तीजसँग जोडिएको चेलीको सम्बन्ध: हिजो गाईने तीजका झोरा र अहिलेका गीत

मेचीकाली संवाददाता

२० श्रावण २०८१, आईतवार
1016 shares

दिलप्रसाद पौडेल

तीज भन्ने बित्तिकै आजभन्दा करीब २० वर्ष पहिले सम्मका तीज सम्झिदा वर्षा ऋतुको मध्येतिर झमझम पानी परिरहेको हुन्थ्यो खोलहरु उर्लिएका हुन्थे घरवरीपरीका कुवा पँधेरा र पोखरीहरुमा पानीको सतह बढिरहन्थ्यो । खेतका गराहरुमा धान हरियै हुन्थ्यो । गाउँमा घाँस काट्ने मानिसहरुको लावा लस्कर हुन्थ्यो । आँसी, नाम्लो र डोकोसहित घाँस काट्न जानेहरुको चहलपहलले साँच्चिकै चाडवाड आएको आभाष गराउँथ्यो । प्रत्येकका घरमा लैना बकेर्ना भैंसी हुन्थे । पहिले पहिले हाम्रा हजुरबुबाहरु नातिनातिना छोरीहरु आउँदा दूध दहि घरमा भएन भने खल्लो हुन्छ भनेर तीजको बेला दुहुनो भैंसी किनेर ल्याउने गर्नुहुन्थ्यो अनि त्यतिबेला तिजको बेला दुहुना भैंसी महङ्गा प्राय हुने गर्थे ।

टेलिफोनको जमाना थिएन, चेलिबेटी लिन जाने परम्परा थियो जति टाढा भएपनी पिठ्युँमा कुटे छाता बोकेर लौरो टेक्दै टाढाटाढा गएर चेलिबेटी ल्याउने चलन थियो । उता चेलीबेटीहरु माईतबाट लिन आउनुहुन्छ भनेर घरम रहेका श्रीमान, सासू ससुराहरुसँग अनुमती माग्ने चलन थियो । तीजको बेला लगाउनुपर्छ भनेर आफ्ना लुगा अनि बच्चा हरुलाई तीजमा लगाउने नयाँ लुगा किनेर जतन गरेर राखिदिने गर्नुहुन्थ्यो । हामी पनि नयाँ लुगा लगाउन पाईन्छ भनेर कम्ता खुसी हुदैनथ्यौ । नयाँ चप्पल किनिदिनुभयो भने गेग्रेटो बाटोमा हिँड्दा छिटो फाट्छन अनि चिप्लो बाटोमा हिँड्दा चप्पलका तुना चुँडिन्छन भनेर बडो होसियारपुर्वक हिँड्थ्यौ । मामाघर गएपछी छुट्टै मजा आउथ्यो । सानो छँदा केटाकेटीले खाना खान मानेन भने ल भोलीपर्सी मामाघर जाने है भनेपछी खुसी हुँदै खाना खान्थे । मामा माईजुले दिएको २० रुपैयाँ अनि उस्तै रंग भएको पाँच रुपैयाँ पाएपछी दौडिदै गएर आमालाई राख्न दिन्थ्यौ अनि आमाले पटुकीको फुर्कोमा बाँधेर साँचेर राखिदिनुहुन्थ्यो ।

बिशेषत तीजका चेलीबेटीलाई माइतीको महत्व रहन्छ । तर आमा नभएको घर र मामा नभएको घर खल्लो लाग्ने गर्छ । भाउजू, दिदीबहिनी सबै आमा समान हुन् तर आमाको उच्च स्थान रहनुको कारण नै अकारण प्रेमको अभिव्यक्ति र गुणवत्ता हो सृष्टिले दिएको एक अभुतपुर्व उपहार त्यसैले त भनिन्छ भगवान जहाँतहीँ पुग्न सक्दैनन् त्यसैले उनले आमा बनाएर यस धर्तीमा छोडिदिएका रहेछन् । सबैलाई यो महसुस भएको र अनुभूति भएकै कुरा हो । उहिले हजुरआमाको पालामा बारीमा भएका तरकारी तामा, घिरौला, करेला र काक्रा संगालेर राख्नु र तीजको दर खाने दिन छोरी अनि नाति नातिनाहरु आउने बाटो हेर्नु तीजको रौनक हुन्थ्यो । आफ्ना छोरी माइत आउँदा बुहारी घरमै बसेर छोरीको सेवा गरिदिए हजुरआमा खुसी हुनुहुन्थ्यो । हुनत हामीलाई पनि आमा माइत गएको भन्दा आमा घरमै भएको गर्व लाग्थ्यो दिदी बहिनी अनि फुपूहरूको गफ सुन्दै आमाले पकाएको खानुमा यो साँसारिक रङ्गमञ्च नै बेग्लै भएको अनुभुत हुन्थ्यो ।

