोतर्फ, यस्ता कार्यक्रमहरूमा विद्यालय र विश्वविद्यालयहरूलाई सक्रिय रूपमा जोड्न सकिन्छ। उनीहरूले आफ्ना विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको रूपमा लुम्बिनी ल्याउन सक्छन्। समूहगत रूपमा आएर यस्तो रात्रीकालिन कार्यक्रम हेर्दा, विद्यार्थीहरूले रमाइलोसँगै सिक्ने अवसर पाउँछन्। आजको पुस्ता दृश्य र प्रविधिमैत्री माध्यमबाट छिटो सिक्छ, त्यसैले यस्ता कार्यक्रमहरू उनीहरूका लागि अझ प्रभावकारी हुन्छन्।

विद्यार्थीहरूले तिरेको शुल्क सिधै लुम्बिनी विकास कोषमा जाने व्यवस्था गर्न सकिन्छ। यसले एकातर्फ कार्यक्रम सञ्चालनलाई सहयोग पुर्याउँछ भने अर्कोतर्फ लुम्बिनीको दीर्घकालीन विकासमा पनि योगदान दिन्छ। यसरी शिक्षा, पर्यटन र विकास, तीनै पक्षलाई जोड्न सकिन्छ।
आर्थिक स्रोतको हिसाबले पनि, सरकार, स्वदेशी दाताहरू र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउन सकिन्छ। लुम्बिनी जस्तो विश्वस्तरको स्थलले यस्तो सहयोग आकर्षित गर्ने क्षमता राख्छ। साथै, कार्यक्रमबाट आएको आम्दानीलाई फेरि लुम्बिनीमै लगानी गर्दा, यो प्रक्रिया अझ दिगो बन्न सक्छ।
यस्ता प्रयासहरूले लुम्बिनीको प्रचारप्रसारमा पनि सहयोग पुर्याउँछन्। जब मानिसहरूले राम्रो अनुभव गर्छन्, उनीहरूले अरूलाई पनि बताउँछन्। यसरी लुम्बिनीको कथा अझ धेरै मानिससम्म पुग्न सक्छ।

अन्त्यमा, हामीले सबै कुरालाई सकारात्मक रूपमा हेर्न आवश्यक छ। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। आज हामीले देखेको सपना भोलि यथार्थ बन्न सक्छ, यदि हामीसँग सही सोच र सहकार्य छ भने। लुम्बिनी केवल बुद्ध जन्मिएको स्थान मात्र होइन, यसलाई जोगाउने र सही रूपमा प्रस्तुत गर्ने जिम्मेवारी पनि हाम्रो हो। तिलौराकोट, देवदह र रामग्राम जस्ता ऐतिहासिक स्थलहरूलाई पनि हामीले समान रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्छ। विश्वलाई स्पष्ट रूपमा भन्न सक्नुपर्छ बुद्ध नेपालमा जन्मिएका हुन्, र उनका शिक्षाहरू मानव कल्याणका लागि अत्यन्त महत्वपूर्ण छन्। यदि हामीले यसलाई सही तरिकाले प्रस्तुत गर्न सक्यौँ भने, यसले केवल नेपाललाई होइन, सम्पूर्ण विश्वलाई नै फाइदा पुर्याउनेछ।

(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातकोत्तर तह अन्तरगतको अन्तरराष्ट्रिय सम्बन्ध तथा शान्ति अध्ययन कार्यक्रमको प्रथम सेमेष्टरमा अध्ययनरत छात्रा हुन् ।)