म बुद्धमा बुबा किन नदेखौँ

मेचीकाली संवाददाता

१८ बैशाख २०८३, शुक्रबार
401 shares

कमल सिलवाल

शान्त आँखा, गहिरो मुस्कान,
करुणाको सागर झल्किएको
बुद्धको अनुहार यस्तो लाग्छ
म बुद्धमा किन बुबाको छायाँ नदेखौँ ?
जसरी बुबाले सिकाए
पहिलो पाइला चाल्न,
त्यसरी नै बुद्धले देखाए
जीवनको मध्यम मार्ग हिड्न
बुबाको हातले थाम्यो
डगमगाउँदा मेरो बाल्यकाल,
बुद्धका वचनले सम्हाल्यो
डगमगाउँदा मनको ज्वाला।
त्यागको कथा सुनाउँछन्
दुवैले आफ्नै भाषामा
एकले घरभित्र बसेर,
अर्काले सुखसयाल छोडेर।
बुबाको पसिनामा देखिन्छ
माया, कर्तव्य र जिम्मेवारी,
बुद्धको ध्यानमा भेटिन्छ
शान्ति, मुक्ति र समता भारी।
दुवैले सिकाए मौनमा पनि
कति धेरै कुरा बोलिन्छ,
दुवैले देखाए पीडामा पनि
कसरी सहनशीलता पोखिन्छ।
आज बुद्धको दिनमा
आफैँलाई सोधेँ
म बुद्धमा बुबा किन नदेखौँ
म बुबामा बुद्ध किन नखोजौँ ?
किनकि प्रेम एउटै हो,
रूप मात्र त फरक हो नि
बुबा हुन् घरका बुद्ध,
बुद्ध हुन् संसारका बुबा।