बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले शिक्षा, स्वास्थ्य र सहयोगका अभियानसहित एकैदिन तीन सामाजिक कार्यक्रमद्वारा बादी समुदायमा नयाँ आशा सञ्चार गराएको छ । ‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनालाई आत्मसात् गर्दै पहिलो पाइला नेपाल, बुटवल शाखाले कर्णाली प्रदेशको सुर्खेतस्थित बादी सरोकार मञ्च नेपाल, वीरेन्द्रनगर–८ मा एकैदिन तीन सामाजिक कार्यक्रम गरेको हो ।

मानवीय सेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीय अगुवाले प्रशंसा गरेका छन् । कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षालाई लक्षित गरी सञ्चालन गरिएका ती अभियानले पछाडि परेका समुदायमा आशा र आत्मविश्वास जगाएको अभियन्ता तुलसीराम खनालले जानकारी दिए ।
‘भाग्य बोक्ने झोला’ वितरण
‘शिक्षा नै भविष्यको ढोका हो’ भन्ने सन्देशसहित संस्थाले ११० जना बादी बालबालिकालाई शैक्षिक सामग्री सहितको ‘भाग्य बोक्ने झोला’ वितरण गरेको हो । झोलामा कपी, कलम, पेन्सिल, इरेजर, कटर, कलर, ज्यामिती बक्स, पानीको बोतल, टिफिन बक्स र रुमाल समावेश गरिएको भाग्य बोक्ने झोला कार्यक्रमका संयोजक संस्थाका द्वितीय उपाध्यक्ष मनिस खनालले जानकारी दिए । यो कार्यक्रमका लागि मनिष संयोजक र सदस्यमा सोमनाथ खनाललाई तोकिएको थियो ।
निःशुल्क आँखा शिविर र औषधि वितरण
स्वास्थ्य पक्षमा केन्द्रित हुँदै निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शाखाका सदस्य तथा चिकित्सक डा.सन्तोष क्षेत्रीले प्रत्यक्ष सेवा प्रदान गर्र्दै आवश्यकताअनुसार औषधि र चश्मा वितरण गरिएको थियो । यो कार्यक्रमबाट लाभान्वित भएकाहरुले खुशी व्यक्त गरेको निःशुल्क आँखा शिविर संयोजक सह–सचिव प्रकाश पोखरेलले बताए ।

खाद्यान्न सहयोग
त्यस्तै, खाद्य सुरक्षाको सन्देशसहित १० बोरा चामल, २ बोरा दाल र २ कार्टुन तेल वितरण गरी समुदायलाई सहयोग गरिएको खाद्यान्न वितरण संयोजक सदस्य नविन पोखरेलले जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता बुटवल शाखा अध्यक्ष गोमा भट्टराईले गरेकी थिइन भने प्रमुख अतिथि वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा.सुषिल समदर्शी रहेका थिए । कार्यक्रमको सहजीकरण र सञ्चालन सचिव रुद्र खनालले गरेका थिए ।
संस्थाका अध्यक्ष भट्टराईले शिक्षा, स्वास्थ्य र मानवता–यी तीन आधारमा समाज रुपान्तरणको यात्रा अघि बढाउँदै पहिलो पाइला नेपालले देशका हरेक कुनामा सहयोगका कदम विस्तार गरिरहेको र यो कदम विभिन्न क्षेत्रबाट सहकार्य र सहयोग भइरहेको बताइन् ।
कार्यक्रममा सहभागी वक्ताहरूमध्ये संस्थाका प्रथम उपाध्यक्ष गौरव खनाल (स्वागत मन्तव्य), केन्द्रीय सदस्य राजन अधिकारी, समाजसेवी रत्नलाल न्यौपाने, बादी सरोकार मञ्च नेपालका सञ्चालक हिक्मत बादी र सल्लाहकार गङ्गाधर न्यौपानेलेकार्यक्रम सफलता र निरन्तारको कामनासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
