परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१ पुष २०८१, सोमबार
27 shares

हेमन्त गौतम

यसभन्दा ठिक अघिल्लो अङ्क–१३ को लेखको बुँदा नम्बर २४ को दफा (अ) र (आ) मा मैले कुनै बलिरहेको भौतिक पदार्थ–ग्याँसबाट निस्केको आगोको ज्वालाको जति बढी नजिक गयो उति बढी तातो लाग्ने र जति बढी टाढा गयो उति बढी चिसो लाग्ने तर श्री सूर्य नारायणज्यूको जति बढी नजिक गयो उति बढी चिसो लाग्ने र जति बढी टाढा गयो उति बढी तातो लाग्ने तापशक्तिजन्य पूर्णरूपेण भिन्न विशेषता देखिएबाट पनि श्री सूर्य नारायणज्यू कुनै एउटा निरन्तर रुपमा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई केवल एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर हुनुहुन्छ भन्ने कुरा नै थप प्रमाणित हुन जान्छ भन्ने विषय वा प्रसङ्गसँग सम्बन्धित आफ्नो विचार आवश्यक दृष्टान्तसहित प्रस्तुत गरेको थिएँ । अबको यो लेखमा पनि म सोही विषय वा प्रसङ्र्गमा थप दफा सहित निम्न अनुसार अरु प्रष्ट पार्न चाहन्छु ।

(२४) (इ) श्री सूर्य नारायणज्यू परम चैतन्य स्वरूप एकमात्र परम प्रभु परमात्मा परमेश्वर नभई कुनै बलिरहेको ग्यासको एउटा निर्जीव भौतिक पिण्ड नै भए यस्तो भौतिक पिण्डको जति बढी नजिक गयो त्यति बढी तातो लाग्ने र जतिबढि टाढा गयो त्यति बढी चिसो लाग्ने उपर्युक्त तापशक्तिजन्य विशेषता अनुसार उहाँ श्री सूर्य नारायणज्यू जो माथि आकाशमा हुनुहुन्छ, उहाँको अपेक्षाकृत बढी नजिक पर्ने यस पृथ्वीको उच्च पहाडी क्षेत्रको शीर्ष भाग–टुप्पोतिर बढी तातो (गर्मी) लाग्ने हुँदा त्यहाँ वर्तमानमा झैं बरफ जम्न नसकी तुरुन्तै पग्लेर जाने र त्यहाँको जमिन सदा खाली रहने तर उहाँ श्री सूर्य नारायणज्यूबाट अपेक्षाकृत बढी टाढा पर्ने सो पहाडी क्षेत्रको फेंदीतिर बढी चिसो (ठन्डी) लाग्न गई त्यहाँ सो हिउँ वा बरफ बाह्रै महिना जम्ने थियो । अझ त्यसभन्दा तल्लो सतह बेंसी, उपत्यका, मधेस, तराई लगायतका समथर भूभागमा त झनै सो हिउँ वा बरफ बाह्रै महिना जमिरहने कुरा अरु स्वभाविक हुन जाने थियो । फलस्वरूप सो पहाडीे क्षेत्रको शीर्ष भाग (टुप्पो वा टाकुरा) तिर पाइने तातो (गरम) हावापानी र माटो अनुकूलका केही बोटबिरुवा उम्रने–बढ्ने भएतापनि त्यस उच्च पहाडी क्षेत्रको फेंदीतिर र उपर्युक्तबमोजिमका अरु तल्लो सतहका समथर भूभागमा सदा हिउँ वा बरफ जमिरहनका कारण आजको जस्तो मानव अस्तित्व र तदनुरुपको मानव बस्तीको त कुरै पर, हिउँ वा बरफयुक्त जमिनमा पनि बाँच्न सक्ने कुनै कुनै वनस्पति र जीव जनावर विशेषबाहेकका अन्य कुनै पनि जीव जनावर र वनस्पति समेतको जीवनको अस्तित्व सम्म पनि कतै सम्भव हुने थिएन ।

