टेकराज पन्थी
स्थायी सरकार भनिने कर्मचारीतन्त्रलाई उत्प्रेरित गराउने सरकारका विभिन्न माध्यमहरू हुन्छन् । तलबवृद्धि, वैदेशिक भ्रमण, अध्ययन भ्रमण, क्षमता विकास, उपयुक्त स्थानमा सरूवा लगायतका तरिकाहरू हुने गर्दछन् । तर अहिले कर्मचारीतन्त्र दिन प्रतिदिन अस्थिर र निरासा हुन पुगेको छ । अस्थिरता र निरासाको कारण भने स्वयं कर्मचारी र राजनीतिक नेतृत्व नै हुन् । कर्मचारीको मनोबल उच्च बनाउनका लागि नेपाल सरकारले २०७८ साल साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमान मासिक रू.दुई हजार रुपैयाँले वृद्धि गरेको छ । नयाँ तलबमानलाई मन्त्रिपरिषद्ले मिति २०७८ साउन २४ गते स्वीकृत गरेसँगै कार्यान्वयनमा आउन लागेको हो ।
बजेटले सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्न नयाँ तलबमान कायम गरी एक दिन बराबरको ग्रेड रकमसमेत कायम गरिएको छ । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीले बढेको तलब पाउने भएका छन् । २०५७ साल साउन १ गते भन्दा अगाडि प्राविधिक पदमा नियुक्ति पाई प्राविधिक वा सो सरह तलव भत्ता खाईपाई आएका राष्ट्रसेवक कर्मचारीका लागि २०५७ सालको विशेष व्यवस्थाअन्तर्गत प्राविधिक ग्रेडवापत २०७८ असार मसान्तसम्म खाईपाई आएको रकम नयाँ तलवमानमा थप गर्ने भएको छ । कोरोना संक्रमणका समयमा पनि कर्मचारीहरूको दुई हजार तलबमान वृद्धि हुनु राम्रै हो । तर तलबमान बढाउँदा वैज्ञानिक आधार र मापदण्ड बनाएको देखिँदैन । वैज्ञानिक आधार अथवा विज्ञका रायसुझाव लिएको खासै पाइएन । जे भएपनि यसलाई सकारात्क नै मान्नुपर्ने हुन्छ ।
यसरी अवैज्ञानिक रूपमा तलवमानमा वृद्धि हुँदा केही कर्मचारीमा खुसी हुनु स्वभाविक होला तर समग्र रूपमा हेर्दा उपभोग्य वस्तुमा मूल्य वृद्धि हुनु, पदीय दायित्व र मर्यादामा निराशा देखिनु, गरीव तथा न्यून आय भएकाहरूलाई मूल्य वृद्धि हुनगई असर पुग्न सक्छ । त्यसैले नेपाल सरकारले जारी गरेको मर्यादाक्रमलाई आधार लिई तलवमान कायम नगरिनु अत्यन्त चिन्ताको विषय हो । सामान्य रूपमा हेर्दा पनि पदीय मर्यादासमेत ख्याल नगरी तलबमान कायम गरिनु कर्मचारी वृतमा पक्कै पनि चिन्ताको विषय बन्न सक्छ ।
कर्मचारीलाई प्रदान गरिएको सुविधा निजको मन्जुरी बेगर “निजलाई प्रतिकूल असर पर्ने गरी” कटौती गर्न नहुने, एक पटक प्रदान गरिएको सुविधाको निरन्तरता निजको सेवाकालमा कायम रहने कुरालाई विधायिकाले कानुनी रूपमा मान्यता दिएको देखिन आउँदछ । खाइपाइ सकेको सुविधा कटौती नगरिने, त्यस प्रकारको सुविधाको निरन्तरता कायम रहने कुरामा सबै प्रकारका सेवा, समूहका कर्मचारीहरूका हकमा समान रूपमा लागू हुने गरी कानुनी संरक्षण प्रदान गरिएको समेत देखिन्छ । कर्मचारीको योग्यता, पदीय दायित्व, सम्हाल्नु पर्ने जिम्मेवारी, श्रेणी, तह आदि कुराको आधारमा सरकारले प्रदान गर्ने सुविधा पनि केही फरक हुन सक्दछन् ।
तर यसरी सुविधा प्रदान गर्दा अपनाउने सिद्धान्त भने समान किसिमको हुनु पर्दछ । विधायिकाले आफ्नो अभिप्राय कानूनको माध्यमबाट अभिव्यक्त गरिसकेपछि ग्रेड अङ्कको गणना गर्ने कुरामा कर्मचारीको सेवागत वर्गीकरण जस्ता कुराका आधारमा सरकारले आफ्ना समान हैसियतका कर्मचारीहरूबिच फरक–फरक सिद्धान्त अपनाउनु वाञ्छित नहुने भनि सम्मानित सर्वोच्च अदालतबाट निर्णय नं. १०३७२ उत्प्रेषण परमादेश अन्तरगत आदेश मिति २०७६÷१÷१५ ०७३ Wo –०४०७ मा उल्लेख गरेको देखिन्छ । साथै सरकारले आफ्ना जुनसुकै सेवा समूहका कर्मचारीहरूका हकमा न्याय र समान व्यवहार गर्नु पर्ने भन्ने उक्त नजिरको प्रकरणमा उल्लेख भएको पाईन्छ ।