आमासँगै हामीपनि आमाको पटुकीको टुप्पो समाउदै मामाघर गयौँ भने घरमा हुनुहुने बा, हजुरबा, हजुर आमाहरु निराश बन्नुहुन्थ्यो । सबैको घरमा यही हुन्थ्यो परिस्थिति त्यसैले पनि सासु र बुहारीको सम्बन्धलाई फरक छुट्टयाउने गरिएको रहेछ । तर, बुहारी आफ्नै साथमा हुनु सासु ससुराको प्रेम र साथमै राख्न खोजेको सकारात्मक पक्ष पनि हो । पारिवारिक सम्बन्धलाई र घरलाई कसरी प्रेमपूर्ण र सन्तुलनमा राख्ने भन्ने बाहाना पनि थियो ।
तीजको दर खाने दिन बिहानैदेखि आमा भान्छामा दर पकाउन व्यस्त हुने गर्नुहुन्थ्यो । हामी केटाकेटीहरू फुपूहरू र वरपरका चेलीबेटी आँगनभर जम्मा भएर नाच्न र गाउन व्यस्त हुनेहुँदा तरकारीको जोहो २–४ दिन अघि नै गर्नुहुन्थ्यो । गोठमा रहेका गाई भैंसीलाई घाँस काटेर एक दुई दिन अगाडीदेखी नै उरुङ बनाएर राख्थ्यौ । दर खाने भनेको दिन तामाको तरकारी, काँक्राको अचार, घिऊ हालेको भात र लैना बकेर्ना भैंसीको मिश्रीत दहि भएपछी गतिलो दर मानिन्थ्यो ।

गाईभैंसीलाई घाँस र कुडो पानीको व्यवस्था पनि दुई तीन दिन अघिदेखि नै गरेर उम्किन्थ्यौं हामी । त्यो दुई तीन दिन अघि देखिको आमाको योजनामा हामीपनि आँसी (हँसिया) लिएर आमाको पछि पछि जान्थ्यौं । जानी नजानी काटेको घाँस पनि आमाले आँखा छलेर डोको बेस्सरी खाँजिदिनुहुन्थ्यो । जति ठूलो भारी भयो आमा त्यति नै खुसी हुनुहुन्थ्यो । आमाको खुसीमा हाम्रो खुसी मिसिन्थ्यो त्यसैले पनि घाँस काट्दा कथमकदाचित हात काटिहल्यो भने आमाले त्यही काटेको ठाउँमा पिसाब गर भन्नुहुन्थ्यो काटेको ठाउँबाट रगत बग्न छोड्थ्यो फेरि आमाले टोप्रे झार निचोरेर त्यही घाउमा लगाउँदै आफ्नो पटुकीको फुर्को च्यातेर बाँधिदिनुहुन्थ्यो अनि फेरि घाँस काट्न शुरु गरिन्थ्यो । उता घाँस धेरै देखेपछि बुबाले पनि अरू दिन भन्दा धेरै घाँस गाईभैंसीलाई दिनुहुन्थ्यो ।

आमा र हामी झगडा गर्थ्यौं किन धेरै घाँस खर्च गरिदिनुभएको भनेर । कुवाको पानी गाग्रीमा बोक्नु पर्ने । हामी आमाको पछिपछि लाग्थ्यौं । हाम्रो लागि बुबा, हजुर आमाले पानी ओसार्न पाँच लिटर का जर्किन (ग्यालिन) ल्याईदिनुहुन्थ्यो । पछि आमाले बोक्ने गाग्रीमा पानी बोक्न सक्यौं भने खुसी हुन्थ्यौं र फुर्किदै तीन चार खेप बढी पानी बोक्ने गर्थ्यौं । आमाले घर लिप्दा दैलो छोरी नातिनीहरुले लिप्नु हुन्न भन्ने चलन थियो तर हामी आँगनका ढिकमा तिहारलाई चाहिन्छ भनेर सयपत्री र मखमलीका फुलका बिरुवा लगाउँथ्यौं । आमाको मायाँ र सहकार्यले पनि पर्वको महसुस गराउथ्यो ।

अहिले आमा नभएपनि प्रत्येकका घरमा दर पाकेकै हुन्छ होस नहोस अरुलाई देखाउनकै लागि खसीको मासु ल्याउनुपर्छ, ऋण खोजेरै भएपनी गलामा सिक्री हातमा ब्रास्लेट अनि कानमा झुम्काना अनिवार्य देखाउनै पर्छ नभए महिलाहरुलाई तीज आएको महसुस नै हुदैन । नहुनेकी छोरी हुने घर खानदानमा परेको भए उसले खान बस्न मीठो हुँदैन भनेर माईतीलाई बिर्सेका कैयन तथ्यांकहरु छन् । क्याटरिङ्ग र रेस्टुरेन्ट अनि पार्टी प्यालेसमा पनि तीज अरू धुमधामले मनाइन्छ तर पारिवारिक सहकार्य र प्रेम अनि अपनत्व नजिकबाट अनुभूति गर्न नपाईने भएको छ । आफ्ना दिदीबहिनीको सट्टा साथीभाई र आफन्तजनसँग पनि पर्व मनाइन्छ तर आफ्ना सँगको हाँसो ठट्टा र झगडा, यो भएन र त्यो भएन, त्यो कपडा म लगाउने, यो तिमी लगाऊ जस्ता क्षण र त्यसको मज्जा अर्कै हुन्थ्यो । तीजको दरमा पहिलेको स्वाद भेट्न मुस्किल पर्छ ।

