घनश्याम कोइराला
दसैँ सकियो । दसैँलाई परम्परा निर्वाह गर्ने हिसाबले मात्र मनाउनेको सङ्ख्या ठूलो देखियो । चाडबाड होस् वा राजनीति वा जीवन व्यवहारका अन्य कुरा ‘जे भने पनि हुन्छ, जसो गरे पनि हुन्छ’ भन्ने मान्यताले अराजकता निम्त्याउँछ । हाम्रा पर्वहरू तिथि, नक्षत्र, घडि, पला गणना गरेर उपयुक्त लग्न–मुहुर्तमा मनाइन्छ ।
अन्य कुराका अतिरिक्त दसैँ स्वास्थ्य विज्ञान र रक्षा विज्ञानसँग सम्बन्धित पर्व हो । अहिलेका मानिसहरूले प्राचीन प्रवन्धहरूलाई आजकै प्रवन्धसँग ठ्याक्कै मिल्नुपर्ने अपेक्षा राख्दछन् । समाज, समाजका प्रवन्धहरू फेरिइरहन्छन् । नयाँ नयाँ शोध, खोज, अनुसन्धान र आविष्कारहरू भइरहन्छन् । पर्वहरूको समग्रता मेलमिलाप, रङ्ग–रमाइलो, खाद्य तथा पहिरनको विषयसँगै चिन्तन, ज्ञान, निरन्तरतासँग जोडिएको हुन्छ, सबैभन्दा महत्वपूर्ण कुरा यसले दिने सन्देश हो ।
यसको रक्षा विज्ञानसँग सम्बन्धित विषयको यहाँ चर्चा नगरौँ । यहाँ स्वास्थ्य विज्ञानसँग सम्बन्धित केही पक्षको मात्र चर्चा गरौँ । अहिले थुप्रै पढेलेखेका र नीतिनिर्माताहरूले बुझ्न बाँकी नै रहेको विषय दुर्गापूजाका क्रममा पाठ गरिने दुर्गासप्तशती पाठमा पढ्न पाइन्छ । शरीरका सबै अङ्गप्रत्यङ्गको नामै लेखेर तिनीहरूको रक्षाको जिम्मेवारी देवीहरूलाई नै तोकिएको छ ।
त्यसमा लेखिएका यी श्लोकहरू अध्ययन गरेर स्वास्थ्य जनचेतना अभिवृद्धिमा लाभान्वित हुन र योगदान गर्न सकिन्छ । दुर्गासप्तशती चण्डीमा ‘जया मे चाग्रतः पातु……..जयन्ती पापानाशिनी’ (देव्याकवचम् को श्लोक सङ्ख्या २०—४२) सम्मका श्लोक (मन्त्र) हरूमा यसबारे विस्तृत जानकारी पाइन्छ । तर, हामीले त दसैँलाई ‘निधारमा रातो, पेटमा तातो’ मात्र बुझ्ने गरेका छौँ । यद्यपि, पाको पुस्ताले भनेको ‘निधारमा रातो, पेटमा तातो’को सन्दर्भ भिन्नै हो । ‘जया मे चाग्रतः पातु……..पाठमा भनिएको यस्तो छ:
अघिल्तिर जयाले, पछिल्तिर विजयाले, देब्रेतिर अजिताले, दाहिनेतर्फ अपराजिताले, शिखाको उद्योतिनीले, उमाले टाउकाको, निधारको मालाधरीले, यशस्विनीले आँखीभौँको, आँखीभौँको बिचमा त्रिनेत्राले, नाकको यमघण्टाले, दुई आँखाको बिचमा शङ्खिनीले, कानको द्वारवासिनीले, कालिकाले गालाको, कानका जराको शाङ्करीले, नाकभित्र सुगन्धाले, माथिल्लो ओँठको चर्चिकाले, तल्लो ओँठमा अमृतकलाले र जिब्रोमा सरस्वतीले रक्षा गरून् ।
कौमारीले दाँतको, चण्डिकाले समग्र कण्ठको, चित्रघण्टाले घाँटीको, महामायाले तालुको, कामाक्षीले चिउँडोको, सर्वमङ्गलाले बोलीको, भद्रकालीले गर्धनको, धनुर्धरीको पिठ्यूँको, कण्ठको बाहिरी भागको नीलग्रवाले र कण्ठनलीको नलकूबरीले, दुईवटै काँधको खड्गिनीले, दुवै पाखुराको वज्रधारिणीले, दुवै हत्केलाको दण्डिनीले, औँलाहरूको अम्बिकाले, शूलेश्वरीले नङको, कुलेश्वरीले पेटको रक्षा गरून् ।
