नवदुर्गाः जीवनका नवरस !

मेचीकाली संवाददाता

१७ आश्विन २०८१, बिहीबार
315 shares

घनश्याम कोइराला

आज घटस्थापना हो । आजदेखि बडादसैँ २०८१ प्रारम्भ भयो । आज संसारका सनातन संस्कृतिका अनुयायीहरूका घरघरमा पूर्णताको प्रतीक घडालाई सिँगारेर, नदीहरूको जलको मान्यता राखी सर्वे समुद्राः सरितस्तीर्थानि जलदा नदा…आदि मन्त्र उच्चारण गदै भरिएको घडालाई व्यवस्थित रूपमा स्थापना गरिन्छ । जल, घट, पूर्णता आदि बिम्ब हाम्रो चिन्तन पद्धतिका आधार हुन् ।

आजैदेखि नवदुर्गाको पूजा प्रारम्भ हुन्छ । नवदुर्गा भनेको नौवटी देवीहरूको समूह हो । यी नौ देवी हुन्–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री । यिनका फरकफरक विशेषता छन् । सबैका स्वरूप, परिधान, वाहन, आसन फरक फरक छन् । यी नौ देवीका कथाका क्रममा ठूलो युद्ध र विजयको कुरा थाहा पाइन्छ ।
आजदेखि दुर्गासप्तशती चण्डी (जसलाई चलन चल्तीमा चण्डी मात्र भनिन्छ) पाठ गरिन्छ । यहाँले चण्डी पाठ गर्नुभयो ? गर्नुभएको छैन भने आजदेखि सुरु भएको यस पटकको बडादसैँमा मन लगाएर, विधि पु¥याएर चण्डी पाठ गर्नुहोस् । पाठ गर्नु भनेको पढ्नु हो । तर विधि पु¥याएर चण्डी पाठ गर्नु भनेको यसका अन्तर्वस्तुहरूबारे थाहा पाउनु हो । धेरैजसो भौतिकवादी र आधुनिकहरूले यसलाई अन्धविश्वास मान्दछन्, किनभने उनीहरूको दृष्टिकोण प्रायः अन्धविश्वासयुक्त छ । पुराना कुरा काम लाग्दैन, धर्म भनेको आडम्बर हो, अफिम हो, प्राचीन प्रवन्धहरू सामन्तवादका पक्षपोषक हुन् आदि अन्धविश्वास भौतिकवादी र आधुनिकतावादीहरूले बोक्ने र बोल्ने गरेका विषय हुन् । पढ्दै नपढी, बुझ्दै नबुझी विरोध गर्नु अन्धविश्वास हो ।

दुर्गासप्तशती पाठ गर्दा गर्नैपर्ने विषय भनेको न्यास हो । न्यास भनेको स्थापना गर्नु, सुनिश्चित गर्नु भनिएको हो । न्यास गर्दा अङगुष्ठादि करन्यास, हृदयादि अङ्गन्यास र पूर्वादि दिङ्न्यास गरिन्छ । यसरी शरीरका हातका औँलाहरू, सबै अङ्गहरू, बाहिरका सबै दिशाहरूबाट सुरक्षित हुने अवधारणा रहेको छ । कीलक, कवच, अर्गला स्तोत्रका विशेषार्थ छन् ।

पर्वहरू अन्धविश्वासका स्रोत होइनन् । जानेर गरे विश्वास र नजानेर गरे अन्धविश्वास हुन्छ । पर्वहरूमा धर्म, अर्थ, काम, मोक्ष चारै पक्ष छन् । यसमा चिन्तनको पक्ष छ । यसमा सम्बन्धहरूको प्रबलीकरणका पक्ष छन् । यसमा दायित्वबोधको शिक्षा छ । केही कथा र कर्मकाण्डका विषय समयसापेक्ष नहुनु नौलो कुरा भएन । संस्कृति सधैका लागि, सबैका लागि आवश्यक छ तर त्यसको निरन्तर परिमार्जन आवश्यक हुन्छ । परिष्कार गर्नुपर्ने विषयलाई च्यात्तै छोड्नु, औँला भाँचीभाँची अझ कमजोरी मात्र औँल्याउनु मूर्खता हो ।

