युवा दिवस र नेपालको अवस्था

मेचीकाली संवाददाता

२६ श्रावण २०८०, शुक्रबार
589 shares

मुकुन्द ज्ञवाली

विश्वका युवाहरुको वर्तमान र भविष्यसंग सम्बन्धित विषयहरुलाई झकझकाउने उद्देश्यका साथ हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९९९ मा पारीत गरेपछि पहिलो अन्तर्राष्ट्रिय युवा दिवस १२ अगस्ट २००० मा मनाइएको थियो र त्यसपछि नियमित रुपमा मनाउदै आइएको छ । आफ्नो भविष्यसमेत सुरक्षित र सुनिश्चितता नदेखेर आफ्नो शैक्षिक यात्रालाई समेत बिचमै रोकेर वैदेशिक रोजगार तथा शैक्षिक यात्रा नेपाली युवाहरुको लागी दैनिकी बनिरहेको अवस्थामा पुन: यस वर्ष पनि हामी यही अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै छौँ ।

युवाहरुको लागी हरित सीप: दिगो विश्व निर्माणतर्फ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नाराले त नेपाली युवालाई सायदै छुन सकेको होला । त्यसैले त हाम्रो नेपाली नारा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ नवप्रवद्र्धन र उद्यमशिलतामा हरित सिप विकास’ भन्ने तय गरिएको होला । हरित सीपको त कुरै छोडौँ आधारभूत प्राविधि सीपबिना नै खाडीका देशहरुमा पुगेर श्रम र रगत बेचेर पनि आफ्नो जीवनमा खासै परिवर्तन ल्याउन नसकेका धेरै छौं ।

त्यसैमा पनि आप्रवासी रिटर्निजहरुको व्यथा र स्वदेशमै केही गर्छु भन्दै लागेकाहरुको पीडा झन ठूलो छ । एकल प्रयासमा व्यवसाय सुरु त गरेका तर बजार, सीप, पुँजी र प्रविधीको आभावले बैंकको व्याजसमेत तिर्न नसकिरहेका उद्यमीहरुको विवशताले हामी कहाँ छौँ बताइरहेको छ । सरकार योजना त ल्याउँछ तर न कार्यवन्यन गर्न सक्छ न लक्षित वर्गलाई यथोचित सम्बोधन गर्न सक्छ । अहिलेको गठबन्धन सरकारले त झन सत्ता कसरी टिकाउने, चारतिर फर्किएका सत्तासहयात्रीहरुलाई कसरी मिलाएर राख्ने भन्नेतर्फ नै ज्यादा ध्यान दिनुपरेको छ ।

वातावरणीय रूपमा दिगो र जलवायुमैत्री विश्वतर्फको परिवर्तन विश्वव्यापी जलवायु संकटको समाधानको लागि मात्र होइन कि दिगो विकास लक्ष्यहरू हासिल गर्न पनि महत्वपूर्ण छ । जलवायु परिवर्तन र वातावरणीय ह्रास लैङ्गिक, अन्तरपुस्ता, सामाजिक र आर्थिक न्यायका मुद्दा हुन् । आजका युवाहरूले सबैभन्दा लामो समयसम्म जलवायु संकटको बढ्दो गम्भीर प्रभावहरूसँग बाँच्नु पर्ने हुन्छ र उनीहरूको जीवन र भविष्यमा पर्ने प्रभावहरूको बारेमा बढी चिन्तित हुनु स्वभाभिक हो ।

आजको युवाहरु दिगो विश्व निर्माणमा लाग्नु पर्ने अवस्था आइरहेको यस वर्षको नाराले पनि प्रमाणित गर्न खोजीरहेको छ । तर दुर्भाग्य हामी नेपाली युवाहरुले न त जीवन उपयोगी सिप नै सिक्न सक्यौं, न त प्राविधिक तथा व्यवसायीक सीप नै लिन सक्यौं, नत जानेको सीपअनुसारको काम नै पाउन सकेको अवस्था छ । जसले हाम्रो भविष्य स्वदेशमै सुनिश्चित गर्न सकोस । ‘प्लस टू’ सम्मको अध्ययन पूरा गर्नासाथ विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै जाँदा अव स्वदेशी विश्वविद्यालयमा विद्यार्र्थी नै नपाउने चुनौती देखा पर्दैछ । भर्ना भएर अध्ययन गरीरहेका विद्यार्थीसमेत बिचमै बिदेशिने समस्याहरु देखिएका छन् । यसले युवाहरु न त वर्तमानसंग सन्तुष्ट छन्, न त भविष्यप्रति सुनिश्चित हुन सकिरहेका छन् । एकदमै अलमल र निराशाका बिचमा युवा पुस्ता रुमल्लिएको छ ।

