श्री स्वस्थानी व्रत कथाको महिमा

मेचीकाली संवाददाता

६ माघ २०८१, आईतवार
93 shares

कमल पन्थी

गाउँघरतिर कसैका घरमा पूजाआजा हुँदा छरछिमेकीहरूलाई कथा सुन्न, देवतालाई अर्पिएको प्रसाद (नैबेद), पञ्चामृत खान र भजनकीर्तनमा सहभागी हुन निम्तो गर्ने चलन पहिला पनि थियो र अहिले पनि छदैछ । यस्तो निम्ता पाएपछि मण्डप वनाउन जानु पर्ने अनिवार्यता हुन्छ । पहिला–पहिला पूजाआजा प्रायः सन्ध्याकालमा प्रारम्भ हुने गर्दथे । पुरुषले आँम्खोराभरि ताजा दुध र महिलाहरुले रंगिन ढकियालाई रातो पछौराले वेरेर सेल, झिलङगा, फिनीरोटी पकाएर, जुनेलो भुटेर, स्थानीय मौसमी फलफुलका प्रसादसहित चोखा कपडामा गरगहनासहित सजिएर पूजामा जाने प्रचलन साँच्चिकै मनमोहक थियो ।

मेरा बाल्यकालका केही घटनाहरु अहिले पनि मानसपलटमा सल्वलाई रहन्छन् । हामी सानै भएकाले पूजाको निम्ता चाहिँदैनथ्यो । आमा तथा दिदीका सारीको फेरो समाउन पाए पुग्दथ्यो । लाल्टिन र मैन्टोलको झकिझकाउँ उज्यालोमा पूजाको मण्डप सिगाँरिएको हुन्थ्यो । हामीलाई त्यसले केहि छुदैनथ्यो । मण्डपको चारै सुरमा ठडाइएका कोसेर उखुका लाँक्रो र मर्चे केराको घरीमा नजर जान्थ्यो । उखु भाँचेर भाग्नअनुकुल समयको पर्खाई र निकासको वाटोमात्र ख्याल गरिन्थ्यो । पूजामा र कथातिर त के ध्यान जानु र ? पूजाकथा भइरहँदा साथीहरूसँग लुकामारी खेल्न र पूजा सकिएपछि ‘जय ! जय !!’ भन्दै चिच्याइन्थ्यो । नयन र मन भने पञ्चामृत, प्रसादमा हुन्थ्यो । प्रसाद बाँड्ने मानिस को रहेछ भनेर ख्याल गरिन्थ्यो । सकेसम्म आफूलाई माया गर्ने नभए राम्ररी चिनेको परिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यसो हुँदा गम्म प्रसाद हात पर्ने सम्मवना बढ्ने नत्र हुलहालमा एक टुक्रा केरा, एउटा सानो टुक्रा उँखु र एउटा सुपारी जत्रो मनभोगमा मन थाम्न वाध्य हुनुपर्दथ्यो । अनुहार लुकाएर हुलहालमा तीन÷चारपटक हात थाप्दाको प्रसादले खासै पेट भरिँदैनथ्यो । पटके प्रसाद मागेको आरोपमा कारवाहीमा परिने डरले टाप कसेको सम्झँदा अहिले भने रमाइलै लाग्छ । समयको प्रवाहमा यी कुरा अहिले दन्त्यकथा जस्तो लाग्न सक्छन । तर यी सत्य हुन् । शब्दहरुका सिँढीमात्र होइनन् ।

प्रसंग श्री स्वस्थानी व्रतकथा
हिन्दूहरुको घर–घरमा सनातन काल देखि धार्मिक रुपले अति महत्वपूर्ण एक महिने श्री स्वस्थानी व्रत प्रत्येक वर्ष पुस शुक्लपक्ष पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्दथ्यो । हाम्रो गाउँघरमा श्री स्वस्थानी व्रतको महिमायुक्त कथा साँझमा वाचनका लागि प्रायसःम छनौटमा पर्दथे । विद्यालका गृहकार्य खाली पिरियडमा नै सुइकाएर फुकोफालो भई सक्थे । शुद्धसँग अक्षर फोरेर, लयभाका मिलाएर पढ्छस् भनेर मलाइ फुर्काइन्थ्यो । वास्तवमा मैले कथाको भाव नबुझे पनि लय मिलाएर भने प्रष्टसंग पढ्थे । फेरि मलाई महाभारत लेख्न सुरु गर्दाको गणेश र महर्षि वेदव्यासको जस्तो लेख्नेले वुझेर मात्र लेख्नु पर्ने र भन्नेले लेख्नेको कलम रोक्न नपाउने जस्ता शर्तहरु पनि त थिएनन् । आफूलाई पढ्नु थिएन पढदिनुथियो । ध्यान दृष्टि सवै कथा वाचन पछी बाँढीने प्रसादमा हुन्थ्यो ।

कथा वाचक भएकाले मेरो समिपमा एउटा टुकी हुन्थो । टुकीका वरिपरि बसेर परिवारका सबै सदस्य एवं छरछिमेकीहरुसमेतले श्रीस्वस्थानी व्रतकथा श्रवण गर्नुहुन्थ्यो । पौष माघको सिरेटोमा अगेनामा अडिला दाउराको भुङ्ग्रो हुन्थ्यो । प्रायः प्रौढहरुले रेडियोको र नाँगा बर्को ओढ्ने चलन थियो । अहिले जस्ता फरवाला तथा डाउन जाकेट कहाँ पाउनु ?

संयुक्त परिवार हुनाले धेरै जहान हुन्थे । परदेश गएका लाहुरेहरु पनि श्रीपन्चमीमा आर्थिक व्यवहार मिलाउन र विवाह भएका चेलीबेटीहरु पनि हिउँद बस्न माइतमा आएको समय परेकाले कथा सुन्नेको बाक्लो उपस्थिति हुन्थ्यो । तत्कालिन समाज कृषिमा पूर्णनिर्भर थियो । दिनभरिको कृषिकर्म साँझको गोठयालाई पश्चात फुर्सदको समय हुन्थ्यो । अहिले जस्तो सूचना र प्रविधि उपलव्ध थिएन । रेडियो नेपालको प्रातः धार्मिक कार्यक्रममा मात्र संछिप्त कथा सुन्न पाइन्थ्यो । वर्षेनी स्वस्थानी कथा सुन्दै गर्दा मेरी आमालगायत धेरैजनालाई कण्ठस्थ भई सकेको थियो । बिचमा म अलमल परेमा आमाले सुधारिदिनुहुन्थ्यो । त्यसपछि त मैले लय समाई हाल्थे ।

श्री स्वस्थानी व्रतकथा पुस्तक परिचय
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । श्री स्वस्थानी परमेश्वरीको व्रतकथाको पुस्तकलाई हस्तलिखित पुस्तक (माहात्म्य लेखि) भनिएको छ । सायद त्यतिवेला आजभोलि झई छापाखाना नभएकाले हातले लेखेका भएर हुन सक्छन् । समयक्रममा प्रायःभारतको वाराणसीका प्रेसमा छापिएका पुस्तक सर्वसुलभरुपमा पाईन थाले । यसमा ३१ वटा अध्याय र प्रत्येक अध्यायको अन्त्यमा सार लेखिएको छ ।

कुमारले अगस्त्यमुनिलाई स्वस्थानी कथा सुनाएको प्रसंग
प्रत्येक अध्यायको शुरुमा कुमारजी आज्ञा गर्नु हुन्छ, हे ! अगत्स्यमुनि भनिएको छ, यसको मतलव कुमारले अगत्स्यमुनिलाई कथा सुनाउनु भएको हो । भगवान् शिवले कुमारलाई ज्ञान तपस्या र योगका प्रतिक मानिने वैदिक परम्पराका महत्वपूर्ण ऋषि अगत्स्यमुनिलाई व्रम्हाण्डिय ज्ञान प्रदान गर्नका लागि कथा सुनाउन लगाएका हुन भनिन्छ । त्यस्तै प्रत्येक अध्यायको अन्त्यमा श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार–अगस्त्यसम्वादे भनिएकोले पुराण र स्कन्द पुराणसँग यो कथा सम्बन्धित भएकाले संछिप्तरुपमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

पुराणः हिन्दू संस्कृति र सभ्यताको आधार
हिन्दू समाजमा परम्परादेखि चलि आएका मनुष्य ,देवता, दानव आदिका कथाको संग्रहलाई पुराण भन्ने बुझिन्छ।कश्यप ऋषिका सन्तान नै देवता र दानव हुन तथापि राज्यका लागि परस्पर विवाद गरिरहे । हिन्दू सभ्यता, संस्कृति र संस्कारको आधार नै पुराण हो । प्राचीन आख्यान र रचना भए पनि सधैं नयाँ लाग्ने विषवस्तु समेटिएका ग्रन्थ विशेष नै पुराण हुन् । वेदले बताएका विषयवस्तुको सविस्तार व्याख्या पुराणमा गरिएको छ । चार वेद (ऋक्, यजु, साम र अथर्व) पछिको पाँचौँ वेदका रूपमा पनि पुराणलाई लिइन्छ । अठार पुराण रचयिता वेदव्यास हुन् । अत्यन्तै सरल ढङ्गमा अनेकौं कथा प्रसङ्गका साथ परमात्मा परमेश्वरको लीलाचरित्र गान गरी सबैलाई सत्मार्गमा लाग्न अभिप्रेरित गर्नु पुराणहरूको मुख्य ध्येय रहेको देखिन्छ । अठारवटा पुराणहरुको सार व्यासले दुई वचनमा व्यक्त गर्नुभएकोछ । परोपकारपुण्याय पापाय परपीडनम् परोपकारले पुण्य प्राप्त हुन्छ भने अरूलाई दुःख दिनाले पाप हुन्छ ।

स्कन्दपुराण
भगवान् शिवको पुत्र स्कन्द अर्थात् कार्तिकेयका नाममा नामाकरण गरिएको यो पुराण सवैभन्दा विस्तृत धार्मिक ग्रन्थ हो । जस्मा शिवजी र स्कन्दको महिमा उल्लेख गरिएको छ । केदार खण्ड, काशी खण्ड, प्रभास खण्ड जस्ता सातवटा खण्डमा विभाजित छ । यसमा स्वस्थानी माताको वर्णन गरिएको छ ।

स्वस्थानीमाताको चित्रण
खारेको सुन जस्तो वर्ण भएकी, प्रसन्न मुहारकी, सिंहासनमा विराजमान, मणिरत्नका गहनाहरुले अलङ्कृत सुकोमल चार हातहरुमा कमलपुष्प, त्रिशुल, तरवार र ढाल धारण गरेकी, तीन नेत्र भएकी, दुःखी भक्तहरुको उद्दार गर्ने परमेश्वरी आदिमाताकोरुपमा चित्रण गरिएकोछ ।

श्री स्वस्थानी व्रतकथा वाचन–श्रवण सुरु भएको इतिहास
संसारको कल्याणका लागि देवीहरुमध्ये आदिदेवीको रुपमा स्थापित स्वस्थानी व्रतकथाको बारेमा ठोसरुपमा लेखनको तथ्य प्रमाणित नभएको, कथा मौखिक परम्परामा आधारित भै पछि लिपिबद्ध गरिएको मानिन्छ । खासगरी नेपालको हिन्दू समाजमा प्रचलित भएकाले यसलाई नेपाली लोकधर्म परम्परा सांस्कृतिक धरोहरसंग पनि जोडेर हेरिन्छ ।

राष्ट्रिय अभिलेखालयमा संग्रहित स्वस्थानी ग्रन्थमा नेपाल संवत् ६९३ फाल्गुन शुक्ल ५ वृहस्पतिबारका दिन श्री जयन्तदेव भन्नेले लिंगपुराणान्तर्गत स्वस्थानी परमेश्वरीको व्रतकथा लेखी सिध्याएका थिए भन्ने उल्लेख छ (प्रदीयःअभिनव संस्कृति विश्वकोष) । यस कालक्रमलाई जोडेर हेर्दा महेन्द्र मल्लको पालामा श्री स्वस्थानी व्रतकथा लेखिएको देखिन्छ । (निर्मल श्रेष्ठको २०७६ माघ २५ को आलेखको आधारमा)

व्रतकथामा वर्णित उपलब्धीहरु
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधि नलाग्ने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने धार्मिक विश्वाससमेत नेपाली समुदायमा गरिन्छ । श्री स्वस्थानी परमेश्वरीको व्रत गरेमा अथवा उनका माहात्म्य लेखी (हस्तलिखित पुस्तक) घरमा राख्दा पनि दरिद्र नहुने नवग्रह सबै प्रसन्न हुने अकाल मृत्यु र रोगको भय नहुने उल्लेख गरिएको छ । तत्कालीन अवस्थामा दुःखमुक्त भई सफल जीवन प्राप्ति हुने विश्वासमा व्रतकथा सुरु भएको विश्वास गरिन्छ ।

