राजनैतिक नेतृत्वको अवकाश र व्यवस्थापन

मेचीकाली संवाददाता

५ माघ २०८१, शनिबार
81 shares

कमल पन्थी

पश्चिमी दर्शनशास्त्रको जग बसाल्ने मुख्य व्यक्तित्व प्राचीन ग्रीक दार्शनिक प्लेटो भन्छन्,‘दि युवाहरुले राजनीतिमा भाग लिन अस्वीकार गर्ने हो भने आफूभन्दा निम्नस्तरको व्यक्तिबाट शासित हुन तयार हुनुपर्छ ।’ प्लेटोले भनेझै परिवर्तन र आधुनिकताका पक्षधर हाम्रा युवाहरु राजनीतिमा भाग लिन नचाहेकै हुन् वा अवसर नपाएका हुन् । युवाहरु राजनीतिप्रति किन आकर्षित छैनन् ? युवाहरुले सवै दोष पुराना नेतृत्वलाई दिएर उम्कन मिल्छ र यसको छुट्टै वहसको विषय बनाउँला । तर परम्परावादी सोच भएका पुराना नेताहरुले नयाँ सोच, प्रविधि र युवाको विचारलाई महत्व नदिएको, सत्ताको दुरुपयोग र भ्रष्टाचार, पुस्तान्तरण गर्नै नचाहेको,उद्देश्यहीन दीर्घकालीन सोच र केवल सत्ता प्राप्ती र निरन्तरताको जोडघटाउमा मात्र तल्लिन रहेको जस्ता गम्भीर आरोप युवा वर्गले मात्र हैन आम मानिसले लगाउने गरेको सुनिन्छ ।

नेपालका अधिकांश दलमा एकपटक नेतृत्वमा पुगेपछि स्वेच्छाले समकालीन वा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेको अभ्यास विरलै पाइन्छन् । यसबाट नयाँ विचार निर्माण र नेतृत्व गर्ने विषय ओझेलमा परेको छ । पहिलो पुस्ता नै जीवनभर राजनैतिक नेतृत्वमा रहिरहने लालसाले दोस्रो पुस्तामा चरम निरासा छाएको छ ।

युवा पुस्तामा पनि वर्तमान राजनैतिक उपलव्धीलाई धारामा पानी, चुल्होमा ग्याँस आए जसरी स्वतः …………….९द्यथ मभाबगति० हो भन्ने गलत बुझाई रहेकोछ । यसमा पुराना नेताहरुले जीवन र जवानी नभनेको त पक्कै हो नि । आजको देशको अवस्थाको सम्पूर्ण जिम्मेवार पुरानो नेतृत्व हो । बिगार्ने र बर्बादीका कारक तत्व भनैकै पुराना हुन भन्ने भाष्य सिर्जना गरिएको छ । विकास र वृद्धिका वाधककोरुपमा चित्रिति गरिन्छ धेरै सत्यता भएपनि शतप्रतिशत भने नहोला । युवाहरुले विगतको इतिहास र योगदान नहेरी तत्कालिन घटनाक्रमलाई मात्र हेरेर धारणा बनाउनु पनि हुँदैन । पक्कै पनि अहिलेको नेतृत्व जोदाहा र जबरदस्त चरित्रका देखिँदैछन । आफ्नै बोली र व्यावहारले विश्वास गुमाउँदै गएको देखिन्छ ।

समकालीन राजनीतिमा नेतृत्वको विकास हस्तान्तरण,पुस्तान्तरण, रुपान्तरणको सवाल अहं वनेको छ । पटकपटक नेतृत्वमा टाँसी रहने सोच र चिन्तनले सर्वसत्तावादी बनाउने खतरा देखिँदैछ । यहाँ राजनैतिक नेतृत्वको अवकाश र व्यवस्थापनमा केन्द्रीत रहेर रौं चिरा त नभनौं केस्राकेस्रा भने केलाउने प्रयास गरिने छ ।

अवकाश
अवकाश भन्नाले कामवाट छुट्टी वा विश्राम लिनु भन्ने बुझिन्छ । यसले शारीरिक, मानसिक वा भावनात्मक रुपमा राहत दिने समयलाई जनाउँछ । छुट्टी, बिदा, विशेष काम नभएको समय वा फुर्सदलाई प्रज्ञा नेपाली शव्दकोषले अवकाशको परिभाषा दिएको छ । नोकरी तथा पेशा व्यावसायबाट अवकाश लिएपछि आराम लिने समय भने अवकाशकाल हो । विश्रान्तीकाल हो । दैनिक क्रियाकलापबाट फुर्सद पाउने समय भएकाले अवकाशकालमा विश्राम, तीर्थाटन, मनोरन्जन, भ्रमण, आत्मचिन्तन र शारीरिक एवं मानसिक अवस्थाअनुसारको काम गर्न सकिन्छ ।

राजनीति र नेतृत्व
राजनीति सबै नीतिको मूल नीति हो । अरु सबै नीतिहरुलाई राजनीतिले मार्गनिर्देश गर्छ । विभिन्न कालखण्डका राजनैतिक घटनाक्रमहरुलाई हामी शास्त्र र इतिहासमा अध्ययन गर्दै आएका छौँ । धार्मिक ग्रन्थ रामायण, महाभारत होस वा आधुनिक युगसम्ममा राजनीति र तिनको नेतृत्वको विषयमा ईतिहास साक्षी रहेको छ । आन्दोलन, युद्धदेखि अनेक प्रकारका राजनैतिक पर्वहरुवाट नेतृत्व हत्याइएका घटनाहरु छन् । नेतृत्व महत्वपूर्ण हुन्छ किनभने श्रीकृष्णले अर्जुनको सारथी भएर पनि युद्ध जिताए । राष्ट्रका अभिभावक धृतराष्ट्रले नेतृत्वको भूमिका निभाउन नसक्दा विनाशकारी महाभारत युद्द निम्ताए । वंश विनाश गराए ।
समाज, संगठन वा समूहका निश्चित उदेश्य पूरा गर्न मार्गदर्शन, प्रेरणा र व्यवस्थापन गर्ने क्षमता वा प्रकृया नै नेतृत्व हो। नेतृत्वले सही समयमा सही निर्णय गर्न सक्नुपर्छ । अरुलाई ऊर्जा र आत्मविश्वास दिन सक्नु पर्छ । प्रभावकारी रुपमा विचार आदानप्रदान गर्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न सक्नुपर्छ । संगठनको सुन्दर भविष्यको खाका बनाउन जान्ने, देखाउने, हिँड्ने गतिशिल नेतृत्व हुनुपर्छ ।

वर्तमान सन्दर्भमा नेतृत्व भनेको पदमात्र होइन, उसको विचार, नीति, सकृयता हो । प्रयाप्त समयसापेक्ष बौद्धिकता, क्षमता, दूरदर्शिता नैतिकता, इमानदारिता र मिलनसार व्यवहार हुनु जरुरी छ । संगठनमा कुशल नेतृत्व नभए विना मियोको दाइँ जस्तो हुन्छ ।

राजनीति पेशा हो ?
भियतनामका राष्ट्रपति होचि मिन्ह भारत भ्रमणमा आएका समयमा एउटा मिटिंगमा सम्वादका क्रममा भारतीय मन्त्रीहरुलाई सोधे–तपाईहरु के काम गर्नुहुन्छ ? भारतीय मन्त्रीहरुले सहज रुपमा जवाफ दिए–हामीहरु राजनीति गर्छौँ । उनले फेरि सोधे–मेरो मतलब तपाईहरुको पेसा के हो ? भारतीय मन्त्रीहरुले जवाफ दिए–राजनीति नै हाम्रो पेसा हो । होचि मिन्हले भने राजनीति त म पनि गर्छु तर पेसाले म किसान हु, म खेतीपाती गर्छु । खेतिपातीबाटै मेरो जिविका चल्छ । बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु र दिउँसो राष्ट्रपतिको रुपमा आफ्नो दायित्व निर्वाह गर्छु । राजनीति पेशा होइन, निस्वार्थ सेवा हो । उत्पादन र उत्पादकत्वसंग जोडिएर मात्र राजनीति गरिनुपर्छ भनिन्छ । पेशाको रुपमा ग्रहण गर्दा नै अहिले समस्या देखिएको छ ।

नेतृत्व नछाड्नुको कारण
सत्ता र शक्तिप्रतिको मोह, राजनैतिक संस्कारको अभाव, नयाँ पुस्ताप्रतिको अविश्वास, राजनैतीक, सामाजिक, आर्थिक क्षेत्रमा निरन्तर प्रभाव र नेतृत्व हस्तानन्तरणसम्बन्धी स्पष्ट नीति र प्रकृया नहुनु नै मुख्य रहेका छन् ।

नेतृत्व हस्तान्तरण नगर्नाले
राजनैतिक अस्थिरता, नयाँ पुस्तामा चरम निराशा, देश विकासमा अवरोध, नागरिकमा नेता र तिनका दलप्रति असन्तुष्टी, दलगत गुटवन्दी र दल विभाजनसमेत हुने गरेको छ ।

विश्वको अभ्यास
नेल्शनल मण्डेला दक्षिण अफ्रिकाको एकपटक मात्र राष्ट्रपति भए । दोस्रो कार्यकालको लागि गरिएको अनुरोधलाई ठाडै अस्वीकार गरे । त्यहाँ पनि हामीकहाँ जस्तो जीवनभर पद नछाड्ने गलत परम्परा छ । उनले सम्बोधनमा भनेका थिए अर्काेपटक म ऊ त्यो पछिल्लो बेन्चमा बसेर तिमीहरुलाई नियाली रहेको हुनेछु । सर्वसाधारण जिम्मेवार नागरिकको हैसियतमा । राजनैतिक जीवनको अवशकाशपछि उनी एड्स संक्रमितहरुका लागि अभियान चलाएर बसे ।

अमेरिका, बेलायत, जर्मन, जापानलगायत विश्वका धेरै देशहरुमा राजनीतिक नेताहरुले आफ्नो स्वास्थ्य क्षमता, पार्टीको निर्णयको आधारमा अवकाश लिने वा नलिने निर्णय गर्छन् । अमेरिकामा जो वाइडेन ८२ वर्षका भए । उनको पार्टीले पुनः दोहोरिन सिफारिस ग¥यो तर स्वास्थ्यको कारणले सो उम्मेदवारी उपराष्ट्रपतिलाई दिलाए । भरखरै निर्वाचित डोनाल्डट्रम्पल ७८ वर्षका भए । चीनमा ६८ वर्ष उमेर पुगेकाले अर्को कार्यकालको लागि उम्मेदवारी दिँदैनन् । वर्तमान राष्ट्रपति सीजीन पीङ ७१ वर्षका भए ।

अबको नेतृत्व यस्तो हुनुपर्छ
अहिलेको दुनियाँ भनेको भौतिक डिजिटल सम्मिश्रण हो । अमुक नेता वा दलको गर्भे गोजीबाट निकालिएका कृपा पात्रले चुनावी परिणाम सून्य हात लाग्नेमा शंकाको सुविधा नै छैन । सांगठनिक मतले मात्र पनि हुँदैन । नागरिक चरम निरासामा रहेको छ । उनीहरुमा रहेको उदासीनतालाई चार्ज गर्न टनिक चाहिएको छ । चेसको राजनीति अव सफल हुँदैन अव क्यारामवोर्ड खेल्ने, एउटै स्ट्राइकवाट कैयौँ गोटीलाई ठक्कर दिएर हल्लाई दिन सक्नुपर्छ । गतिलो सामान गतिलो प्याकेजिङले मात्र बजारमा बिक्दैन त्यसका लागि कुशल मार्केटिङ गर्ने सेल्स मेन हुनुपर्छ ।

अवको नेतृत्व राजनैतिक दलका सदाबहार सुन्दर लिखित दस्तावेज, नीति र कार्यक्रम मात्र भएर हुँदैन । गणेश प्रवृति सफल हुने भनेको सांगठनिक पदमा हो । परिवर्तनलाई आत्मसात गर्ने स्वाभाव, सूचना प्रविधिमा दखल, उत्पादन र उत्पादकत्वसँग जोडिएको, विगतको पृष्ठभूमि विवादित नभएको, कुनै सामाजिक पहिचानमा स्थापित, आफ्नो कुरा जनतामाझ राख्न सक्ने, वर्तमान जल्दोबल्दो समस्यालाई मसालाको रुपमा प्रयोग गर्न सक्ने, जनतामा एक किसिमको आकर्षण पैदा गर्न सक्ने खालको गतिशील उम्मेदवार वा नेतृत्व राजनीतिक वृत्तमा विक्ने प्रवल सम्भवना देखिँदैछ । रातोकार्पेट बिछ्याएर भित्र्याइएकाको राजनीतिक बजारमा माग देखिँदैन ।

