‘मातृभाषा मुटुको स्पन्दन हो’

मेचीकाली संवाददाता

२६ बैशाख २०८३, शनिबार
141 shares

बुद्धिसागर भट्टराई

संसारभरका मानिसहरू बोल्छन्, भाषण गर्छन्, पढ्छन्, पढाउँछन्, शासकहरू फर्मान जारी गर्छन् र जनता त्यसको अनुपालन गर्दछन् । यो सबै बोलीको माध्यमबाट गरिन्छ । यही बोलीको नाम भाषा हो । भाषाका मुख्य तीन भेद हुन्छन् छन्ः मौखिक, लिखित र साङ्केतिक । भाषाको इतिहास मानव जातिको इतिहास जत्तिकै पुरानो रहेको छ । भाषा सामान्यतया मान्छेका विचार विनिमय र भाव अभिव्यक्ति को माध्यम हो । अर्को शब्दमा बोधगम्यता हुने हैसियत भएको श्रव्य ध्वनिको नाम भाषा हो ।

वाणीका हिसाबले भाषालाई तिन भागमा विभाजन गरिएको हुन्छः मातृभाषा, दोस्रो भाषा र विदेशी वा अन्तर्राष्ट्रिय भाषा । सर्वप्रथम आमाको काखबाट सिकेको भाषा नै मातृभाषा हो । आफ्नो घरबाहिर छ र छिमेकमा रहेका अन्य समुदायका मानिसहरू र साथीसङ्गातीहरूबाट सिकेको भाषालाई दोस्रो भाषा भनिन्छ भने विद्यालयमा गएपछि सिकेको भाषा विदेशी वा अन्तर्राष्ट्रिय भाषा (हाम्रो सन्दर्भमा अंग्रेजी) तेस्रो भाषा हो ।

मातृभाषा मुटुको स्पन्दन हो । आफ्ना अन्तर्मनको गहिराइमा उकुसमुकुस भएर रहेका भावनाहरू पोख्न वा अभिव्यक्त गर्न मातृभाषा नै चाहिन्छ । जतिसुकै भाषाको जानकारी भएपनि आफ्नो मातृभाषामा व्यक्त गर्दाको जस्तो आनन्द र मौलिकपन अरू भाषाबाट हुँदैन । अन्तर्मनका व्यथा पोख्न र चरम आनन्दानुभूतिको भाव व्यक्त गर्न आफ्नै मातृभाषा चाहिन्छ ।
नेपाल विश्वमानचित्रमा महासागरको सानो विन्दु जत्रो देखिए पनि हजारौं वर्षदेखि बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका रूपमा रहँदै आएको छ । यहाँ आर्य, मङ्गोल, आष्ट्रिक र द्रविड लगायत विभिन्न मूलका समुदायहरूको मिश्रित बसोबास छ । विभिन्न उद्गमका १४० भन्दा बढी जातजाति, १२४ भन्दा बढी भाषाभाषी र विभिन्न धर्म एवं संस्कृतिको अवलम्बन गर्ने जनताको बसोबासको यो साझा चौतारी हाम्रो विशेषता तथा बहुमूल्य सम्पदा हो ।

मातृभाषा र सम्पर्क भाषाको रूपमा नेपालीः
नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनुका साथै यो बहुसंख्यक नेपालीको पुल भाषा पनि हो । राईका मात्र झन्डै ३० भाषा छन् जसलाई एकजना चाम्लिङ राईले साम्पाङ राईको भाषा बुझ्दैन । ती दुई समुदायका मानिसहरूले आपसमा नेपाली भाषाको माध्यमबाट संवाद गर्नुपर्छ । २०७८ सालको राष्ट्रिय जनगणनाले नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्नेको सङ्ख्या १,३०,८४,४५७ अर्थात् ४४.८६ प्रतिशत देखाइएको छ । तथ्यांकले जे–जस्तो डेटा देखाए पनि व्यवहारमा त्योभन्दा धेरै फरक छ।यस भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्नेहरूको संख्या ६० प्रतिशत भन्दा बढी हुनुपर्छ किनभने, धेरै जनजाति भनिनेहरूले नबुझेर वा बुझ पचाएर पुख्र्यौली भाषालाई नै मातृभाषा उल्लेख गरेको देखिएको छ; जबकि उनीहरूले आमाको काखबाट सिकेको भाषा नेपाली हो।