आमा नभएको घरमा सुन्दरता र प्रेम हुँदैन, कतै कहीँ केहि अभाव र अपूर्णता महसुस हुन्छ । आमालाई भान्छाको कामबाट एकछिन फूर्सद निकालेर आँगनमा ल्याएर तीजका झोरा (गीत) गाउदै थपडी बजाउदै नचाएको क्षण । को राम्रो नाच्ने, जिस्किदै, कसले गीत निकाल्ने होडबाजी गर्दै स्वस्फुर्त माहोलको महत्व र रमाइलो अर्कै हुन्थ्यो। दर खाने दिनको भोलिपल्ट हरितालिका तीजको व्रत बस्ने भएकोले राति बाह्र बजेसम्म दर खाने प्रचलन थियो । तीजको पर्सीपल्ट पञ्चमी पर्ने भएकोले दिदीबहिनीहरु बिच बिचमा नाचगान गर्दै दतिवनले दाँत मस्काउदै खोला किनारमा जान्थे । पछिल्ला केहि वर्षयता तीजका गीत, नाच, भाका, शब्द र भाव सुन्दा र देख्दा बैमनस्यताले मन चुलिन्छ । पहिले हामी तीजका झोरा (गीत) सुन्न स्कुल, चौतारी र चौरमा जान्थ्यौ गाउँभरीका चेलिबेटीहरु जम्मा भएर थपडी बजाउँदै झोरा गाउनुहुन्थ्यो। गाउँ समाजमा घटेका घटना वा अन्य बिषयमा आफैले गीत बनाएर लेखेर तिनै गीत गाउँदा वास्तविकता झल्किन्थ्यो ।

यसको अर्थ मैले विरोध गर्न खोजेको भने होइन तर मौलिकताको खोजी र लोकभाकाप्रतिको प्रेम अवश्य हो । आखिर जे भएपनी याद आउँछ ति मौलिकताको, लोकभाकाको, मौलिक अस्तित्वको किनकी असली कुरा बिर्सन चाहेर पनि बिर्सिन गार्हो हुने रहेछ । हाम्रो आधार र मौलिकता नै भक्तिभाव हो । जो व्यक्ति भक्तिभावमा रहन्छ उसकै जीवन सहज र सरल हुन्छ । प्रार्थना, अनुष्ठान, ध्यान सबै आफ्नो शरीर र मनका शुद्दिकरणका उपाय हुन् । आस्तिक, नास्तिक जे भएपनि शरीर, मन, भाव र आत्मासम्मको बोध गर्न सक्ने अथाह शक्ति सृष्टिले मानिसलाई दिएको छ । कर्मकाण्डमा रहेर मात्र पूजा र आराधनाको फल अवश्य मिल्दैन ।
बाहिर दियो बाल्नु अस्वाभाविक छैन तर मनभित्र अन्धकार छ कि छैन ? मनको अन्धकार के ले मेटाउने ? मनमा प्रेम छ कि अहंकार, छुद्रता छ कि दया, सहयोगी भावना छ कि इर्ष्याको भावना अझै बाँकि छ त्यो मन्दिर गएर थाहा हुन्न ध्यानको माध्यमबाट आफैंले देख्न सक्नुपर्दछ । पार्वती र शिवको बिचमा जुन आध्यात्मिक प्रेम थियो, जुन भक्तिभाव थियो र शिवत्वको गुण खिलेको थियो त्यो आफ्नो जीवनमा र व्यवहारमा उतार्न सक्नु वास्तविक व्रत र आराधना हुन्छ ।

एक दिन तीजको वर्तले भन्दा पनि वर्षैभरी श्रीमानको कार्यमा, भावनामा सघाउन र प्रेम दिन सक्नु अरु ठूलो व्रत हुनेछ । श्रीमान श्रीमतीबिचको प्रेमले आफ्नो परिवार र आफन्तजन सबैको जीवनमा खुसी छाएको हुन्छ । जीवन प्रेमको अभिव्यक्ति हो, प्रेम सृष्टिको उच्चतम शक्ति हो। प्रेममा असम्भव भन्ने र स्वार्थ भने भाव नै रहन्न । हुनत संसारमा प्रयोग हुने स्वार्थ र वास्तविक स्वार्थको अर्थ फरक छ । आफूलाई र आफ्नो स्वभाव अनि प्रेमलाई केन्द्रमा राखेर गरिने व्यवहार स्वार्थ हुनुपर्ने हो तर संसारमा यसको उपयोग विपरित भइरहेको छ । हरेक पर्व र पूजा, आराधना अनि देवी देवताको प्रसंग आउनु मानव जीवनलाई उत्कृष्टतामा बाँच्न सिकाउने रूपान्तरणका आयाम हुन । जदौ ।।
बागलुङ, हाल कुवेतबाट