अमृत गिरी
बुटवल। गुल्मीको रुरुक्षेत्र बम्घाबाट रुपन्देहीको विभिन्न ठाउँमा आइ बसोबास, पेशा, व्यवसाय गरिरहेकाहरुले गाउँको समग्र विकासका लागि हातेमालो गर्ने संकल्प गरेका छन् । गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनको शनिबार तिलोत्तमामा आयोजित समारोहमा सहभागी विभिन्न व्यक्तित्वहरुले गाउँमा पुनर्जागरण ल्याउनेगरी साझा अभियान चलाउन जरुरी रहेकोमा जोड दिए ।
सम्पर्क मञ्चको साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले कृषिलाई उद्योगमुखी बनाउन सके गाउँबाट शहरतिर हुने बसाइसराइ रोक्न सकिने बताए । गाउँमा रोजगारी र आम्दानीको बाटो नभएका कारण शहरी क्षेत्रमा अवसरका लागि जानुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै नेता गिरीले अब गाउँमै उत्पादन बढाउन र कृषिलाई व्यवसायीकरण गर्न आवश्यक रहेको र सोहीअनुरुपका योजना बनाउन जरुरी रहेको बताए ।
साविक बम्घा गाविस वडा नं. ८ का बासिन्दासमेत रहेका गिरीले सरकारले केही गरेन र बाँदरले दुःख दियो भनेर पहाड छाड्ने गरिएकोमा अब गाउँमै उत्पादन बढाउने गरी नीति कार्यक्रम र योजनाको खाँचो रहेको उल्लेख गरे । बम्घा र रुरुक्षेत्रको विकासको लागि आफूले सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘सबै मिलेर गाउँमा पुनर्जागरण ल्याउन सकिन्छ’
गुल्मीको रुरुक्षेत्रको बम्घामा जन्मघर भइ विभिन्न ठाउँबाट स्थापित भएकामध्येका लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री गिरीले गाउँमा पुनर्जागरण ल्याउने र कृषिमा आधारित विशेष अभियानको खाँचो रहेकोमा जोड दिए ।
यस्तै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, रुरुक्षेत्र–५, का अध्यक्ष हरिप्रसाद ज्ञवाली, तिलोत्तमा नगरपालिका–१ का अध्यक्ष फर्सुराम गिरी, बुटवल उपमहानगर–८ का वडा सदस्य हरिहर ज्ञवालीलगायतले रित्तिँदै गएको गाउँलाई हराभरा बनाउने र फेरि पुनर्जागरण ल्याउने गरी तीनै तहमा विशेष योजना बनाएर काम गर्न जरुरी रहेकोमा जोड दिए ।
लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री गिरीले पछिल्लो समयमा गाउँगाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको विकास भएपनि गाउँ भने रित्तिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रभावकारी सार्वजनिक सेवा र गाउँमै रोजगारीको अवसर हुने हो भने बसाइसराइ रोकिन्छ र गाउँमा फेरि पुनजार्गरण ल्याउन सकिने नेता गिरीको भनाइ छ । गाउँ फर्केका जनतालाई गाउँमै थाम्नेगरी विशेष योजनाको खाँचो रहेको बताउँदै नेता गिरीले आफ्नै कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको स्थापना गरी व्यापक रोजगारीको विस्तार गर्नुपर्ने बताए ।