हिजोको हिंसात्मक द्वन्द्व, चरम अभाव र बेरोजगारी, अस्वभाविक महँगी र कालाबजारी जस्ता कारणले गर्दा युवा पुस्तामा निराशा छ । यसैपनि ग्रामीण भेग खाली हुँदै गएको छ । कैयौं गाउँहरु भग्नावेशमा परिणत भैरहेका छन् । एकातिर ज्येष्ठ नागरिक मात्रै गाउँमा छन् भने अर्कोतिर जंगली जनावरका कारण खेतीपाती लाउनेहरु पनि मारमा छन् । घरभित्रै बाँदर पसेर अन्नपात खाइदिन्छ । अनेकौं समस्यामा जेलिएको छ गाउँ ।
सहर पनि सहर जस्तो छैन । उकुसमुकुस, अभाव, महँगी, संक्रामक रोग, बाढी, खडेरी, भोकमारी, बेरोजगारीका चरम समस्याले सहरबासीको पनि जीवन आक्रान्त छ । गाउँबाट सहरमा भविष्य देखेर आएकाहरु अभाव र पीडाले थलिएका छन् । बरु देशै छाडेर जानपाए हुन्थ्यो भन्ने उनीहरुलाई भइरहेको छ । सहरका शिक्षित बेरोजगार युवाहरुको भयाबह अवस्थाले वैदेशिक रोजगारीमा जानेको संख्या बढाएको छ ।
न गाउँमा सुख न सहरमा सुखको अवस्थामा रहेका कैयन् युवाहरु देशप्रति नै दिक्क मान्दै परदेश पस्ने गरेका छन् । यसले भोलिको देशको हालत के होला ? कता लैजाला हाम्रो मुलुकलाई ? यसतर्फ राज्यसञ्चालकहरुको बेलैमा ध्यान जान जरुरी छ । वार्षिक श्रम बजारमा प्रवेश गर्ने युवाहरु र बैदिशक रोजारबाट फर्किएका आप्रवासी रिटर्नीजहरु समेत गरी एकैसाथ ठूलो संख्यामा रोजगारीका अवसर सृजना गर्नुपर्ने बाध्यता सरकारसामु छ ।

हाल विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीको कारणले भैरहेका उधोग व्यवसायहरुले समेत आफ्नो पूर्ण क्षमतामा उत्पादन तथा बजारीकरण गर्न नसक्दा कामदारहरु कटौती गरीरहेका छन् । यस्तो अवस्थामा ज्यालामा आधारीत रोजगारीभन्दा पनि अब हामी युवाहरुलाई स्वरोजगार बनाउनको लागी नवप्रवद्र्धन र उद्यमशीलतामा युवाहरुलाई जोड्नै पर्दछ । सूचना प्रविधि तथा सेवा क्षेत्रमा युवाहरुलाई विशेष प्रशिक्षण गराई सेवा निर्यात गर्न सकिने अवसर हामीसंग रहेको छ ।
अनौपचारिक क्षेत्रमा रहेका भारतीय कामदारहरुलाई मात्र विस्थापित गरी स्वदेश युवाहरुलाई स्थापित गराउन सक्ने हो भने पनी ठूलो रोजगारी सृजना गर्न सकिन्छ तर सबैभन्दा ठुलो समस्याको रुपमा युवा सोच देखा परिरहेको छ । सीपको सम्मान नहुनु स्वदेशमा बसेर केही हँुदैन भन्ने मानसिकताको विकास हुँदै जानु र विदेशमा जस्तोसुकै काम गर्न भने तयार हुने प्रवृत्तिले गर्दा युवा लक्षित राम्रा कार्यक्रमहरुको पनि प्रभावकारिता देखिएको छैन ।