त्यति मात्र कहाँ हो र ? उक्त बेंसी, उपत्यका, मधेश तथा तराई जस्ता अपेक्षाकृत बढी होचो स्थानमा भएका कुवा, पोखरी, ताल–तलैया र थप ती स्थानहरू भएर बग्ने खोला, नदीनाला एवं यस धर्ती (पृथ्वी) को सबभन्दा तल्लो सतहमा पर्ने सागर तथा महासागर समेतका पानीका सम्पूर्ण स्रोतहरू श्री सूर्य नारायणज्यूबाट झनै अरु बढी टाढा पर्ने हुँदा तिनमा भएको पानीसमेत अत्याधिक चिसोले पुरै जमेर हिउँ वा बरफमा परिणत हुने थियो । अनि यसको नतिजा स्वरूप यहाँ सिंगो धर्ती भरि नै विशाल शीतलहर चल्न जाँदा उच्च पहाडी भेगमा भए–गरेका सारा वोटबिरुवा र जीव जनावरसमेत मरेर जाने थिए । अझ त्यसदेखि तल फेंदी वा अरु तल्लो सतहमा भएको समग्र भूभाग उपर्युक्त बमोजिम हिउँ नै हिउँ वा बरफै बरफले ढाकिएका कारण त्यस प्रकारको स्थानमा पनि बाँच्न सक्ने अपवाद स्वरूपका वनस्पति तथा जीवजन्तुबाहेकका अन्य कुनै पनि जातका वनस्पति एवं हामी मनुष्यसहितका जीवजन्तु बाँच्न सक्ने वातावरण त्यसै पनि नरहेकोमा अझ त्यसमा थप उपर्युक्तबमोजिमको विशाल शीतलहर अविछिन्न रूपमा चल्नुको प्रतिफल यहाँसमेत कुनै पनि प्रकारको प्राणीको अस्तित्व कदापि रहने थिएन । न त हामी रहन्थ्याँै, न त अन्य कुनै जीव जनावर वा वनस्पति नै । वास्तवमा यो सिङ्गो पृथ्वी नै विशाल मात्राको हिउँ वा बरफयुक्त निर्जनस्थल अथवा भनौँ मरुस्थल (एक प्रकारको मरुभूमि) बन्ने थियो ।

किन्तु सर्वप्रमुख रूपमा हामी मानव जाति र अन्य जीवजन्तुसमेतका प्राणीहरूको परम सौभाग्यको कुरा, श्री सूर्य नारायणज्यूको तापशक्तिमा बलिरहेको ग्यास वस्तु जो एउटा जड भौतिक वस्तु याने पदार्थ हो, त्यसबाट उत्पन्न आगोको ज्वालाको तापशक्तिको उपर्युक्त विशेषताको ठिकविपरीत विशेषता हुनुको कारण उहाँ श्री सूर्य नारायणज्यूको जति बढी नजिक गयो उति बढी चिसो लाग्ने र जति बढी टाढा गयो उति बढी तातो लाग्ने हुँदा यस पृथ्वीको सर्वाधिक उच्च पहाडी क्षेत्रको शीर्ष भाग–पहाडको टुप्पतिर उपर्युक्तबमोजिम हिउँ वा बरफ जमिरहेको र त्यसको फेंदीतिर सो हिउँ वा बरफ पग्ली हिमनदी बनेर बगिरहेको हामी पाउँछौं किनकि उक्त पहाडी क्षेत्रको शीर्षभाग अर्थात् पहाडको टुप्पो माथि आकाशमा रहनुभएका श्री सूर्य नारायणज्यूको अपेक्षाकृत बढी नजिक पर्दछ भने त्यस पहाडको फेदी उहाँबाट बढी टाढा पर्दछ । फलस्वरूप उक्त उच्च पहाडी क्षेत्रको शीर्षभाग अर्थात् पहाडको टुप्पो वा टाकुरा र त्यसको आसपासको भूभागमा अपेक्षाकृत बढी चिसो लाग्दछ र त्यहाँ बाहै्र महिना हिउँ वा बरफ जम्दछ भने सो पहाडको फेंदी र आसपासको भूभागमा बढी तातो लाग्नाले हिउँ वा बरफ पग्लेर हिमनदी बनी तलतिर बग्दछ ।