मानिसको जीवनमा मनोविज्ञानले ठूलो अर्थ राख्दछ । सबै कुरा तथ्यगम्य र तर्कगम्य मात्र हुँदैन, कतिपय कुरा बोधगम्य हुन्छ । मनले जान्दछ, मनले ठान्दछ तर व्यक्त गर्न जानिँदैन वा सकिँदैन । विद्वान्हरूले साहित्यमा शृङ्गार, वीर, करूण, अद्भूत्, हास्य, भयानक, बीभत्स, रौद्र र शान्त गरी नौवटा भावरस हुने बताएका छन् । देवीका कथामा यी नौवटै भावरस यथेष्ट मात्रा भेटिन्छ । यसकै लागि भए पनि चण्डी त पढ्नैपर्ने हुन्छ । संस्कृत नजान्नेहरूका लागि हिन्दी, नेपालीलगायत भाषामा अनुवाद पनि पाइन्छ ।
हामीले दसैलाई खानपानको पर्वको रूपमा पनि मनाउने गर्दै आएका छौँ । यसमा अनेकौँ प्रकारका रोटी, अचार, तरकारीका साथै मांसाहारीहरूले मासु पनि खाने गरिन्छ । पर्वलाई दोष नलगाउन खानाको मात्रा र स्वादको हेक्का आफैँले राख्नुपर्ने हुन्छ । जानकारहरू खानामा छ प्रकारका रससार वा स्वादको कुरा गर्दछन् । मनोविज्ञानमा प्रभाव पार्ने नवरस जस्तै खानामा पाइने षड्रसको ठूलो महत्व रहेको पाइन्छ । ती रस हुन्–तीतो, अमिलो, पिरो, टर्रो, गुलियो, नुनिलो । यिनीहरूको असन्तुलनका कारण विभिन्न स्थायी प्रकृतिका दीर्घ रोगहरू लाग्दछन् । यिनीहरूको सन्तुलन आवश्यक छ ।

दसैंको विशिष्ट महत्व र इतिहास रहेको छ । नवदुर्गा पूजाको दसौंदिनलाई दसैं भनेर मनाइन्छ, जसलाई विजया दशमी पनि भन्ने गरिएको छ । ‘नव’ भनेको नौ हो र नयाँ पनि हो ।
‘नव’ भनेको नौवटा भावरस, बाँसुरीका नौवटा प्वाल, शरीरमा रहेका नवरन्ध्र (नौ प्वाल) जसले नौवटा इन्द्रीयहरूको प्रतिनिधित्व गर्दछन्, अङ्कहरूमा सबैभन्दा ठूलो अङ्क पनि नौ नै ।

दुर्ग भनेको गढी÷किल्ला हो, दुर्ग शब्दको अर्थ सजिलै पुग्न नसकिने ठाउँ हो, दुर्गा शक्तिस्वरूपा पार्वती हुन् जसको जन्म हाम्रै नेपालको गौरीशङ्कर हिमपर्वतमा भएको हो, पर्वतकी छोरी भएकै हुनाले यिनलाई पार्वती भनिएको हो ।
यी देवी शक्तिशाली विजयी योद्धा थिइन् भन्ने जान्न र मनन् गर्नका लागि सातसय श्लोक भएको(सप्तशती चण्डी) उनै देवीको महिमागानका रूपमा पाठ गरिन्छ, देवीशास्त्र (देवीभागवत) को कथा सुन्ने गरिन्छ । नारीशक्ति, मातृशक्तिको वर्णनसँग जोडिएको यस पर्वलाई अनेकौं बहानामा कमजोर पार्ने, बिथोल्ने, हाम्रो हो र होइनको वहस गरेर बिर्साउने प्रयत्न गरिनु हुँदैन । बरु नारीशक्तिको महिमासँग जोडिएको यो पर्वलाई महिला सशक्तिकरणको इतिहाससँग जोड्दै, थप सशक्तीकरणका लागि प्रेरणापर्वका रूपमा मनाऔं !

यी नौ दिन जोडेर नै हो नि हाम्रो दसैँ बडादसैँ भएको । हामीले दसैँ मान्ने गरेका छौँ । तर, यसमा पनि कुन जातको, कुन समुदायको, कुन धर्मको आदि कुतर्कहरू गर्ने गरिएको पाइन्छ । देवी, देवता, ऋषिमुनी यी सबैका साझा हुन् । यिनीहरूका नामको अगाडि डाक्टर, इञ्जिनियर, अधिवक्ता, पण्डित, स्वर्णकार, चर्मकार आदि केही लेखिएको छैन । यिनीहरूका नामको पछाडि शर्मा, वर्मा, विश्वकर्मा, घले, सुनुवार, बल, शाही, बस्नेत, श्रेष्ठ, महर्जन, उपाध्याय, गुप्ता, यादव, चौधरी, थापा, राना, शेर्पा, शेरचन, अली, अनसारी आदि केही पनि लेखिएको छैन । यिनीहरूले आपूmलाई हिन्दु, बौद्ध, इस्लाम, क्रिश्चियन आदि पनि भनाएनन् ।

त्यसैले हाम्रो सनातन संस्कृति लैङ्गिक, जातीय, क्षेत्रीय, धार्मिक आदि कुनै हिसाबले पनि विभेदकारी भएको देखिँदैन । मानिस मानिस बिचको लडाइँ झगडा र शक्ति सङ्घर्षबाट उब्जेका विभेदलाई संस्कृतिसँग हेर्नु बुद्धिमानी हुँदैन । बडादसैँ सबैका लागि मङ्गलकारी होस् । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)