अमृत गिरी
बुटवल। दुग्ध खपतको प्रभावकारी योजना नहुँदा आयस्रोतको प्रमुख हिस्सा मानिने दुग्ध पदार्थको सदुपयोग हुन नसकेको यसमा आबद्ध उद्यमी तथा व्यवसायीहरुको गुनासो छ । उनीहरुले सार्वजनिक र निजी साझेदारीको मोडलबाट दुग्ध खपतको योजना बनाउन सरकारसँग आग्रह गरेका छन् । साथै कृषिमा युवालाई आकर्षण गर्ने योजना पनि बनाउन उनीहरुले माग गरेका छन् । यसमा आफूहरु सहकार्य गर्न तयार रहेको उनीहरुको भनाइ छ ।
बुटवलमा जुटेका देशभरका डेरी व्यवसायीहरुले दुग्ध पदार्थको खपत बढाउने योजना बनाउने तयारी गरेका छन् । यसका लागि उनीहरूले सरकारसँग सहकार्य र सहयोगको आग्रहसमेत गरेका छन् । नेपालमा हाल दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ । खपत भने यसको आधा मात्रै अर्थात् ३१ लाख लिटर हुने गरेको छ ।
डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बुटवलमा सार्वजनिक गरेको तथ्यांकअनुसार दुग्ध व्यवसायमा निजी क्षेत्रको ५० अर्ब लगानी रहेको र राज्यलाई वार्षिक दुई अर्बसम्मको राजस्व योगदान भइरहेको छ । दुध खपतमा कमी हुँदा धुलो दुध उत्पादन गर्दा त्यहाँबाट निस्किने बटर राख्न ठाउँ नहुँदा भाडामा राख्नुपर्ने समस्यालाई मध्यनजर गर्दै एसोसिएसनले सातवटै प्रदेशमा कोल्ड स्टोर राख्न सरकारसँग माग गरेको अध्यक्ष दाहालले बताए ।
उनले दुधको उपभोग बढाउन राष्ट्रिय दुध विकास बोर्ड, पशुसेवा विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सहकार्य गरी राष्ट्रिय मिडियामार्फत विज्ञापन प्रसारण गर्न लगाउने योजनामा एशोसिएशन रहेको बताए ।
किसान र उद्योगीका सन्तान पुर्खाका पेशामा आकर्षित नहुने र विदेश जान चाहाना राख्ने समस्या बढिरहेको भन्दै एशोसिएसनले कृषिमा लागेकालाई निर्वाहमुखीबाट माथि उठाएर युवालाई आकर्षित गर्ने योजना पनि बनाउने बताइएको छ । समृद्धिको महत्वपूर्ण आधार रहेको क्षेत्रमै पुस्तान्तरण नहुने समस्या छ, जसलाई मध्यनजर गर्दै सार्वजनिक निजी साझेदारीमा आकर्षणका कार्यक्रम बनाउनुपर्नेछ’ अध्यक्ष दाहालको भनाइ छ ।
वि.सं.२००९ मा काभ्रेबाट दुग्ध व्यवसायको सुरुवात भएको बताइन्छ । निजी क्षेत्रका दुध डेडी उद्योगको स्थापना भने सन् १९७० देखि भएको पाइन्छ । अहिले मुलुकका लगभग सबैजसो क्षेत्रमा यो व्यवसाय विस्तार भएको छ । कृषि क्षेत्रको १३ प्रतिशत हिस्सा दुग्ध क्षेत्रले ओगटेको छ । दैनिक दुध उत्पादन ६२ लाख लिटर हुने गरेको छ भने खपत त्यसको आधा अर्थात् ३१ लाख लिटर मात्रै भइरहेको डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष दाहालले बताए ।
एशोसिएशनको २६ औं स्थापना दिवसको पूर्वसन्ध्यामा आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको तथ्यांकअनुसार ५० अर्बको लगानी, हजारौंको प्रत्यक्ष रोजगारी, वार्षिक २ अर्ब राजस्वमा योगदान गरेको र समृद्धिमा योगदान दिइरहेको क्षेत्र जोखिममा रहेको गुनासो गरिएको छ ।
सोही अवसरमा सार्वजनिक गरिएको तथ्यांकमा किसान र व्यवसायी दुवैलाई हित हुनेगरी कार्यक्रम बनाउन सरकारसँग माग गरिएको छ । किसानलाई निर्वाहमुखीबाट माथि उठाउन, युवालाई कृषिमा आकर्षित गर्न र व्यवसायीलाई ढुक्कको बजारीकरणको सुनिश्चितता गर्न राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी रहेको उद्यमीहरुले बताएका छन् ।
देशका सबै प्रदेशबाट डेरी एसोसिएसनमा आबद्ध व्यवसायीहरु बुटवलमा जुटेको र तयारी पूरा भएको एशोसिएशनका केन्द्रीय अध्यक्ष दाहालले जानकारी गराए । साधारणसभाको अवसरमा स्वदेशी उत्पादन, स्वदेशी र विदेशी डेरीजन्य मेसिन तथा उपकरणहरुको प्रदर्शनीसमेत गरिने अध्यक्ष दाहालले बताए ।
उनका अनुसार सभामा ७ वटै प्रदेशका उत्कृष्ट उद्योगी, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारिता, उत्कृष्ट किसान, युवा व्यवसायीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि, डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, ७ प्रदेशबाट २ सयभन्दा बढी डेरी उद्योगी सहभागी हुने एशोसिएशनका केन्द्रीय सचिव तथा सैनामैनाका युवा उद्यमी शिव भुसालले बताए ।
कार्यक्रममा दुग्ध क्षेत्रका बारेमा छलफल तथा अन्तत्र्रिmयासमेत गरिने सचिव भुसालले बताए । साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्नेछन् ।
नेपाल डेरी एसोसिएसन घरेलु, साना, मझौला र ठूला डेरी उद्योगको आबद्धता रहेको साझा संस्था हो । स्थापनाको २६ औं वर्षसम्म आइपुग्दा संस्थाले नेपालको दुध तथा दुग्ध व्यवसायको समग्र विकासमा महत्वपूर्ण योगदान गर्दै आइरहेको अध्यक्ष दाहालले बताए ।
नीतिगत तहमा भएका कमी कमजोरीलाई सुधार गर्न पहलकदमी गरिरहेको यस संस्था नेपालका डेरी उद्योगीका लागि आशा एवं भरोसाको केन्द्र बन्न सफल भएको उनको दाबी छ ।
नेपालको डेरी क्षेत्रमा एसोसिएसनले पु¥याएका योगदान तथा गतिविधिका बारेमा साधारणसभामा समीक्षा गरी भावि योजना तर्जुमा गरिने आयोजकमध्येका अगुवा उद्यमी मेघराज भण्डारीले बताए । नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका भण्डारीले डेरी क्षेत्रका लागि लुम्बिनी प्रदेशले राम्रो सम्भावना बोकेको बताए । नेपालमा डेरी क्षेत्रको विकासका लागि डेरी एसोसिएसनले महत्वपूर्ण काम गर्दै आएको उनको भनाइ छ । साधारणसभाको उद्घाटन प्रदेश सरकारका कृषिमन्त्री दिनेश पन्थीले गर्ने कार्यक्रम छ ।
नेपालको डेरी क्षेत्रको वर्तमान अवस्था
कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको १३ प्रतिशत रहेकोमा दुग्ध क्षेत्रको मात्रै ९ प्रतिशत हिस्सा ओगटेको छ । दैनिक सङ्कलन उत्पादन ६२ लाख लिटर र दुध खपत ३१ लाख लिटर (उत्पादनको ५० प्रतिशत मात्रै), बजारमा आउन नसकेको दुध ३१ लाख लिटर रहेको छ । उपत्यकामा मात्रै दैनिक १० लाख लिटर दुध खपत हुन्छ । दैनिक ७ करोड बराबरको दुध बिक्री भइरहन्छ ।
निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको छ भने ५० हजारले रोजगारी र निजी क्षेत्रले वार्षिक राजस्व तिर्ने रकम २ अर्ब रहेको तथ्यांकले देखाएको छ । दुध उत्पादन क्षेत्रमा ६ लाख परिवार किसान संलग्न (अप्रत्यक्ष रुपमा परिवारका ५० लाख मानिस) भएर काम गरेको तथ्यांक छ । उत्पादनको फर्मल सेक्टरमा आउने दुध १७ प्रतिशत छ । नेपालका डेरीलाई साना, घरेलु मझौला र ठूला उद्योग गरी चार भागमा वर्गीकरण गरिएको छ । असोजदेखि फागुनसम्म बढी दुध उत्पादन हुने र चैतदेखि भदौसम्म कम उत्पादन हुने अर्थात् सुक्खा समय मानिन्छ ।
सन् १९५२ मा रसुवाको लाङटाङमा नेपालकै पहिलो चिज कारखानाको स्थापना, सन् १९५४ मा कृषि मन्त्रालयमा दुग्ध विकास शाखाको स्थापना, सन् १९६२ मा दुग्ध विकास बोर्डको स्थापना, सन् १९६६ मा पशु सेवा विभागको स्थापना, सन् १९६६ मा नेपालमा दुग्ध विकास संस्थान (डिडिसी) को स्थापना, सन् १९७० देखि निजी क्षेत्रका दुध डेरी उद्योगको स्थापना भएपछि यी संस्थाहरुले दुधको बजारीकरण तथा दुग्ध व्यवसायीको क्षेत्रमा संस्थागत रुपमा विभिन्न काम गर्दै आएका छन् । दैनिक ७ करोड रुपैयाँ दुध विक्रीबाट सहरदेखि गाउँसम्म पुग्छ ।
लुम्बिनी प्रदेशमा दुग्ध क्षेत्रको वर्तमान अवस्था
राष्ट्रियस्तरमा दुग्ध उत्पादनको तथ्याङ्कको आधारमा लुम्बिनी प्रदेशमा वार्षिक ४ लाख ८ हजार २ सय ६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको एशोसिएनको तथ्यांकमा छ । जुन राष्ट्रिय दुग्ध उत्पादनको १७ दशमलव ९ प्रतिशत रहेको बताइन्छ । यस प्रदेशमा उत्पादित कुल दुग्धमध्ये १५ प्रतिशत मात्र औपचारिक क्षेत्रमार्फत बजारमा आउँछ, ३५ प्रतिशत अनौपचारिक क्षेत्रमार्फत विकी वितरण हुने गर्दछ भने बाँकी ५० प्रतिशत दुग्ध घरमा नै खपत हुने गरेको पुराना डेरी व्यवसायी, एशोसिएनका संस्थापक अध्यक्ष तथा उद्यमी कृष्णप्रसाद भट्टराईले बताए ।
नेपाल डेरी एसोसिएसनले दुग्ध व्यवसायको नीतिगत सुधार, समस्या समाधान र दीर्घकालीन योजना तर्जुना गर्दै देशको दुग्ध क्षेत्रलाई आर्थिक समृद्धिको मूल आधार बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको एशोसिएशनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।