नौमतीमा कस्सिएका जनजाति बुहारी

मेचीकाली संवाददाता

३० फाल्गुन २०८०, बुधबार
562 shares

टोपलाल अर्याल

गुल्मी । ‘धानको बाला साइली कोदाको कपनी, सिमसिमे पानीमा, आँधी खोला उर्लेर आयो, तिम्लाई टाढा मलाई नि टाढा’ भन्ने गीतको सनाइसँगै ढोलक, ट्याम्को, दमाह, झ्याली र नर्सिङ्गासहितको नौमती बाजाले शनिबार बालमन्दिर घन्कियो । जनजाति महिलाहरुको नौमती बाजाले लोकतान्त्रिक आदवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा धेरैको ध्यान खिच्यो । महिलाहरुले कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई स्वागत गरे । पछिल्लो मसय जिल्लाका कार्यक्रमहरुमा महिलाहरुको बाजा प्रयोग गर्ने गरिएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका–१ का बुहारीहरु अहिले नेपाली समाजमा लोप हुन थालेको नौमती बाजालाई अर्थोपाजनको गत्तिलो आधार बनाउन कस्सिएका छन् । नयाँगाउकी १९ वर्षीया बसन्ता थापा सनाइ फुक्छिन् । अर्घाखाँची मालारानी–६ बाट बिहे गरेर नयाँगाउँ आएको डेढ बर्ष भए । उनका देउरानी र जेठानी नै बाजा बजाउँछन् । थापाको जेठानी दिदी २५ वर्षीया दिपा थापाले ढोलक बजाउँछिन् । जेठानी दिपाले गाउँमा नौमती बाजाको तालिम हुने पत्तो पाइन् । उनले आफूसँगै देउरानीलाई पनि बाजा बजाउने तालिममा लगिन् । अहिले देउरानी र जेठानीनै बाजा बजाउन हिँड्छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका जनजाती नौमती बाजा समुह ।

नयाँगाउँकै २७ वर्षीया सरस्वता मगरले पनि सनाइँ फुक्छिन् । जनजाति समूहमा ११ जना छन् । बसन्ता र सरस्वताबाहेक अरुले सनाइ बजाउँदैनन् किनकि सास पुराउन मुस्किल पर्ने भएकाले अरु बाजाभन्दा सनाइ बजाउन सजिलो छैन । उनीहरुले आठ दिनको तालिममा तीन ओटा भाका मात्र बजाउन सिके । तालिमपछि आफूहरुले अहिले एउटा भाका मात्र थप सिक्न सकेको सरस्वताले सुनाइन् । उनले सुरुमा सनाइ फुक्न निकै अप्ठ्यारो भएपनि बिस्तारै सजिलो हुने अनुभव बताइन् । जनजाति नौमती समूहका ११ जनानै बुहारी हुन् । बुहारीलाई घरमा कामको चटारो पनि उत्तिकै छ । जसका कारण फुर्सद निकाल्न मुस्किल छ । बाजा बजाउन कहिलेकाहीँ गाउँ नै छोडेर जानपर्छ । तर, नयाँगाउँका महिला आफूहरुलाई समय निकाल्न समस्या नरहेको बताउँछन् ।

दमाह बाधक ३० वर्षीय कमला गमालका दुई छोरी र सासूससुरा घरमा छन् । श्रीमान् रोजगारीको सिलसिला परदेश भएपनि गमालले समय निकालेर दमाह बजाउन साथीहरूसंग समूहमा हिँड्छन् । गमाल र ३० वर्षीया कमला कुवर मगरसँगै अरुले पनि दमाह बजाउँछन् । समूहका ११ जनामध्ये पाँच जनाको श्रीमान् परदेश छन् । अरुको तुलनामा बुहारीलाई घरको चटारो बढी हुने भएकाले परिवाको सहजीकरण आवश्यक रहेको ढोलक बाधक २९ वर्षीया सुस्मा थापाले बताइन् । ३५ वर्षीया लक्ष्मी कुवरसहित तीन जनाले झ्याली बजाउँछन् । समूहकै ३२ वर्षीया शोभा रानाले ट्याम्को बजाउँदै आएकी छन् । सनाइँपछिको बजाउन अप्ठ्यारो नर्सिङ्गा र कर्नाल हो । समूहमा कर्नाल छैन ।