महादेवीले स्तनहरूको, शोकविनाशिनीले मनको, कामिनीले नाभीको, गुह्येश्वरीले गुह्यको, पूतना र कामिकाले लिङ्गको, महिषवाहिनीले गुदाको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले घुँडाहरूको, महबलाले दुवै पिडुँलाको, नारसिंहीले गोलीगाँठाको, तैजसीले गोडाको पछिल्लो भागको, श्रीदेवीले गोडाका औँलाहरूको, तलवासिनीले पैतलाको, दंष्ट्राकरालीले नङको, ऊध्र्वकेशिनीले (मास्तिर रौँ ठडिएकी) केशको, कौबेरीले रौँका प्वालहरूको, वागीश्वरीले छालाको, पार्वतीदेवीले रक्त, मज्जा, बोसो, मासु, हाड र मेदको, कालरात्रिले आन्दाको, मुकुटेश्वरीले पित्तको, पद्मावतीले मूलाधार र कमलकोशहरूको, चूडामणिले कफको, ज्वालामुखीले नङको जेजिलोपनको, अभेद्याले जोर्नीहरूको, ब्रह्माणीले वीर्यको, छत्रेश्वरीले छायाको, धर्मधारिणीले अहंकारको, वज्रहस्ताले प्राण, अपान, व्यान, उदान, समान वायुको, कल्याणशोभनाले प्राणको, योगिनीले रस, रूप, गन्ध, शब्द र स्पर्श तन्मात्राको, नारायणीले सत्व, रज, तम गुणधर्मको, वाराहीले आयुको, वैष्णवीले धर्मको, चक्रिणीले यश, धन, विद्याको, इन्द्राणिले गोत्रको, चण्डिकाले पशुहरूको, महालक्ष्मीले सन्तानको, भैरवीले पति–पत्नीको, सुपथा र क्षेमकरीले बाटो र जीवनपथको, महालक्ष्मीले दरबारको (प्रशासनिक केन्द्रको), विजयाले रक्षा गरून् ।
यसरी सबै डरहरूबाट जोगाउने जिम्मेवारी विभाजन गरिएको छ । यसरी सम्पूर्ण सुरक्षाको विषय उल्लेख गरिएको छ । यहाँ उल्लेख नगरिएका अन्य क्षेत्र र विषयको रक्षा नवदुर्गाले समग्रतामा रक्षा गर्ने प्रावधान छ ।
यति मात्र होइन, मातृयुगमा ‘शान्तिकर्मणि सर्वत्र तथा दुःस्वदर्शने । ग्रहपीडासु चोग्रासु महात्म्यं शृणुयान्मम । (सबैतिरको शान्ति कार्यका लागि, नराम्रो सपना देख्दा, ग्रहहरूका कारण अत्यन्त पीडाको अवस्था आउँदा मेरो महात्म्य सुन्नू) भनिएको छ । यसको तात्पर्य केहो भने त्यहाँ लेखिएअनुसारका जिम्मेवारी सबैले बुझून् भन्ने हो । यसको तात्पर्य स्पष्ट छ, अरु दुःख छोडौँ सपना पनि नराम्रो देख्न पर्दैन थियो, सबै सुखको भरपर्दो व्यवस्थामा ध्यान दिइएको थियो । देवीको कथा सुन्दा सङ्घर्षशील हुने प्रेरणा पाइन्छ । आमाहरू कति बलिया, कति दूरदर्शी, कति ज्ञानसम्पन्न, कति कार्यकुशल र कति प्रतिबद्ध थिए भन्ने थाहा पाइन्छ ।
बुढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको ज्ञान आशीर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको सङ्गमको रूपमा मनाइने दसैँ वास्तवमा ठूलो चाड हो । ठूलो महत्व दिइएको नेपाली मौलिकता र विशेषताको चाड हो । बडादसैँ मातृशक्तिको महिमा आत्मसात् गरिएको ठूलो सांस्कृतिक पर्व हो । यसमा युद्ध, शान्ति, शक्तिपृथकीकरण र विस्तृत कार्यविभाजनको अनुपम उदाहरण समेटिएको छ ! यो पर्व ज्ञान, भक्ति, शक्ति र योगका लागि महत्वपूर्ण छ । शक्तिपृथकीकरण र कार्यविभाजनको महत्वबारे बुझ्न उपयोगी छ ।
हामीले हाम्रा पर्वहरूलाई बुझेर मनायौँ भने जीवनका लागि अत्यन्तै उपयोगी शिक्षा र सन्देश प्राप्त हुन्छ । हामीले हाम्रो संस्कृतिमा आएका विसङ्गतिहरू हटाउन सक्दछौँ । पैसा कमाउन सकिन्छ । शिक्षा र ज्ञान प्राप्त गर्न र बढाउन सकिन्छ । तर, संस्कृतिलाई सही ढङ्गले बुझाउन सकिएन भने समाजले पहिचान गुमाउँछ र ठूलो हानि बेहोर्न पर्छ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)