अवकाशपछिको व्यवस्थापनमा विश्वको अभ्यास
लामो अनुभव र योगदानलाई अझ प्रभावकारी बनाउन समाजमा उपयोगी हुने खालले परामर्शदाताको रुपमा, अनुसन्धान, थीङ्क ट्याङ्कर, परोपकारी कार्यमा, गैर सरकारी क्षेत्रमा, शिक्षा, अन्तर्राष्ट्रिय शान्ति र कूटनीतिमा संलग्न भएको पाइन्छ । अमेरिकाका पूर्वराष्ट्रपति जीमीकार्टरले कार्टर सेन्टरको स्थापना गरेर विश्वभर मानव अधिकार र निर्वाचन पर्यवेक्षणको क्षेत्रमा व्यस्त देखिन्छन् ।

अवकाश र सम्मान
राजनैतिक पार्टीमा एच्छिक अवकाशको पनि यथोचित व्यवस्था गरिनुपर्छ । अहिले तस्विर झुण्डाउने होडवाजीको मानसिकता हावी छ । जेल, नेल, त्याग, तपस्या र विरासतको कुरादेखि राजनीतीमा जोगी हुन नलागेको जस्ता विवादास्पद अभिव्यक्ति समयसमयमा आउने र प्रायःसवै यही मानसिकतावाट ग्रसित भएको देखिन्छ । पदमा रहने भन्दा नरहनेले पनि योगदान दिन सक्छ । योगदान गरेका मान्छेलाई पदमा नवसे पनि सम्मान गर्न सक्नुपर्छ । नेतृत्वको ज्ञान अनुभव र क्षमतालाई उपयोग गर्नअवकाश प्राप्तलाई कुनै नयाँ भूमिकामा समायोजन गरिनु आवश्यक हुन्छ । अवकाशपछि प्रत्यक्ष संलग्न नभै आफू पछिको पुस्तालाई अघि वढाएर आफ्नो अनुभवको आधारमा बृद्धि दिने हो । आफूले देखेर पूरा नभएका कतिपय कामहरु हुन सक्छन्, मैले यो काम गर्न भ्याइनँ, तिमीहरु गर भन्ने हो । आफूले भोगेका समयको अभिलेखिकरण गर्ने समय अवकाशपछिको सुनौलो अवसर हो ।

कसरी व्यवस्थापन गर्ने ?
शीर्ष कार्यकारी पददेखि सबै राजनैतिक पदहरुको अवकाशको उमेर हद तोकिनु पर्छ । अमेरिकामा दुई कार्यकालभन्दा वेशी राष्ट्रपति हुन नपाउने व्यवस्था छ । त्यसैगरी कार्यकालको अवधि पनि तोकिनुपर्छ । अवकाशको पूर्वजानकारी भएमा अवकाशपश्चातको जीवन सहज र व्यवस्थित वनाउने मनोविज्ञान तैयार हुनेछ । नेपालमा हालसम्म अवकाश प्राप्त नेतृत्वको व्यवस्थापन गर्न कुनै नियम कानून र प्रणाली नै छैन । सर्वप्रथम सबै अटाउने पूर्वनेता समाज नामक अभिभावकीय क्लब कानूनी रुपमा स्थापना गरिनुपर्छ । उनीहरुको अनुभव, ज्ञान, क्षमताको उपयोग गर्न राज्यले यसै क्लबमार्फत लिने प्रणालीको विकास गरिनुपर्छ । जस्तो सल्लाहकार परिषद् गठन, परोपकारी र समाजिक सेवा,राष्ट्रिय नीति निर्माण, अन्तर्राष्ट्रिय मन्चमा प्रतिनिधित्व, अध्ययन र अनुसन्धान, शान्ति प्रकृया जस्ता विभिन्न विधाहरु हुन सक्छन् । आर्थिक समस्याको कारण पुनः राजनीतिमा फर्किने वाध्यता हटाउन स्वाभिमानीपूर्वक जीवनयापन गर्ने आर्थिक सुरक्षाको सुनिश्चित गरिनु पनि अपरिहार्य हुन्छ ।