त्यसरी नै फेरि सो भन्दा तल्लो सतह बेंसी, उपत्यका, मधेश वा तराई, सामुद्रिक किनार आदि भूभागमा हिउँ वा बरफ सितिमिति पर्दैन । वर्षभरिमा यदाकदा कहिलेकाहीँ परिहाले पनि त्यहाँको तापक्रम अपेक्षाकृत बढी हुने हुनाले क्रमश छिट्टै पग्लेर पानीमा परिणत भई बगेर वा जमिनमा सोसिएर जान्छ र पृथ्वीको उक्त भूभाग सदा खुला रहन्छ । यसले गर्दा उक्त पहाडी क्षेत्रको हिमाच्छादित (हिउँले ढाकिएको) भूभागबाहेकको तल्लो भाग, बेंसी, उपत्यका, मधेश वा तराई, सामुद्रिक किनार आदि भूभागमा माटो र हावापानी अनुकूलको वनस्पति उम्रन, हुर्कन–बढ्न, फुल्न–फल्न सम्भव भएको छ एकातिर भने अर्कोतिर ती वनस्पतिमा भर पर्ने शाकाहारी र अन्य मांसाहारी समेतका जीव–जनावरहरुका लागि पनि जिउनको लागि आवश्यक खुला जमिन प्राप्त हुन सकेको छ । अझ महत्वपूर्ण कुरा, हामी मनुष्य जातिका निमित्त आवश्यक आवासगृह निर्माण गर्न तथा कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात आदिसँग सम्बद्धलगायतका मानवोचित कुनै पनि कार्य सम्पादन गर्न वा कुनै पनि गतिविधि सञ्चालन गर्न आवश्यक भूभाग पर्याप्त मात्रामा प्राप्त गर्न समेत सम्भव र सहज बन्न गएको छ ।

थप भनौं भने उपयुक्तबमोजिम बनेका हिमनदीहरू जतिजति तलतिर बग्दै जान्छन् त्यति त्यति तिनमा भएको हिउँ पग्लँदै गई पुरै सामान्य नदीको रुप धारण गर्छन् । त्यसरी बनेका नदीहरू बाह्रै महिना बग्ने अपेक्षाकृत बढी पानीसहितका स्थायी प्रकारका हुन्छन् जसले गर्दा गर्मीयाममा पनि नदीमा पानीको अभाव हुँदैन र त्यस्ता नदीहरूबाट हाम्रो लागि पिउने पानी प्राप्त हुनुका साथै खेतबारीमा सिँचाइ गर्न र विद्युत् शक्ति उत्पादन गरी त्यसबाट तमाम प्रकारका विद्युतीय उपकरणहरु सञ्चालन गर्नुका अतिरिक्त भारी उद्योगहरू सञ्चालन गर्नसमेत सम्भव भएको छ । त्यस्तै, यस पृथ्वीको उक्त उच्च पहाडी क्षेत्रभन्दा तलको भूभागबाट उत्पन्न भएका खोला, नदीनाला आदिको पानी पनि जम्नुको सट्टा सदा तरल अवस्थामा रहनुका कारण तिनको पानी समेत मानिस तथा पशुपंक्षीको लागि पिउने, खेतबारीमा सिंचाई गर्ने, थोरै मात्रामा भएपनि विद्युतशक्ति उत्पादन गर्ने जस्ता कार्यमा प्रयोग गर्न सम्भव हुन गएको छ भने हिमनदी पग्लेर बनेका ठूला नदी, सागर, महासागर आदिमा जल यातायात सञ्चालन गरी मानिसहरूको आवागमन र अझ खास गरी भारी समानको ढुवानी गर्न धेरै मात्रामा सहज हुन गएको छ । वास्तवमा श्री सूर्य नारानारायणयूको तापशक्तिमा रहेको जति बढी नजिक गयो उति बढी चिसो लाग्ने र जति बढी टाढा गयो उति बढी तातो लाग्ने उपयुक्तबमोजिमका अलौकिक विशिष्ट विशेषताका कारण नै उक्त प्रकारका महान्भन्दा महान् सकारात्मक नतिजाहरु अथवा भनौ उपलब्धिहरू प्राप्त हुन सकेका हुन्, अन्यथा कतै सम्भव थिएन ।

यस प्रकार माथिको समग्र विश्लेषणबाट पनि प्रष्ट हुन जान्छ कि श्री सूर्य नारायणज्यू बलिरहेको ग्यास पदार्थबाट बनेको कुनै जड भौतिक पिण्ड नभई एकमात्र परम सजीव–सचेतन, सर्वशक्ति सम्पन्नलगायतका अनेकानेक अलौकिक परम मूल्यवान एवं महिमामय विशिष्ट विशेषताले सहित भएका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ जसमा कुनै विवाद गर्ने स्थान नै देखिँदैन । अरु बाँकी सबै आगामी लेखहरूबाट । अङ्क १४ (क्रमशः)