गाउँ–गाउँमा कृषिजन्य र वनजन्य उद्योग, खनिज उद्योग तथा ससाना लघु उद्योग, जडिबुटीमा आधारित उद्योग, परम्परागत हस्तकलाका सामग्रीको उत्पादनमा औजारको प्रयोग र कच्चा पदार्थको सहजताबाट गाउँमै निर्यातयोग्य सामग्री उत्पादन गर्न सकिने सम्भावना रहेको नेता गिरीको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष ज्ञवालीले हिजो गाउँसम्म पूर्वाधार पुगेको थिएन, आज बाटो, बिजुली, खानेपानी, शिक्षा, आधारभूत स्वास्थ्य सेवा पुगेको छ र विकासका चरणबद्ध कामको नतिजा देखिएपनि गाउँबाट बसाइसराइ भने रोक्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।
कृषि प्रविधि, कृषि औजार, गुणस्तरीय बिउबिजन र मल अनि भरपर्दो सिँचाइ सुविधा र सुलभ ऋण सुविधामार्फ युवाको आकर्षण बढाउन जरुरी रहेको गुल्मी बम्घा–रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष तथा साविक बम्घा गाविसका उपाध्यक्ष देविदत्त गिरीको भनाइ छ ।
कालिका मानवज्ञान माविका सहायक प्राचार्य विष्णुहरि ज्ञवाली, समाजका सल्लाहकार संयोजक गणेश ज्ञवालीलगायतले बम्घाको विकास र बम्घेलीहरुको हकहितका लागि एकजुट हुनुपर्नेमा जोड दिए । गाउँमा कृषि बिमा र पशु बिमाको सुविधा तथा शीतभण्डारहरूको प्रबन्ध र व्यवस्थित बजारीकरणको प्रभावकारी प्रबन्ध गर्न सके कृषिमा आश्रितहरुमा हौसला बढाउन सकिने कार्यक्रममा सहभागी अगुवाहरुको भनाइ थियो ।
समाजका संस्थापक अध्यक्ष देवीदत्त गिरीको अध्यक्षता, सचिव कृष्ण खत्रीको सञ्चालन र उपाध्यक्ष जगन्नाथ भण्डारीको स्वागत मन्तव्यमा सम्पन्न साधारणसभामा अध्यक्ष गिरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ऋषिराम ज्ञवालीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा समाजका आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । बम्घाबाट रुपन्देहीमा आएकाहरुले आपसी सम्पर्क र समन्वयका लागि भन्दै ०७७ सालमा मञ्च गठन गरेका थिए ।
घट्दो छ गाउँको जनसंख्या
राष्ट्रिय गणना २०७८ अनुसार गुल्मीको कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा भन्दा ०७८ मा ३३ हजारभन्दा धेरैले जनसंख्या घटेको छ । ०६८ मा गुल्मीको कुल जनसंख्या २ लाख ८० हजार १ सय ६० रहेको थियो । दश वर्षमा ३३ हजार ३ सय २४ ले जनसंख्या घटेको र जनगणना पछि पनि बसाईसराई तीब्र हुँदा घट्ने क्रम जारी रहेको बताइएको छ । दुई नगरपालिका र दस गाउँपालिका भएको गुल्मीमा ६१ हजार २ सय २२ घरधुरीमा र ६६ हजार ७ सय २५ परिवारको गणना भएको थियो । यीमध्ये अधिकांश परिवार बस्नयोग्य घरबार छाडेर तराई झरेका छन् ।
केही महिनाअघि नेकपा एमालेले गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा पहाडी भेगको अवस्थाका बारेमा विशेष अध्ययनसमेत भएको थियो । त्यसक्रममा पहाडमा पाँच लाखभन्दा धेरै बस्नयोग्य घर खाली रहेको पाइएको थियो ।
मुलुकको आधाभन्दा धेरै जनसंख्या तराईमा
मुलुकको कुल भूगोलमध्ये तराई १७ प्रतिशत, पहाडी क्षेत्र ६८ र हिमाली क्षेत्रले १५ प्रतिशत क्षेत्र ओगट्छ तर मानिसको बसोबास भनेआधा भन्दा बढी तराईमा छ । तराईका २२ जिल्लाको जनसंख्या १ करोड ५६ लाख ३४ हजार रहेको सरकारी तथ्यांक छ । जुन कुल जनसंख्याको ५३.६१ प्रतिशत हो । पहाडमा ४०.३१ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत १७ लाख ७२ हजार मात्रै जनसंख्या रहेको छ ।