टोपलाल अर्याल
गुल्मी । गुल्मी जिल्लामा ४५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । अझै ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् । ०७८ सालको जनजगणनाअनुसार जिल्लाको जनसंख्या दुई लाख ४६ हजार आठ सय ३६ रहेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयका अनुसार अहिलेसम्म ५३ हजार आठ सय ९३ जना पुरुष र ५७ हजार सात सय छ महिला गरेर एक लाख ११ हजार पाँच सय ९९ जनाले स्वास्थ्य बिमा गरेका छन् । साधरण तथा अर्थात् शुल्क तिरेर ७८ हजार पाँच सय ९४ जनाले बिमा गराएका छन् ।
जेष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा हुने गरेको छ । जेष्ठ नागरिक १५ हजार आठ सय ४१ एचआईभि संक्रमित चार सय ६२ जना, ‘क’ वर्गका अपाङ्ग तीन हजार छ सय ८२, कुष्ठरोगी र जटिल खालको क्षयरोग लागेका २५ जनाले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए । त्यस्तै ५० प्रतिशत छुटमा चार हजार ३६ महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य बिमा गराएको दर्ता अधिकारी घिमिरेले बताए ।
कुन पालिकामा कति बिमा ?
जिल्लाका १२ स्थानीय तहमध्ये मदाने गाउँपालिकाका नागरिकले सबैभन्दा कम स्वास्थ्य बिमा गराएको पाइएको छ । मदाने गाउँपालिकामा दुई हजार सात सय ६० जनाले बिमा गरे भने रेसुंगा नगरपालिकामा सबैभन्दा बढी २१ हजार ९४ जनाले बिमा गरेका छन् । गाउँपालिकामध्ये सत्यवति गाउँपालिकाका १४ हजार दुई सय ५३ जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी घिमिरेले बताए । त्यस्तै घिमिरेका अनुसार रुरुक्षेत्र गाउँपालिकामा १२ हजार सात सय ८२, छत्रकोट गाउँपालिकामा ११ हजार ८२, चन्द्रकोटमा पाँच हजार ५ सय ६७, गुल्मी दरवारमा नौ हजार दुई सय ५७, कालीगण्डकीमा छ हजार एक सय ३०, इस्मामा छ हजार ३८, धुर्कोटमा आठ हजार छ सय २१, मुसिकोट नगरपालिकामा छ हजार सात सय ९७ र मालिका गाउँपालिकामा सात हजार दुई सय २० जनाले स्वास्थ्य बिमा गरेका छन् ।
स्थानीय तहद्वारा बिमामा अनुदान
जिल्लाका केहि स्थानीयतहले नागरिकलाई स्वास्थ्य बिमामा उत्प्रेरित गरिरहेका छन् । चन्द्रकोट गाउँपालिकाले नीति तथा कार्यक्रममै घोषणा आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य बिमामा ५० प्रतिशत प्रिमियम गाउँपालिकाले बेहोर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । हालसम्म दुई सय ५० परिवार गाउँपालिकाको सुविधाबाट लाभान्वित भएको बिमा बोर्डको सम्पर्क शाखा कार्यालयले जनाएको छ । दुई सय ५० जनाको ५० प्रतिशत प्रिमियम अर्थात् पाँच लाख ५५ हजार चन्द्रकोट गाउँपालिकाले भुक्तानी गरेको छ ।
त्यस्तै मदाने गाउँपालिकाले पालिकाका सबै ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिमामा सहुलियत गरिदिएको छ । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं ३ र ४ ले ८३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराएको छ । नगरले दुई लाख ९७ हजार चार सय बजेट बिनियोजन गरेर बिमाको लाभ आवश्यक रहेका ८३ घर परिवारको स्वास्थ्यबिमा गराएको हो । परिवार संख्याको आधारमा तीनहजार पाँच सयदेखि चार हजार दुई सयसम्मप्रति परिवार बिमा रकम वडाले भुक्तानी गरेको छ ।
जिल्लाका ६ संस्थामा बिमा कार्यान्वयन
गुल्मी जिल्लाका ६ स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यान्वयनमा रहेको छ । नागरिकले जिल्लाभित्र गुल्मी अस्पताल तम्घासहित धुर्कोट, श्रृङ्गा, जोहाङ, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र, गुल्मीबाट बिमाको सुविधा पाउँछन् । बाहिर रेफर गरेर उपचार गर्न जानेहरु पनि छन् । तर, बाहिरका ठुला अस्पतालमा रेफर हुनेहरुले राम्रो सुविधा नपाउने गरेको गुनासो बढिरहेको छ । बाहिरका अस्पतालमा पालो नपाउने, पाएपनि राम्रो उपचार नहुनेलगायतका गुनासो आउने गरेका छन् ।
कार्यालय आफैँ पीडामा
जिल्लाको जनसंख्याको आधारमा अझै धेरै नागरिक स्वास्थ्य बिमाको पहुँचमा छैनन् । करिब साढे दुई लाख जनसंख्यामध्ये भर्खर एक लाख बढीले बिमा गरेका छन् । त्योमध्ये पनि बिमाको उद्देश्यअनुसारका बिपन्न नागरिक बिमाको कमभन्दा कम पहुँचमा छन् । बिमा बोर्डको स्थायी सरचना र प्रयाप्त जनशक्ति छैनन् । जसका कारण अस्पतालहरुको बिमाको अवस्था अनुगमन तथा निरीक्षणको अभाव रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी अनिल जिसीले जानकारी दिए ।
त्यस्तै जिल्लामा तीन हजार पाँच सय पनि उपलब्ध गराउन नसक्ने परिवारहरुका कारण बिपन्नलाई बिमाको पहुँचमा ल्याउन समस्या भएको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी घिमिरेका अनुसार अतिगरिब परिवारलाई निशुल्क बिमा गर्ने कार्यक्रम गुल्मीमा कार्यान्वयनमा छैन । जिल्लामा दुई दर्ता अधिकारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।
नेत्रज्योति संघद्वारा बिमामार्फत आँखा उपचार
नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीले आँखा उपचारलाई स्वास्थ्य बिमासँग जोडेको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डबाट स्वीकृत प्राप्त गरेसँगै केन्द्रले जिल्लामै पहिलो सामुदायिक संस्थाको रुपमा स्वास्थ्य बिमामार्फत आँखाको उपचार सुरु गरेको छ । बीमितले उपचार बापत २० प्रतिशत सहभुक्तानी गर्नुपर्नेछ । बिमा सुरु भएपछि १२ साउनमा सञ्चालित शिविरबाट ११ जनाले मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् ।
शल्यक्रिया गरेका २३ जनामध्ये ११ जनाले बिमाबाट र १२ जनाको विभिन्न पालिकाहरुको सहयोगमा शल्यक्रिया गरेको नेपाल नेत्रज्योति संघका सचिव पदम पाण्डेयले जानकारी दिए । अहिले जिल्ला आँखा उपचार केन्द्रमा गुल्मी जिल्लाको जुनसुकै स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु बनाएका नागरिकले पनि रेफर बिनानै सेवा प्राप्त गर्न सक्ने पाण्डेले बताए । उनले बिमामार्फत आँखा उपचार केन्द्रमा नाम दर्ता, ओपिडी सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा लिन सकिने बताए । निःशुल्क शल्यक्रियाका लागि यस अघि सम्झौता गरेका पालिकाहरुले सो सेवालाई निरन्तरता दिने र बिमा गरेका नागरिकका लागि भुक्तानीको २० प्रतिशत रकम पालिकाबाटै बेहोर्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ ।