भलाई कोषले स्वर्ण महोत्सव मनाउँदै, विभिन्न कल्याणकारी कार्यक्रम घोषणा

मेचीकाली संवाददाता

२७ चैत्र २०८०, मंगलवार
239 shares

बुटवल । यातायातका क्षेत्रमा आवद्ध मजदुर तथा व्यवसायी र तेस्रो पक्षको समेत हित हुनेगरी झण्डै ५० वर्षदेखि कल्याणकारी काम गर्दै आएको यातायात मजदुर तथा व्यवसायी भलाई कोषले स्वार्ण महोत्सवका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।
विसं.२०३१ सालमा तत्कालीन लुम्बिनी अञ्चलाधीशकोमा संघसंस्था दर्ता ऐन अन्तर्गत विधिवत रुपमा दर्ता भई सिद्धार्थ राजमार्ग यातायात मजदुर भलाई कोष प्रधान कार्यालय बुटवलको नामबाट स्थापना भएको यो कल्याणकारी संस्था मानिन्छ । देशैभर स्थापित गैह्र सरकारी संस्थाहरु मध्ये अग्रणी कल्याणकारी सामाजिक संस्थाको रुपमा लिइन्छ ।

कोषले मंगलबार पत्रकार सम्मेलन गरि स्वर्ण महोत्सवको अवसर पारेर तय गरिएका कार्यक्रमहरु सार्वजनिक गरेको छ । कोषका अध्यक्ष दिनेश फुल्लेलले स्वर्ण महोत्सवलाई ऐतिहासिक बनाउनेगरी तयारी गरिएको र कल्याणकारी क्षेत्रका थप नयाँ कार्यक्रम समेत घोषणा गर्नेगरी योजना बनाइएको जानकारी दिए । कोषले नयाँ वर्ष २०८१ को शुभारम्भसंगै स्वर्ण महोत्सवका कार्यक्रम सुरु हुने अध्यक्ष फुल्लेलले बताए ।

भलाई कोषले गर्दै आएका प्रमुख कार्यहरु
कोषले यातायातका क्षेत्रमा रहेका मजदुर र व्यवसायीलाई लक्षित गरेर कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुर्घटना परी अंगभंग भएका यातायात मजदुरहरुलाई मासिक दुई हजार रुपैयाँ पेन्सनको व्यवस्था गरेको छ । उमेरको हदबन्दी पुगेका सवारी चालकको अनुमतिपत्र नवीकरण नभएका, परिचयपत्र मासिक नविकरण गरिरहेका सवारी चालकलाई एकमुष्ट पाँच हजार दिई सम्मान गर्दै आएको कोषका अध्यक्ष फुल्लेलले बताए ।

यातायात मजदुरका छोरा छोरीलाई पठन–पाठनको लागि छात्रवृत्तिको व्यवस्था गरिएको उनको भनाइ छ ।
यातायात मजदुरको मृत्यु भएमा एकमुष्ट आर्थिक सहयोग गरिंदै आएको र परिचयपत्र नविकरण भएका साधारण सदस्यहरुलाई सामान्य औषधि उपचार वापत चार हजार र अप्रेशन गर्नुपर्ने भएमा थप आठ हजार दिने व्यवस्था गरिएको कोषको विज्ञप्तिमा उल्लेख छ ।

एकवर्ष नियमित कोष शुल्क बुझाएका सवारी धनीको दुई लाख सम्मको दुर्घटना बीमा गरिएको छ भने भलाई कोषले बिमा कम्पनीसँग सम्झौता गरी दुर्घटनापछिको आर्थिक क्षति व्यहोर्दै आइरहेको कोषका महासचिव योग गुरुङले बताए । साथै सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिकसंग हातेमालो गरेर दुर्घटना न्यूनिकरणका लागि समेत विशेष अभियान सञ्चालन गरिएको महासचिव गुरुङको भनाइ छ ।

यस्ता छन् स्वर्ण महोत्सवका कार्यक्रम
कोषले स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमहरु आगामी वैशाख १ गतेदेखि सुरु गर्ने भएको छ । १ गते बिहान ८ बजे गरीव तथा जेहेन्दार विद्यार्थीका लागि पाँच लाख एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ । बैशाख २ गते बिहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने बिहान ११बजे दुर्घटना न्यूनिकरण, ट्राफिक जनचेतना, सवारी ऐन र बीमा सम्बन्धी प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको कोषले जनाएको छ । बैशाख ३ गते ४६औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सव मूल समारोहका साथै स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष फुल्लेलले जानकारी दिए ।

कहाँ कहाँ छन् भलाई कोषका शाखाहरु ?
सिद्धार्थ यातायात मजदुर भलाई कोषको नाममा स्थापित संस्थामा स्थापना कालमा १ जना कर्मचारी, २ शाखा, वार्षिक बजेट करिब ८–९ हजारबाट शुरु भएको थियो । हालसम्म आइपुग्दा ७ प्रदेश मध्ये सुदुर पश्चिमाञ्चल प्रदेश बाहेक अन्य ६ प्रदेशका २६ स्थानमा शाखा स्थापना भएका छन् । प्रधान कार्यालयमा समेत गरी ६४ जना कर्मचारीले दैनिकी कार्यसम्पादन गरिरहनु भएको छ । सीमित संख्याबाट शुरु भएका सवारी साधन आज हजारौं पुगेका छन् । सवारी चापले दुर्घटना पनि दिन प्रतिदिन बृद्धि भएको छ । नेपाल जस्तो अति कम विकसित देशमा मानव मृत्युको सबै भन्दा ठूलो कारण सडक दुर्घटना बनिरहेको छ । खराब सडक, यान्त्रिक गडबडी, मानवीय कमजोरी आदिले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको छ । दुर्घटनाबाट मजदुरहरु अंगभंग भएर कष्टकर जीवन विताउन बाध्य छन् ।

सवारी दुर्घटनाको कारण अरबौं धनजनको क्षति व्यहोर्नु परेको छ । यस्तो भयावह परिस्थितिमा सरोकारवाला लगायत सबै एकजुट भएर लाग्ने हो भने दुर्घटनालाई न्यूनिकरण गर्न सकिन्छ । संस्थापकहरुले यो संस्था जन्माउँदा यातायात मजदुरहरुको हकहित स्थापित गर्ने जुन उद्देश्य बोकिएको थियो त्यहीँ कल्याणकारी काम गर्ने उद्देश्यमा अहिले पनि अझै प्रभावकारी अभियानमा केन्द्रित रहेको कोषको नेतृत्वको प्रतिवद्धता छ ।

कोभिड महामारीपछिको असर
कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव पर्यो । त्यसमा पनि यातायात क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यातायात क्षेत्रमा परेको प्रभावले यस कोष पनि अछुतो रहन सकेन । कोभिडले पारेको प्रभावका कारण यस कोषले पनि आर्थिक रुपमा नोक्सानी व्यहोर्न पुगेको कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । संस्थालाई आर्थिक रुपमा धरासायी हुनबाट जोगाउन आम मजदूर वर्ग, यातायात व्यवसायी र अग्रजहरुले जुन भूमिका खेल्नुभयो, फलस्वरुप संस्थाले आफ्नो गतिलाई अविच्छिन्न रुपमा निरन्तरता दिन सकेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।