स्मार्ट आइटी सोलुसनको आयोजनामा विद्यार्थी लक्षित साप्ताहिक आइटी प्रतियोगिता सञ्चालन हुने

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८३, बुधबार
16 shares

बुटवल । स्मार्ट आइटी सोलुसनले विद्यार्थीहरुको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सीप, सिर्जनात्मकता, व्यवहारिक ज्ञान तथा डिजिटल दक्षता अभिवृद्धि गर्ने उद्देश्यले हरेक आइतबार विशेष प्रतियोगितात्मक शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले सार्वजनिक बिदा दिएको दिनलाई सदुपयोग गर्दै विद्यार्थीहरूमा प्राविधिक सीप विकास गराउन यो कार्यक्रम आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक लेखनाथ पन्थले जानकारी दिए ।

उनका अनुसार कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा अभिभावकहरूले नै आफ्ना बालबालिकाहरूको दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । विद्यालयबाट सीमित विद्यार्थी मात्र सहभागी हुने र सबैले अवसर नपाउने गुनासोलाई मध्यनजर गर्दै अभिभावक आफैंले दर्ता गराउने प्रणाली लागू गरिएको कार्यक्रम संयोजक मुस्कान खत्रीले जानकारी दिए ।
पहिलो चरणको प्रतियोगिता आगामी जेठ ३१ गते तिलोत्तमाको शंकरपुरस्थित प्याब्सन तथा हिसान कार्यालयमा आयोजना हुनेछ । जसमा कक्षा १ र २ का विद्यार्थीहरुलाई टाइपिङ च्यालेन्ज, कक्षा ३ का विद्यार्थीहरुलाई माउस मास्टर च्यालेन्ज, कक्षा ४ का विद्यार्थीहरुलाई कलर क्वेस्ट (एमएस–पेन्ट च्यालेन्ज), कक्षा ५ र ६ का विद्यार्थीहरुलाई ब्याटल अफ प्रेजेन्टेसन र कक्षा ७ र ८ का विद्यार्थीहरुलाई अंग्रेजी टाइपिङ प्रतियोगिता आयोजना गरिने छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने विद्यार्थीले जेठ २९ गतेभित्र ५ सय दर्ता शुल्कसहित नाम दर्ता गरिसक्नुपर्नेछ । सहभागीहरूले अनिवार्य रूपमा आफ्नो विद्यालयको परिचयपत्र साथमा ल्याउनुपर्ने तथा आफ्नै ल्यापटप ल्याउनुपर्ने आयोजकले जनाएको छ । विजयी प्रतियोगीहरूलाई नगद पुरस्कारसँगै प्रमाणपत्र र ट्रफीको व्यवस्था गरिएको छ ।

अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा संस्थाका सल्लाहकार हेम थापाले बालबालिकाहरलाई सिकाइसँगै आफ्नो क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने बताए । उनले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा अनुसन्धान तथा नवप्रवर्तन विभागका डा.मीनप्रसाद खनाल, सल्लाहकार विष्णुप्रसाद ढकालले विद्यार्थीहरूको डिजिटल साक्षरता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकासमा यस्तो कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।