लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

मेचीकाली संवाददाता

६ चैत्र २०८२, शुक्रबार
13 shares

बुटवल । विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तीन दिने “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ । यो महोत्सव अन्तर्गत विभिन्न सांस्कृतिक, आध्यात्मिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालनका कार्यक्रम समावेश गरिएको छ ।

चिनियाँ दूतावासको विशेष संयोजनमा आयोजना गरिएको यो कार्यक्रममा ठूलो संख्यामा चिनियाँहरुको उपस्थिति रहेको छ ।

महोत्सवको पूर्वसन्ध्यामा बिहीबार साँझ स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । लुम्बिनीस्थित होटल बुद्ध माया गार्डेनमा आयोजित यो कार्यक्रममा यसको उद्देश्यका बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।

महोत्सव बिहीबार, शुक्रबार र शनिबार तीन दिन रहने छ । यो अवधिमा ध्यान, सांगीतिक प्रस्तुति र म्याराथनजस्ता कार्यक्रमहरू समावेश गरिएका छन् ।

आयोजकका अनुसार महोत्सवको दोस्रो दिन शुक्रबार बिहान ६ः३० देखि ८ः४० बजेसम्म मायादेवी मन्दिर नजिकै “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रममा विश्वभरका ध्यान अभ्यासकर्ता, बौद्ध धर्मावलम्बी तथा शान्ति प्रेमीहरू सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, शुक्रबार साँझ ५ः३० देखि ७ः३० बजेसम्म “लुम्बिनी पिस कन्सर्ट” कार्यक्रम लुम्बिनी स्क्वायर थिएटरमा राखिएको छ । कन्सर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ । संगीतमार्फत शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवको अन्तिम दिन शनिबार बिहान ६ः३० देखि १२ बजेसम्म “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन” आयोजना गरिने भएको छ । म्याराथन पवित्र उद्यान क्षेत्रमै सञ्चालन हुनेछ । यसमा देश–विदेशका धावकहरूको सहभागिता रहने जनाइएको छ । शारीरिक स्वास्थ्य र विश्व शान्तिको सन्देशलाई एकैसाथ जोड्दै म्याराथन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

महोत्सव विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य रहेको छ। लुम्बिनी, गौतम बुद्धको जन्मस्थल भएकाले विश्व शान्तिको प्रतीकका रूपमा रहेकाले यही ऐतिहासिक तथा आध्यात्मिक महत्वलाई केन्द्रमा राख्दै हरेक वर्ष यस्ता कार्यक्रममार्फत विश्व समुदायलाई शान्ति, सहिष्णुता र सहअस्तित्वको सन्देश दिने प्रयास हुँदै आएको छ । यस वर्षको महोत्सवले पनि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

आयोजकले देश–विदेशका आगन्तुक, पर्यटक, धर्मगुरु, कलाकार तथा खेलाडीहरूलाई महोत्सवमा सहभागी गराएको छ ।

महोत्सवले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारकल लामाले बताए । उनले यस्ता कार्यक्रमले नेपाललाई विश्व पर्यटन नक्सामा अझ सशक्त रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जनाए ।

बिहीबारको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले अहिले विश्वभरमै शान्तिको खोजी भइरहेकाले लुम्बिनीबाट त्यसको सन्देश दिनेगरी कार्यक्रम आयोजना गरिएको जनाएका छन् । उनले मानव कल्याणको केन्द्र बनाउन पनि आवश्यक रहेको जनाए ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओसिङले अहिले विश्वभर बढ्दै गइरहेको द्वन्द्वले शान्तिको खोजी भएको बताउँदै बुद्ध जन्मस्थलबाट सबैले त्यसको कामना गर्ने र सन्देश दिनेगरी यसखालको कार्यक्रम आयोजना गरिएको जनाए ।

उनले विकास, सुरक्षा र शान्तिको लागि नेपालसँग सधै सहकार्य गरिरहेको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तरता दिने बतँएका थिए । उनले चीन र नेपाल भौगोलिक रुपमा नजिक रहेको, हिमाल र नदीले जोडिएकाले पनि धेरै सांस्कृतिक सम्बन्ध रहेको जनाए ।

नेपाल ओलम्कि कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चीनमा सबैभन्दा धेरै बौद्धमार्गी भएकाले पनि लुम्बिनीसँग यसको गहिरो सम्बन्ध रहेको जनाए । उनले लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामसहितका बुद्धिस्थ केन्द्रहरुलाई ध्यानमा राखेर ओलम्पिक कमिटीले निरन्तर कार्यक्रम गरिरहेको जनाए ।