चारपाला सामुदायिक वनको ३१औँ वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२३ मंसिर २०८१, आईतवार
44 shares

बुटवल । बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको ३१औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाको डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले सामुदायिक वन देशकै समृद्धिसँग जोडिएको प्राकृतिक स्रोत भएकाले यसलाई उच्चतम प्रयोग गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए । खेती योग्य जमिनका छेउछाउ र खाली रहेका सार्वजनिक जग्गामा तारबार गरी वृक्षारोपण गर्न सके राम्रो आम्दानी सँगै पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनको असर समेत कम हुनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नै रहेको बताए । वनलाई कृषिसँग जोडेर कार्यक्रम गर्दा स्थानीयको आर्थिक अवस्थामा सुधार गर्न सकिनेमा उनले जोड दिए । वन क्षेत्रको विकासका लागि वडाले बिभिन्न योजनाहरू अगाडि सारेको जानकारी गराए । सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला आचार्यले वनमाथि तीन तहका सरकारले लगाउँदै आएको कर व्यवहारिक नभएको बताउँदै विभिन्न निकायमा कर बुझाउनु पर्दा खर्च व्यवस्थापन र सञ्चालन गर्नसमेत समस्या भइरहेको बताइन् ।

चारपाला सामुदायिक वनका अध्यक्ष जगतनाथ शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरी गरेका बिभिन्न कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । वनको संरक्षण, विकास र प्रवद्र्धन गर्दै, पर्यापर्यटन र सामाजिक विकासमा वनले काम गर्दै आएको बताए । वन क्षेत्रका विभिन्न ठाउँमा वन संरक्षण सचेतना सामग्री राखिएको जानकारी गराउँदै अध्यक्ष शर्माले वनको संरक्षणमा सबैजनाले सहयोग र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका कोषाध्याक्ष राजु गौडेलले आर्थिक प्रतिवेदन पस्तुत गर्दै वन पैदवार, विभिन्न संघसस्था तथा सरकारबाट सहयोग र अन्य आम्दानी शिर्षकबाट २ करोड २२ लाख ८४ हजार ४७५ रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताए । चारपाला क्षेत्रफल र उपभोक्ताका हिसावले देशैको ठूलो सामुदायिक वन हो । यसको क्षेत्रफल २०१०.०४ हेक्टर रहेको छ भने रुपन्देहीको कुल वन क्षेत्रमध्ये ७.९५५ क्षेत्रफल ओगटेको छ । बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा फैलिएको चारपाला वनमा हाल १५ हजार घरधुरी सदस्य रहेका छन् । वनले आफ्नै नर्सरी सञ्चालन गरी वार्षिक १५ हजार बिरुवा उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने तथा सार्वजनिक नदिउकास क्षेत्रको संरक्षण सँगै वृक्षरोपण गर्ने लक्ष्य लिएको छ ।

साथै वनले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, सरसफाई, दाउरा वितरण, अनुदान तथा बिभिन्न संघसस्थाहरुलाई सहयोग प्रदान गर्दै आएको कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।