गुल्मीमा आयोजित लोकतान्त्रिक आदवासी जनजाती महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा नौाती बाजा प्रस्तुत गर्दै धुर्कोट गाउँपालिका–१ नयाँगाउँका जनजाती नौमती बाजा समुह ।

नर्सिङ्गा २४ वर्षीया गंगा कुवर मगरले बजाउँदै आएकी छन् । मगरले तालिमको समय छोटो र पछि थप सिकाउने कोही नभएकाले नर्सिङ्गा सोँचे जस्तो बजाउन नसकिएको बताइन् । निकै बल गरेर फुक्ने र स्वर मिलाउन पर्ने भएकाले नर्सिङ्गा र सनाइको तालिमसङै कर्नाल आफूहरुलाई आवश्यक रहेको कुवरले बताइन् । बाजा बजाउने पात्र सबै जनजाति नौमती बाजा समूह धुर्कोट गाउँपालिका–१ नयाँगाउँका आबद्ध छन् । गाउँपालिकाले गाउँमा नौमती बाजा लोप हुँदै गएपछि जनजाति लक्षित बजेटबाट वडा नं.१ नयाँगाउँ र वडा नं.३ हाडहाडेका महिलालाई बाजा बजाउने तालीम र बाजा उपलब्ध गराएको कार्यपालिका सदस्य प्रेम मुखियाले जानकारी दिए । अझै सिकाउन र केही बाजा उपलब्ध गराउन पर्ने अवस्था रहेकाले गाउँपालिकाको ध्यानाकर्षण हुने बताए ।

समूहले गत पुसमा बाजा बजाउने तालिम लिएका थिए । पहाडी जिल्लामा बाजा परियार (दमाई) समुदायको मुख्य पेशाको रुपमा रहेको थियो । तर, बाजा बजाउने कलाजाति र पुस्ताअनुसार स्थानान्तरण नभएका कारण कैयौं ठाउँमा नौमती बाजा लोप भएका छन् । नयाँगाउँ र हाडहाडेमै बाजा बजाउने परियार समुदाय पेशाबाट बिस्थापित भएपछि आफूहरुले पेशाको अनुसरण गरेको जनजाति नौमती बाजा समूह धुर्कोट गाउँपालिका–१ की सचिव दिपा थापाले बताइन् । यो समूहले पुस अन्तिम साताबाट अहिलेसम्म पाँच ठाउँ बाजा बजाएका छन् । अहिले आफूहरुले सिक्दै पनि रहेकाले १५ देखि १७ हजारसम्म पारिश्रमिक पाउँदै आएको थापाले बताइन् । गाउँपालिकाबाट मूल्य निर्धारण, थप तालीम र कर्नालको आवश्यकता पूरा हुने आशा ब्यक्त गरिन् । बाजा बजाएर प्राप्त हुने रकम केही समूहको कोषमा र केही बजाउनेहरुले पाउने गरेका छन् ।

नयाँगाउँमा अहिले परियार समुदायका बाजा बजाउनेहरु विस्थापित हुँदै गएका छन् । बाजा बजाउने समूहमध्येका यमबहादुर परियार ट्याम्को बाधक हुन् । उनका अनुसार गाउँमै १२÷१५ जना बाजा बजाउने परियार समुदाय थिए । पुराना बितेर सकिए । नयाँले सिक्न मान्दैनन् । जसका कारण आफूहरु बजाउन हिँड्न छोडेको यमबहादुरले बताए । आफ्ना कला मर्न नदिन जनजाति दिदिबहिनीहरुले देखाएको सक्रियता निकै अनुकरणीय रहेको परियारले बताए ।