अजै भन्नु पर्दा नयाँ तलबमानको विषयमा अचम्म लाग्दो के छ भने संघबाट स्थानीय तहमा कार्यालय प्रमुखको रूपमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूको तलबमान र साविकमा सोही श्रेणीमा रहेका कर्मचारीबीचको तलबमान जमिन आस्मान फरक रहेको छ । गाँउपालिकामा संघबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहका अधिकृतस्तर छैठौंको सुरु तलबमान रू.३७,९९० कायम गरिएको छ । अधिकृतस्तर छैठौंले माथिल्लो पद शाखा अधिकृत पदमा लोक सेवा आयोगको परीक्षा दिएर उत्तीर्ण भएमा उसको तलव स्केल पनि रू.३७,९९० हुन्छ । उक्त शाखा अधिकृत स्थानीय तह वा प्रदेशमा तुरून्त समायोजन भएमा रू.३९, ८७० हुन आउछ । स्थानीय तह र प्रदेशमा समायोजन तह मिलान भएका कर्मचारीहरूले साविकमा पाईरहेको ग्रेड रकम समायोजन तह मिलान भएपछि पाउनु पर्दछ भन्ने माग आइरहेको र प्रदेश नं.१ मा पाइरहेको विषयमा सम्मानित सर्वोच्च अदालतबाट उत्प्रेषण जारी समेत भएको पाईन्छ । यस्ता विषयमा नेपाल सरकारबाट नयाँ तलबमान कायम गर्दा स्पस्ट हुनु पर्दछ । स्थानीय तह र प्रदेशका कर्मचारीहरूको प्राविधिक ग्रेड र समायोजन ग्रेडका सम्बन्धमा उल्लेख नगरिएको देखिन्छ जसले गर्दा द्दिविधा हुन सक्छ । यस्ता तलबमान कायम गर्दा स्पष्ट गरिनु उपयुक्त हुन्छ ।
त्यसैगरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सो को मातहतमा कार्यरत अधिकृतस्तर दशौं तहको तलवमानमा प्रमुख प्रशासकीय अधिकृतको भन्दा अधिकृतस्तर दशौं तहको रू.७, ००० बढी छ । यसैगरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतभन्दा सो कार्यालय प्रमुख मातहतमा कार्यरत अधिकृतस्तर एघारौंको तलवमान रु.३,२२० बढी रहेको छ । अहिलेको तलबमान सबैभन्दा न्यूनतम कार्यालय सहयोगी प्रथमस्तरको तलवमान रू.२१,४८० र अधिकतम मुख्य सचिवको रू ६७,१४० रहेको छ । प्रदेश मन्त्रालयमा खटिएका प्रदेश सचिवको तलवमान रू ४९,३८० र सचिव कै मातहतमा कार्य गर्ने अधिकृतस्तर एघारौं तहको तलबमान रू.५२,६०० रहेको छ । यस्तै नेपाल प्रहरी, शशस्त्र प्रहरीबल, नेपाली सेना तर्फ पनि प्रदेश सचिव मातहत रहनेको तलवमान मिल्दो देखिँदैन । हुन त तलवमान कायम गर्दा विज्ञहरूकै सल्लाह सझाव वा न्यूनतम तलब निर्धारण आयोगको सिफारिशमा होला तर वैज्ञानिक तलवमान भएको देखिँदैन । यस्तै तह र पदमा तलवमान कायम गर्दा नसुहाउदो फरक रहेको देखिन्छ ।
तबवमान कायम गर्दा बजारमूल्य, न्यूनतम जीविकोपार्जन गर्न सक्ने, तलब तथा सुविधा पुनरावलोकन समितिको सिफारिश, राज्यले थेग्न सक्ने, समय सान्दर्भिक र उसको पदीय हैसियत आदि विषयमा ध्यान नदिई तलबमान कायम गर्नु सबैका लागि चिन्ताको विषय हो । देशमा सुशासन कायम गर्न प्रभावकारी सेवा प्रवाह गर्ने प्रमुख जिम्मेवारी कर्मचारीको हुन आउँछ । नीति, कार्यनीति, रणनीति थोरै मात्र परिवर्तन गर्दा ध्यान पुराउन सकिएन भने राज्य संयन्त्रमा ठूलो असर पुग्छ । संघीयता कार्यान्वयन भएपछि हरेक कर्मचारीमा नैराश्यता बृद्धि भएको छ । आजसम्म पनि संघीय निजामती सेवा ऐन ल्याउन सकेको अवस्था छैन जसले गर्दा कर्मचारीहरूको वृत्ति विकासमा अबरूद्ध जस्तै बनेको छ । कर्मचारीहरू उच्च मनोबलका साथ आआफ्नो कार्यप्रगति देखाउन सकेको अवस्था छैन । कर्मचारीहरूले आफ्नो योग्यता, क्षमता, पदीय दायित्वअनुसार कार्यप्रगति देखाउन नसक्नु नै नीति निर्माणमा गम्भिर त्रुटी देखिन्छ ।