सामान्यतया सहर पसेका जनजाति र र गाउँ पसेका नेवारी समुदायले पुख्र्यौली भाषा बोल्न छाडेको देखिन्छ, बोल्दैनन् । उदाहरणको रूपमा गुल्मी, अर्घाखाँची, बाग्लुङ जिल्लाका मगरहरू पुख्र्यौली भाषा बोल्दैनन् । किन बोलेनन् वा जानेनन्, त्यो बहसको विषय हो । तर,उनीहरूले आफ्नी आमा वा परिवारबाट सिकेको भाषा नेपाली नै हो । नयाँ पुस्ताले आफ्नो पुख्र्यौली भाषा सिक्न पनि खोज्दैनन्।हाम्रो सामाजिक बनोट अलि विशिष्ट खालको छ । हाम्रो मिश्रित समाज हो । धेरै समुदायका मानिसहरू आपसमा मिलेर एकैठाउँमा बसेका छन् । बालबालिकाका साथीसङ्गाती सबै समुदायका रहेका हुन्छन्।सबैले आपसमा बोल्दा नेपाली भाषालाई नै माध्यम बनाउँछन् ।

अर्को कुरा नेपाली इतरका भाषाभाषीहरूले आपसमा संवाद गर्ने माध्यम पनि नेपाली हो, किनभने एकले अर्काको भाषा बुझ्दैनन् ।

भाषा बोल्नेको हुन्छ
वर्तमान अवस्थामा ९० प्रतिशत भन्दा बढी मुलुकहरूमा केहीमा राष्ट्रभाषा र केहीमा सरकारी कामकाजको भाषाको रूपमा अंग्रेजी भाषा प्रयोग हुन्छ । त्यसको इतिहास यस्तो छः प्राचीन कालमा जर्मनीको एउटा सानो समूहमा रहेका जनजातिले ब्लनभिजसलाई आज अंग्रेजी भनिन्छ,बोल्ने गर्थे । त्यसका अतिरिक्त डेनमार्क र नेदरल्यान्डसको सानो भूभागमा यो भाषा बोलिन्थ्यो । ५–७ शताब्दीतिर यो जनजातिले ब्रिटेनमा आक्रमण ग¥यो रत्यहाँको शासकलाई परास्त ग¥यो । त्यसपछि त्यस समूहले आफ्नो शासनसत्ता कायम ग¥यो । तिनीहरूले आफ्नो भाषालाई राष्ट्रभाषा बनाए । वर्तमान अवस्थामा त्यही Anjel भाषा अंग्रेजी अन्तर्राष्ट्रिय भाषा बनेको छ । अहिले यस्तो अवस्थाको सिर्जना भएको छ कि आफ्नो भाषा नजाने पनि अंग्रेजी जान्नैपर्ने बाध्यात्मक अवस्था छ । राम्रो जागिर पाउन, अन्तर्राष्ट्रिय व्यापार गर्न, आधुनिक ज्ञान–विज्ञान र प्राविधिक ज्ञान हासिल गर्न अंग्रेजी जान्नु अनिवार्य जस्तै छ ।

भाषा बोल्नेको हुन्छ । पुख्र्यौली भाषा नै मातृभाषा हुन्छ भन्ने हुँदैन । युरोप वा अमेरिकातिर गएका नेपालीका छोराछोरीहरूले नेपाली वा आफ्नो पुख्र्यौली भाषा जान्दैनन् । उनीहरूको मातृभाषा अंग्रेजी बनेको छ ।
भाषा समृद्ध हुनका लागि धेरै कुराको आवश्यकता पर्छ । जुन भाषाले अन्य भाषाका शब्दहरूलाई आफूमा समाहित गर्न गर्न सक्छ, त्यो भाषा त्यति नै समृद्ध हुन्छ । अंग्रेजीमा लेटिन, जर्मन, संस्कृत, हिन्दी आदि धेरै भाषाका शब्दहरू रहेका छन् । जुन भाषामा विज्ञान र प्रविधिको विकास हुन्छ, समृद्धिको मुख्य आधार त्यो पनि हो ।

खस–आर्यहरूको पुख्र्यौली भाषा ‘संस्कृत’ हो भनिन्छ, परन्तु कति खस–आर्यले संस्कृत जान्दछन् ? सम्भवतः १ प्रतिशतले संस्कृतमा संवाद गर्न सक्दैनन् । त्यसैले आमाको काखबाट जुन बोली सिकिन्छ, त्यो नै मातृभाषा हो । अस्तु..