व्रतकथाको मुख्य सन्देश
स्वस्थानी व्रतकथा धर्म र निष्ठाको प्रतिक हो । यसलाई पालना गर्दा जीवनका कठिनाईहरु हल हुने र अध्यात्मिक शान्ति हुने विश्वास गरिन्छ । भगवान् शिव र पार्वतीको कृपा प्राप्त गर्ने महत्वपूर्ण माध्यम हो । यो कथा ध्यान, नियम र तपस्याबाट भगवान्को कृपा कसरी प्राप्त गर्न सकिन्छ भन्ने गहिरो सन्देश बोकेको छ ।

धैर्यता, धीरता र संयमता मानव जीवनमा आवश्यक हुने कथाले सिकाएको छ । बालहठ, नारीहठ र राजहठले भयंकर परिणाम निम्त्याउने कुरा प्रस्तुत गरिएको छ ।‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारिको सम्मान हुन्छ,त्यहाँ देवता पनि प्रसन्न हुने मुख्य सन्देश दिएको छ ।

आलोचनात्मक पक्षहरु
महिलालाई पतिव्रता र पति सुखको निम्ति कठोर तपस्या गर्न भनिएकोछ । देवीको श्राप, कठिन व्रत जस्ता अन्धविश्वास र अतिशयोक्तिपूर्ण कुरालाई प्रोत्साहन दिएकोछ । कथामा प्रस्तुत गरिएका परम्परागत सोच र पात्रहरु आधुनिक युगसँग मेल खाँदैनन् । जातपात, सामाजिक हैसियत र धर्मका नाममा समाजमा विभाजनकारी सोचलाई वल मिलेको भन्ने मत पनि प्रवल हावी छ ।

वर्तमानमा औचित्यता
सत्ययुगको कल्पनामा आधारित स्वस्थानी व्रत कथामा केही कुराहरु वर्तमान सन्दर्भमा असान्दर्भिक जस्ता पनि देखिएका छन् व्याख्याताका आ–आफ्ना वाख्या होलान तर यथार्तमा हाम्रो समाज भौतिकतातर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीतिरिवाज र परम्परा सबै नासिँदै÷मासिँदै गएका छन् । जताततैपाश्चात्य संस्कृतिको व्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला भइरहेको छ । ईश्वर र धर्मप्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता नास्तिक र अश्लील बन्दै गएको छ । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दू धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक भरपर्दो सर्वेक्षणले समेत देखाएको छ ।

मुस्लिम समूदायका विभिन्न व्रतहरुलाइ राज्यले महत्व दिएको छ । मुस्लिम समुदायमा ईद, वकरिद जस्ता व्रतहरु सवैलाइ अनिवार्य गरिएको छ । विडम्वना हिन्दू समुदायका हामीहरु क्रिसमस मनाउन एक हप्ता अगाडिदेखि नै तम्तयार हुन्छौँ तर श्री स्वस्थानी व्रतकथाका कुरा उठाउन त के सुन्न पनि चाहँदैनौँ । कथामा आउने विभिन्न प्रसंगहरुलाई गलत अर्थ लगाउँछाँै ।
हामीहरु हरेक कुरामा परिवर्तन चाहन्छौँ, हरेक दस्ताबेजहरु पुनर्लेखन गर्ने माग गर्छाँै र पुनर्लेखन गर्छाँै पनि । श्रीस्वस्थानी व्रत कथा पनि हिन्दू धर्मको मूल मर्ममा कुनै तात्विक असर नपर्ने गरी समय सापेक्ष पुनर्लेखन गर्नु पर्ने समय भएको छ । यसका सकारात्मक पक्षहरुलाई निरन्तरता दिँदै बदलिँदो समाजसंग अनुकूल गराउन ढिला भइसक्यो । धार्मिक परम्परालाई समयानुकुल बनाएर लैजानुपर्नेमा सामाजिक दवाव रहेको देखिन्छ ।

ज्यको तहबाट नै मुस्लिम समुदायका व्रत जस्तै महत्व दिनु आवश्यक छ । सबै हिन्दुहरुले यस व्रत एक महिना नसके पनि प्रारम्भदेखि अन्तिम सम्मको कम्तिमा एक दिन व्रत लिई सनातन हिन्दू धर्मप्रति आस्थावान हुनु पनि अनिवार्य देखिन्छ ।
अन्त्यमा, भागवत गीताको यो मर्मस्पर्शी भनाई राख्दै बिट मार्न मन लाग्यो स्वधर्मे निधनं श्रेयःपरधर्मो भयावह ! अर्थात आफ्नो धर्मलाई पालना गर्दै मर्नु उचित हुन्छ तर अरुको धर्म अनुकरण गर्नु भयावह हो । ‘यं व्रम्हा वरुणेरुद्रमरुत’ ।