हालै नेपाल सरकारबाट जारी भएको नयाँ तलबमानमा धेरै असमानता रहेको र न्यूनतम आवश्यकतासमेतको कुनै विश्लेषण गरेको देखिएन । यसरी स्थायी सरकारको रूपमा हेरिने सिंगो कर्मचारी वृत्तमा सरकारले विशेष ध्यान पुराउन नसक्दा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नसकेको प्रमुख कारण मान्न सकिन्छ । कर्मचारीबाट प्रवाह गरिने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन सकियो भने जनताले सन्तुष्टि प्राप्त गर्दछन् । यसरी प्रदान गरिने सेवामा जसअपजस भनेको सरकारसँग जोडिन्छ । त्यसैले सरकारले जनताबाट स्यावासी पाउन कर्मचारीको मनोबल उच्च बनाउनुपर्दछ ।
कर्मचारीको मनोबल उच्च बनाउन न्यूनतम आवश्यकता पूरा गर्ने किसिमको तलबमान, वृत्ति विकासका अवसरहरू प्रदान गर्ने, क्षमता विकासमा जोड दिने र Right M an and Right Place सरूवा वा पदस्थापना, मापदण्ड बनाई विशेष परिस्थितिबाहेक तोकिएको समयभन्दा छिटो सरूवा नगर्ने, सरूवा बढुवालाई अनुमानयोग्य बनाउने, सुशासन कायम गर्न स्पस्ट जिम्मेवारी प्रदान गर्ने र निष्पक्ष कर्मचारी वृत्त कायम गरिनुपर्दछ ।
कर्मचारी समायोजनमा केही कमजोरी रहेको हँुदा समय मै संशोधन वा सुधार गर्नुपर्दछ । कर्मचारीहरू समायोजन नमिल्दा सरकारको विरूद्धमा अदालत गएको पाइन्छ, त्यस्तो अदालत जाने वातावरण बनाउनु हुँदैन । समयमा नै कर्मचारीका गुनासाहरूलाई व्यवस्थापन गर्ने स्थायी निस्पक्ष संयन्त्र निर्माण गर्नुपर्दछ । कर्मचारीलाई जुन तह र पदको जिम्मेवारीमा खटाइन्छ सोहीबमोजिम तलबमान वा सुविधा प्रदान गरिनुपर्दछ । नेपाल सरकारले बनाएको मर्यादाक्रमलाई पनि ध्यान दिनुपर्दछ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू नेपाल सरकारले निर्धारण गरेको संगठन संरचनामा तह उल्लेख गरी स्वीकृत गरेको छ । स्वीकृत गरेका तहमा संघीय सरकारबाट खटाइएका कर्मचारीलाई तोकिएको जिम्मेवारीअनुसार सुविधा दिन सरकारले ध्यान दिन सकेको देखिँदैन । गाँउपालिकामा अधिकृतस्तर आठौं तह, नगरपालिकामा अधिकृतस्तर दशौं तह, उपमहानगरपालिकामा अधिकृतस्तर एघारौं तहको संगठन संरचनामा दरबन्दी कायम गरेको छ ।
अन्त्यमा देशको आम्दानी, न्यूनतम जिवन निर्वाह गर्न सक्ने कर्मचारीको तलबमान, नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम, देशको भौगोलिक अवस्था र वर्तमान बजारमूल्यको तथ्याङ्क, तलव तथा सुविधा पुनरावलोकन समितिको सिफारिश, पदीय जिम्मेवारी र दायित्वको आधार, दक्ष एवं सक्षम ब्यक्तिको प्रवेश गर्न आकर्षित गर्ने, कर्मचारी उत्पादकत्व र उत्प्रेरणा बढाउन मद्दत मिल्ने गरी, छिमेकी मुलुकका कर्मचारीको तलबमान समेतलाई आधार लिई तलबमान कायम गर्न विद्दमान सरकारले प्रकृया अगाडि बढाउने छ । समयानुकुल तलवमानमा सुधार गर्दै जानु आजको आवश्यकता रहेको छ ।
कर्मचारीको मनोबल उच्च गराउनका लागि तलवमान कायम गर्दा प्रस्तुत गरिएका विषयलाई पनि आधार लिन सकियो भने केही हदसम्म गुनासामा कमी आउन सक्छ । पदीय जिम्मेवारी, उत्तरदायित्व, कर्तव्य, मर्यादा, इतिहास, नजिर, अन्तर्राष्ट्रिय अभ्यास आदि समेतलाई आधार लिई आगामी दिनमा नयाँ तलवमान कायम गर्न र विद्दमानमा देखिएका कमी कमजोरीहरूमा सुधार होस् भन्ने कार्यमा नेपाल सरकारलाई सफलता मिलोस हार्दिक शुभकामना छ । (लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)