आज बेरोजगारी चुलिएको छ भन्दैगर्दा धेरै व्यवसायीक प्रतिष्ठान तथा संघ संस्थाले योग्य कामदार भने पाएका छैनन् । दातृनिकायको सहयोगमा होस् वा स्थानीय सरकारले आयोजना गरेका प्राविधिक सीप विकास तालिम कार्यक्रममा आज सहभागी नपुग्ने र योग्य व्यक्ति नआउने अवस्था छ तर आज पनि अदक्ष कामदारको रुपमा सयौँ युवाहरु विदेशिरहेका छन् ।
युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ती हो । युवा नै परिवर्तनका वाहक हुन् । राजनैतिक, सामाजिक एवं सास्कृतिक परिवर्तन युवाको योगदानविना असम्भव छ । साहास सृजनशीलता, उच्च आत्मविश्वास र नवीनतम सिकाइमा उत्सुकताले गर्दा राष्ट्र निर्माणको पहिलो आधार नै युवा शक्ति हो ।

नेपालको कुल जनसंख्याको सरदर ४० प्रतिशतभन्दा धेरै युवा रहेको हाम्रो देशमा गुणत्मक तथा संख्यात्मक दुवै किसिमले युवाको बाहुल्यता रहेको छ । युवा वर्गलाइ स्वदेशमै स्थापित गराउनको लागि उद्यमशिलतामा जोड्न जरुरी छ । साहस सृजनशीलता उच्च आत्मविश्वास र नयाँ प्रविधिमा युवाको आकर्षण रहने हुँदा उपयुक्त वातारवरण निर्माण गर्नु जरुरी छ ।
नवप्रवर्तनकारी युवा र वैदेशिक रोजगारीबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवाहरूलाई उद्यम व्यवसाय सुरु गर्न सुरुवाती पुँजी उपलब्ध गराउने र उनीहरुको उत्पादनलाई बजारको ग्यारेन्टी गर्ने हो भने पनि धेरै युवालाई स्वदेशमै उद्यमी बनाउन सकिन्छ । उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका कार्यक्रमहरु राज्यका निकायले पालिकास्तरमै संचालन गर्नुपर्छ । प्रत्येक स्थानीय तहमा विजनेश इन्कुबेशन सेन्टर स्थापना गर्ने, युवाको स्पष्ट लगत संकलन गर्ने, उनीहरुको सीपको अवस्थाको विवरण लिने र सोहीअनुरुपको कामको प्रबन्ध मिलाउन जरुरी छ । उक्त सेन्टरबाट नवीनतम व्यवसायिक विचार सृजना गर्न र विचारलाई व्यवसायिक फ्रेमवर्कमा परिवर्तन गर्नको लागि मेन्टरसिप प्रदान गर्ने कार्यलाई स्थानीय तहको प्रमुख जिम्मेवारी बनाउनु आवश्यक देखिन्छ ।

युवाहरुलाई हरित रोजगारीमा प्रोत्साहन गर्नको लागि वातावरण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै मानिसका दैनिक जिवनका समस्याहरुलाई सरल र सहजरुपमा निराकरण गर्न सक्ने नवीनतम प्रविधि सीप र व्यवसायीक विचारहरुलाई बढावा दिन जरुरी छ । त्यसको लागि विद्यालय स्तरबाट नै प्रशिक्षण तथा इन्टर्नसिपको व्यवस्था गर्नु पर्दछ । ग्रिन स्टार्ट अपहरुको लागि वित्तीय सहयोग तथा बजारीकरणको सुनिश्चितता पनि त्यत्तिकै आवश्यक हुन्छ ।
अन्त्यमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ नवप्रवद्र्धन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने नारा केवल नारामा मात्रै सीमित नहोस युवाहरुलाई हरित सीप विकासमार्फत उद्यमशिलतामा जोड्नै पर्दछ । पुँजी, प्रविधि र उद्यमशिलताको समिश्रणबाट मात्रै नयाँ उद्यम र रोजगारी सृजना गर्न सकिन्छ । अन्तर्राष्ट्रिय युवा दिवसको सबैलाई शुभकामना ।